विदेशका मामिलामा फेरि पनि बेथिति

विदेशका मामिलामा फेरि पनि बेथिति

सरकारले राजदूत नियुक्तिमा ढिलाई गर्दा लामो समयदेखि विदेशस्थित कूटनीतिक नियोगहरू नेतृत्वविहीन छन् । असोज ५ गतेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति पाएका १२ मुलुकका राजदूतलाई फिर्ता बोलाएको थियो भने त्यसअगाडि नै कतिपय ठाउँमा राजदूत नियुक्त गरिएको थिएन ।

त्यसयता भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको सरकारले चीन र जापानसहित २० देशलाई अझै प्राथमिकतामा राखेको छैन । एकातिर सरकारको अकर्मण्यताले लामो समयदेखि विदेशस्थित नियोगहरू खाली छन् भने अर्कोतिर परराष्ट्र मन्त्रालयका सहसचिवहरूबीच राजदूत नियुक्तिका लागि तँछाडमछाड चल्न थालेको छ ।

बिगतका अभ्यास, प्रचलित मान्यता र परम्परा लत्याएर नियुक्ति खान केही सहसचिव ज्यान फालेर लाग्दा अस्वस्थ प्रतिष्पर्धा चर्किएको पूर्वराजदूतहरु बताउ“छन् । त्यसो त, राजदूत नियुक्तिमा एउटा जबर्जस्त नजिर स्थापित छ– विदेशबाट फर्केको कम्तीमा दुई वर्ष पूरा नभई पुनः अन्त ताक्न नपाइने ।

कपाल फुलाएका योग्यहरूलाई अवसरबाट बञ्चित नगराउन लामो समयदेखि राजदूत नियुक्तिमा यस्तो अभ्यास रही आएको हो । परराष्ट्र सेवामा जागिर प्रवेशको ज्येष्ठतालाई पनि अर्को महत्वपूर्ण आधार मानिन्छ । त्यस्तै, सहसचिव हुँदा वरिष्ठताको आधार वा सेवानिवृत्त हुन लागेकालाई पनि प्राथमिकतामा राख्ने अभ्यास छ ।

२०७१ सालमा विदेशबाट फर्केर लामो समयसम्म मन्त्रालयमा कार्यरत रहेकोलाई मुख्य आधार बनाइएको थियो । त्यतिबेला खगनाथ अधिकारीलाई थाइल्याण्ड, दिपक धिताललाई जेनेभा, अम्बिकादेवी लुईंटेललाई फ्रान्स, अमृतबहादुर राईलाई दक्षिण अफ्रिका, कालीप्रसाद पोखरेललाई क्यानाडा र यज्ञबहादुर हमाललाई कुवेतका लागि नियुक्त गरियो । तर, पछिल्लो समय पहुँचवालाहरूको प्रभावमा परेर त्यस्ता आधार मिच्ने प्रवृत्ति बढ्दो छ ।

कालीप्रसाद पोख्रेल र यज्ञ हमाललाई दुई वर्ष पूरा नभएको भन्दै पछिल्लो पटक रोकिएको थियो । त्यसो त कालीप्रसाद सहसचिव भएको दुई वर्षमै राजदूत भएर क्यानाडा गएका थिए भने गणेश ढकाल, दुर्गा भण्डारी, तापस अधिकारीलगायत केहीले सहसचिव भएको ५ वर्षसम्म पनि राजदूत हुन पाएनन् ।

सहसचिवहरू अर्जुन मैनाली, नारायणदेव पन्त, गोपालबहादुर थापा र हिराबहादुर थापा राजदूत नभई अवकाश पाएर घर फर्किसकेका छन् । अमृत राईलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा साउथ अफ्रिकाबाट टिपेर सिधै न्युयोर्कमा फष्र्ट म्यान बनाएर पठाइएको थियो ।

गत मङ्सिरमै कृष्णचन्द्र अर्यालले सहसचिवबाट अवकाश पाए भने राजेन्द्र पाण्डे पुस २७ गते घर जाँदैछन् । पाण्डेलाई अहिले मन्त्रालय तानेर ओएण्ड एम सर्भेको काममा लगाइएको छ ।

टिप्पणीहरू