चौधरीको होटलमा पूर्व गभर्नरहरु किन गएनन् ?

चौधरीको होटलमा पूर्व गभर्नरहरु किन गएनन् ?

ललितपुरको झम्सिखेलस्थित होटल भिभान्तामा मंसिर तेस्रो साता राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाहेक पहिलेका सबै गभर्नरलाई ब्रेकफास्ट मिटिङको निम्तो दिइयो । होटलबाट हिँडेर मुश्किलले २० मीनेटको दूरीमा नख्खु खोलापारि गभर्नर अधिकारीको निवास छ तर उनलाई भने जानकारी नै दिइएन ।

डलर अर्बपति बिनोद चौधरीको होटलमा बसेर छलफल गर्न पूर्वगभर्नर चिरञ्जीवी नेपालले सबैलाई फोन गरेका थिए । निम्तो मान्न भन्दै पञ्चायतकालका अन्तिम गभर्नर गणेशबहादुर थापा पुगे तर, मुश्किलले १० मीनेटको दूरीमा घर भएका सत्येन्द्रप्यारा श्रेष्ठ भने गएनन् ।

नौ महिना गभर्नर बनेका दुई जना दीपेन्द्रमध्ये ढकाल मात्र पुगे क्षेत्रीचाहिँ पुगेनन् । विजयनाथ भट्टराई भने गएका थिए । नेपाल स्वयम् उपस्थित हुने भइहाले । तर उनको निम्तोलाई डा.को उपाधि भिरेका अधिकांश गभर्नरले स्वीकारेको देखिएन । डा. भेषबहादुर थापा,डा. तिलक रावल र डा. युवराज खतिवडा पनि गएनन् । पहिलो गभर्नर हिमालय समशेर त झनै देखिएनन् ।

खतिवडाले त आफू अरुजस्तो पूर्व गभर्नर मात्रै नभएकाले त्यहाँ जानु नैतिकताभित्र नपर्ने नजिककासँग बात मार्दा बताएका थिए । उनी पूर्वमन्त्री,पूर्व योजना आयोग उपाध्यक्ष र हालै अमेरिकाबाट फिर्ता बोलाइएका पूर्व राजदूत पनि हुन् । भेषबहादुर थापा पनि खतिवडाभन्दा कम जिम्मेवारी र भूमिका निर्वाह गरेका गभर्नरचाहिँ होइनन् । उनी भने काम विशेषले त्यहाँ नगएको स्रोतको दाबी छ ।
थापा खतिवडाले क्याम्पस नपढ्दै गभर्नर, अर्थसचिव, परराष्ट्रमन्त्री र अमेरिकाको राजदूत बनेका थिए । पछि भारतमा राजदूत बने । नेपाल–भारत प्रवुध्द वर्गको नेपाली टोलीमा संयोजकसमेत छन् ।

खतिवडाले जे भनेपनि होटल भिभान्तामा नजानुको कारण अर्कै रहेको बताइन्छ । चार वर्षअघि उनी अर्थमन्त्री हुँदा नेपाल गभर्नर थिए । आफूलाई हटाउन खतिवडाले अनौपचारिक रुपमा समिति बनाएको नेपालले त्यतिबेलै चाल पाएका थिए । पछि अन्तिम बिदाई भेट गर्न जाँदा नेपालबाट मन्त्रालयमा पाएको मुखभरिको जवाफका कारण पनि खतिवडाले पदीय रुपमा कमजोर भएको यो बेला त्यहाँ जान आँट नगरेको बताइन्छ ।

चार जना मात्रै पूर्वगभर्नर जम्मा भएको ठाउँमा हालै अवकासप्राप्त दुई जना डेपुटीसमेत पुगेपछि घटना र विषयवस्तुले अर्कै रुप लिएको हो । गभर्नरको भेलामा डेपुटीको उपस्थितिप्रति आश्चर्य मान्दै एक जना पूर्वगभर्नरले झिनो स्वरमा असन्तुष्टि पोखेका थिए । नेपालको पालाका डेपुटी चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठसमेत ब्रेकफास्ट बैठकमा पुगेका हुन् ।

कुरोको चुरो केही नखुलेपछि सबै जना ब्रेकफास्ट खाएर उठ्ने तरखरमा थिए । आयोजक पूर्व गभर्नर नेपालले सबैलाई भने, ‘ऐनबमोजिम हामी कहिँ पनि आवद्ध हुन मिल्दैन । त्यसैले यसो छलफलको लागि पूर्व गभर्नरहरुको फोरम बनाऔं ।’ तर सहभागी कसैले पनि छिनालेर उनको प्रस्तावमा हो भनेनन्, होइन पनि भनेनन् । ‘सबै ज¥याकजुरुक उठे, बील कसले ति¥यो त्यो पनि पत्तो पाइएन,’ सहभागी एक जना पूर्वगभर्नरले जनआस्थालाई बताए ।

टिप्पणीहरू