७ करोड लगानीमा पर्यटकीय गेट

७ करोड लगानीमा पर्यटकीय गेट

रुपन्देहीको सिद्धार्थनगरमा सात करोड रुपैयाँ लगानीमा प्रवेशद्वार निर्माण गरिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको पर्यटकीय गेट अबको केही दिनमा उद्घाटन हुँदैछ । सीमा नाका बेलहियादेखि करिब एक किलोमिटरको दूरीमा रहेको डण्डा पुल नजिकै बुद्धको जन्मस्थल लुम्बिनी प्रवेशद्वारको रुपमा रहेको बुद्धत्व झल्कने पर्यटकीय गेट निर्माण भएको हो ।

बुद्धभूमिमा प्रवेश गरेका अनुभूति दिलाउन प्रवेशद्वारसँगै बोटिङ्ग र वनभोज स्थलसहितको दरखस्वा पार्क पनि निर्माणको अन्तिम चरणमा रहेको छ ।

प्रवेशद्वार दुई चरणमा गरी ६ करोड ९७ लाख ८४ हजार ७ सय २७ रुपैयाँको लागतमा निर्माण भएको हो । पहिलो चरणमा प्रवेशद्वारको मुख्य संरचना दुई करोड ४८ लाख ९१ हजार ६ सय ३४ रुपैयाँको लागतमा र दोस्रो चरणमा आर्किटेक्चरका कामहरू चार करोड ४८ लाख ९३ हजार ९३ रुपैयाँमा गर्ने गरी सम्झौता भएको सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन अर्यालले जानकारी दिनुभएको छ ।

२०७५ असार ५ गते सम्झौता भई निर्माण सुरु भएको प्रवेशद्वारको दोस्रो चरणको काम यही २५ पुसमा सम्पन्न गर्ने गरी एक पटक म्याद थप भएको हो । निर्माणको काम अन्तिम चरणमा पुगेकाले अबको केही दिनमै प्रवेशद्वारको उद्घाटन हुने वरिष्ठ इञ्जिनियर अर्यालले बताउनुभयो ।

नेपालको चिनारीसहितको प्रवेशद्वारमा स्वयम्भूका आँखासहितको हर्मिका गजुर, स्तुपा आकार दर्शाउनका लागि डोम, बुद्धमा १३ वटाको महत्व रहेकाले त्रयोदस भुवन दर्शाउन १३ वटा रिङ, त्यस्तै १२ वटा बुद्धका मूर्तिहरू राखिएको प्रवेशद्वारका डिजाइनर तथा आर्किटेक सहरी योजनाकार सचिन महर्जनले जानकारी दिनुभएको छ ।

बौद्ध विज्ञहरूको सल्लाहमा चारै दिशामा बुद्धको मूर्ति रहनेगरी बीचमा अशोक स्तम्भ, आर्क, स्पायर गजुर, हरियाली क्षेत्र, नेपालको राष्ट्रिय झण्डा र बुद्ध झण्डाले प्रवेशद्वारलाई सिंगारिएको छ ।

मुख्य शान्ति प्रवेशद्वार ५० मिटर लम्बाइ, २४ मिटर चौंडाइ तथा सडकदेखि ३० मिटर उचाइको छ । बुटवल–भैरहवा सडकको चार लेन र सर्भिस लेनमा अवरोध नपुग्ने गरी बनाइएको प्रवेशद्वारमा भित्री भागबाट चार लेन सडकको सवारीसाधन आवगमन हुनेछ भने सर्भिस रोडलाई गेटको दुबैतर्फबाट आवागमन हुने गरी निर्माण गरिएको छ ।

प्रवेशद्वारमा बौद्ध ध्वनी गुञ्जिने भनिए पनि त्यसलाई अहिले हटाइएको छ । प्रवेशद्वारलाई रातको समयमा आकर्षक बनाउन आर्कमा वार्म लाइटको प्रयोग गरिएको छ । शान्ति र शून्यता जनाउन गेटमा झ्यालजस्तो वारपार प्वाल बनाइएको छ ।

प्रवेशद्वारले नेपालकै नमूनाको परिचय तथा अन्तर्राष्ट्रियस्तरमा नयाँ आयाम दिने भएकाले विश्वभर लुम्बिनीको प्रचारप्रसार हुने विश्वास गरिएको छ । त्यसैगरी लुम्बिनीबारे विद्यमान भ्रामक प्रचार हट्ने नगरपालिकाको भनाइ छ ।

नगरपालिकाले विभिन्न अभियानहरू सञ्चालन गरेर बुद्धभूमिमा प्रवेश गरेको अनुभूति दिलाउन खोजेको छ । स्थलमार्ग भएर सबैभन्दा बढी पर्यटक आउने नाका बेलहियादेखि नगरका मुख्य राजमार्गको डिभाइडरमा नगरपालिकाले बुद्धमूर्ति प्रतिस्थापन गरेको छ । त्यस्तै, नगरका भवनको बाहिरी स्वरुपमा बुद्ध कलर, बन्न लागेको प्रशासकीय भवन र सीमाको प्रवेशद्वारमा बुद्धत्व झल्किने गरी डिजाइन गरिएको छ ।

टिप्पणीहरू