लुम्बिनी प्रादेशिक अस्पतालले गर्यो सेवा विस्तार

लुम्बिनी प्रादेशिक अस्पतालले गर्यो सेवा विस्तार

लुम्बिनी प्रादेशिक अस्पतालले एकै पटक चार वटा सेवा विस्तार गरेको छ । १० बेडको डायलाइसिस सेवासहित ट्रमा वार्ड, कोभिड इमर्जेन्सी र भिजिटिङ सेवा विस्तार गरिएको हो ।

विस्तारित सेवाको शुभारम्भ लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री इन्द्रजित थारुले गरेका हुन् । अस्पतालमा यसअघिको ६ बेडको डायलाइसिस सेवालाई १० बेडमा विस्तार गरिएको हो ।

स्वास्थ्यमन्त्री थारुले रेड्रो पोजेटिभ र हेपाटाइटिस बी तथा सीका बिरामीका लागि दुई बेड प्रदान गरिने जानकारी दिए । त्यस्तै, अस्पतालमा सेवा विस्तार भएपछि उपचारमा थप सहजता आउने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. इन्द्र ढकालले बताउनुभयो ।

अस्पतालमा सेवा सुविधा विस्तार हुने क्रम जारी रहेको र प्रादेशिक अस्पताल बनेपछि सुधारका लागि धेरै काम भएको उनको दाबी छ । आजदेखि विस्तार भएको ट्रमा वार्डमा अर्थोपेडिक चिकित्सक २४ सै घण्टा खटाइने बताइएको छ ।

यसैगरी, अस्पतालले आईसियू २० बेडसहित जनरल र इमर्जेन्सी गरी २७ बेडको कोभिड इमरजेन्सी सेवा पनि विस्तार गरेको छ । अब कोरोना संक्रमित बिरामीको उपचारमा थप सहज हुने विश्वास राखिएको छ ।

अस्पतालले यसअघि पनि करिब आधा दर्जन सेवा विस्तार गरेको थियो । एउटा अक्सिजन प्लान्ट रहेको प्रादेशिक अस्पतालमा केही महिनाअघि थप एउटा जडान गरेपछि दुई वटा प्लान्ट भएको छ भने थप एउटा प्लान्ट जडान प्रक्रियामा छ ।

अस्पतालमा अब क्यासलेस (नगदरहित) प्रणाली अपनाइने र यसको तयारी भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. ढकालले बताए । एक वर्षदेखि रोकिएको आमा सुरक्षाभत्ता पनि अस्पतालले उपलव्ध गराउन थालेको छ ।

टिप्पणीहरू