श्रीमतीको उपचार खर्च बोकेर श्रीमान फरार

श्रीमतीको उपचार खर्च बोकेर श्रीमान फरार

नुवाकोट ककनी–५ की अनिता ११ पटक गोडाको अपरेशन गरेपछि उठेको अस्तालको बिल तिर्न नसक्दा सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुबाट घर जान सकेकी छैनन् । ११ पटकसम्म अप्रेशन भयो भन्दा कतिले पत्याउन पनि छाडिसकेका छन् । पत्याउने दिनसम्म उनले आर्थिक सहयोग पनि मागिनन् ।

धानको भारी बोक्न जाँदा गोडामा केही बिजेको अनुभव भयो । बिस्तारै घाउ रातो भयो । एक दिन,दुई दिन गर्दै घाउ पाक्न थालेपछि असहज भएको थियो ।

सानो छेस्को पसेर शुरु भएको त्यही घाउले यति ठूलो आकार लिन्छ भन्ने अनिता तामाङले कल्पनासम्म गरिनन् । त्यही छेस्कोकै कारण गोडाका चारवटा औंला गुमाइसकेकी छन् । तर पनि सुख छैन । डाक्टरले ११ पटक त अप्रशेन नै गरिसके । निको हुने लक्षण छैन ।

अनिताले औंला त गुमाइन् नै । अस्पतालको उपचार खर्चको निम्ति रकम जुटाउन नसकेर अर्को सकस ब्यहोर्दैछिन् । झण्डै तीन लाख रुपैयाँ तिर्न बाँकी छ । त्यसैले घर जाने मन हुँदाहुँदै पनि अस्पतालमै रोकिन बाध्य छिन् ।

“सुख दुःखमा साथ दिने बाचा खाएर सात फेरा लगाएका श्रीमानले पनि यो दुःखमा साथ दिएनन् । बरु आफन्तीले सहयोगका लागि उठाएको रकम पोको पारेर भागे । भाग्यले नि गरिबलाई नै ठग्ने रहेछ ।”

‘अब त ऋण पनि कसैले दिँदैनन्, चानचुन फार्मेसी र क्याण्टिन गरेर साढे तीन लाख तिर्न बाँकी छ । यो सबै चुक्ता नगरी घर जान मिल्दैन ।’ लामो सुुस्केरा तान्दै भनिन् । भन्छिन्, ‘सम्झ्यो भने त्यसै मन भक्कानिन थाल्छ । सुख दुःखमा साथ दिने बाचा खाएर सात फेरा लगाएका श्रीमानले पनि यो दुःखमा साथ दिएनन् । बरु आफन्तीले सहयोगका लागि उठाएको रकम पोको पारेर भागे । भाग्यले नि गरिबलाई नै ठग्ने रहेछ ।’

मलिन अनुहारमा भेटिएकी उनले ’पैसा तिरेर घर जानु भनेको छ अस्पतालले । ड्रेसिङ गर्न मात्र आउनु भनेको छ । घर जानलाई पैसा कसरी तिर्ने होला,सम्झेरै श्वास रोकिन खोज्छ,’ लामो सास तान्दै भनिन् ।

अनिताका अनुसार हिजोआज फार्मेसी र क्याण्टिनले पनि उधारो भनेपछि मुख बिगार्न थालेका छन् । अस्पतालमा उनको हेरचाहका लागि ८ वर्षे छोरा कुरेर बसेका छन् । सहयोग कतैबाट जुट्छ कि भनी छाडेर हिँडेका श्रीमानलाई अनिताले फोन गर्न लगाइन्, छोरालाई । तर श्रीमानले उल्टै अपशब्द बोलेर फोन राखिदिएपछि उनी थप खिन्न भएकी छन् ।

अचेल अनिता र छोरा अनिशको दैनिकी अस्पतालमा रोएरै बितिरहेको छ । श्रीमानले उपचारका लागि भनेर सासू–ससुरा र नन्दले दिएको ५० हजार पनि खाएर भागेको उनले बताइन् । अगाडि भनिन्, ‘कोही त होलान् नि सहयोग गर्नेहरु ! भन्दिनुस् न है ! म यो गुन कहिल्यै बिर्सनै छैन ।’

टिप्पणीहरू