‘माओवादीलाई कमजोर ठान्दा सर्वस्व गुमाए, धाकधम्कीको परिणाम चुनावमा देखिन्छ’

‘माओवादीलाई कमजोर ठान्दा सर्वस्व गुमाए, धाकधम्कीको परिणाम चुनावमा देखिन्छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई कम्जोर ठान्दा एमाले अध्यक्ष केपी ओली सत्ताच्यूत हुनुपरेको बताउनुभएको छ । कम्युनिष्ट, क्रान्तिकारीहरुलाई हल्का रुपमा लिएकै कारण ओली बालुवाटारबाट बालकोट पुग्नुपरेको र एमालेले सबै प्रदेशमा सरकारको नेतृत्व गुमाएको उहाँले दाबी गर्नुभयो ।

नेकपा मसाल (सम्पर्क केन्द्र) सँगको एकता सभालाई आज काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘मैले यसअघि पटक-पटक कम्युनिष्ट क्रान्तिकारीहरुलाई हल्का रुपमा नलिईयोस् भन्ने गरेको थिएँ, संसदमा पनि आगोसंग खेल्ने दुस्साहस नगरियोस् भनेको थिएँ’, ओलीको नाम उच्चारण नगरी उहाँले भन्नुभयो, ‘अहिले के भयो देख्नुभएकै छ । बालुवाटारबाट बालकोट पुगे । सबै प्रदेशका मुख्यमन्त्री चैट भयो ।’

एमाले र माओवादीबीच विचारधाराकै आधारमा पार्टी एकीकरण गरिएको तर विविध शक्तिसँग मिलेर एकता पूरा हुन् नदिइएको प्रचण्डको भनाइ छ । ओलीले पार्टी एकतालाई सत्ताका पुग्ने अवसरका रुपमा लिएकाले अहिलेको अवस्था आएको उहाँले बताउनुभयो । प्रचण्डले को सच्चा कम्युनिष्ट हो को होइन भन्ने कुरा जनताले फैसला गर्ने बताउँदै भन्नुभयो, ‘बडो धाकधम्की लगाएर हिँडेका छन् । आउने चुनावमा थाहा हुन्छ ।’

प्रचण्डले कम्युनिष्ट आन्दोलनमा अहिले दुइवटा बैचारिक धार रहेको र सच्चा क्रान्तिकारी धारको नेतृत्व माओवादी केन्द्रले गरिरहेको पनि दाबी गर्नुभयो । ‘राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताका विरुद्ध गतिविधि गर्ने दलालहरु र त्यसको प्रतिनिधित्व गर्ने दल एकातिर छन् । तिनले प्रतिगमनको प्रतिनिधित्व गरेका छन् भने अर्कोतिर परिवर्तनको रक्षा गर्दै अघि जाने दृढतासाथ अघि बढ्न मोर्चाबन्दी गर्दैछन्’, प्रचण्डको भनाइ छ ।

उहाँले गत वर्ष पुस ५ मा संविधान खारेज गर्ने र परिवर्तनलाई उल्ट्याउने मनसायले प्रतिगामी कदम चालेको पनि बताउनुभयो । सोही समूहले अझै पनि गणतन्त्रलाई उल्ट्याउने प्रयास गरिरहेको उहाँको दाबी छ ।

प्रचण्डले नेकपा मसाल र आफूहरु मूलभूत रुपमा एउटै स्कुलका विद्यार्थी भएकाले पनि मसालसँगको एकता दिगो हुने पनि बताउनुभयो । ‘मूलभूत रुपमा हामी एउटै स्कुलका विद्यार्थी त्यसैले यो एकता दिगो हुनेछ’, प्रचण्डको भनाइ छ ।

आफूहरु कम्युनिष्ट एकताको झण्डा उचो पार्ने भन्दै उहाँले केही समयपछि नै को विजयी हुन्छ थाहा हुने उल्लेख गर्नुभयो । सच्चा क्रान्तिकारीहरुको विजय हुने र मुलुकलाई समाजवादतर्फ लैजान नेतृत्व दिने पनि उहाँको भनाइ छ ।

त्रिपुरेश्वरस्थित वर्ड ट्रेड सेन्टरमा भएको पार्टी एकता घाेषणासभामा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, स्थायी कमिटी सदस्यहरु नारायण काजी श्रेष्ठ, लिलामणी पाेखरेल, दिनानाथ शर्मा, नेकपा मसाल (सम्पर्क केन्द्र)का संयोजक लाेकेन्द्र लम्साल, केन्द्रीय सदस्य लक्ष्मीनारायण आचार्य, अनिल किशोर घिमिरे, तिलक परियार, हुकुम बहादुर साउद , निरु बि.क, भुपेन्द्र जाेशी, शिबहरी खनाल लगायतका नेताहरु उपस्थित थिए ।

टिप्पणीहरू