ओलीमाथि ४ आरोप लगाउँदै एमाले नेताद्वारा पार्टी परित्याग

ओलीमाथि ४ आरोप लगाउँदै एमाले नेताद्वारा पार्टी परित्याग

नेकपा एमाले बाँकेका उप–सचिव प्रमोद धितालले पार्टी छाडेका छन् । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले आज पार्टी परित्यागको घोषणा गरेका हुन् ।

आफू विगत लामो समयदेखि एमालेमा संगठित हुँदै आएको तर पछिल्लो समय अध्यक्ष ओलीका कारण पार्टी दक्षिणपन्थी अवसरवादको भासमा डुबेकाले पार्टी छाड्नुपरेको धितालले बताएका छन् । ओलीले पार्टीलाई विधि र पद्धति विपरीत चलाएको, माक्र्सवाद र लेनिनवादका मूलभूत मान्यता त्यागेको, पार्टीमा व्यक्तिवादी चिन्तन हावी गराएको उनको आरोप छ ।

‘आजैका मितिदेखि नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्यागको स्वःघोषणा गर्दछु’, उनले भनेका छन् ।

धितालले आफू नेकपा (एकीकृत समाजवादी) पार्टीमा आवद्ध हुने समेत जानकारी गराएका छन् । उनले भनेका छन्, ‘नेकपा एमालेका पूर्ववरिष्ठ नेता कमरेड माधवकुमार नेपालले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा आजैका मितिबाट आवद्ध हुने र पार्टीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक निभाउने प्रतिबद्धता गर्दछु ।’

एमालेका अन्य नेता–कार्यकर्तालाई पनि विद्रोह गरि नेकपा (एस) मा आउन धितालले आव्हानसमेत गरेका छन् ।

धिताल एमालेका पुराना नेता हुन् । २०४१ सालमा अनेरास्ववियुबाट राजनीति शुरु गरेका उनी २०६६ मा एमालेको बाँके जिल्ला कमिटी सदस्य बनेका थिए । ०७१ मा जिल्ला उप–सचिवमा निर्वाचित भएका धिताल त्यसयता सोही जिम्मेवारीमा रहँदै आएका थिए ।

टिप्पणीहरू