काँग्रेस अधिवेशनमा मारामार, गृहमन्त्रीविरुद्ध मूर्दावादको नारा « Jana Aastha News Online
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022

काँग्रेस अधिवेशनमा मारामार, गृहमन्त्रीविरुद्ध मूर्दावादको नारा

प्रकाशित मिति :  ७ पुष २०७८, बुधबार १७:२३


नेपाली काँग्रेस २ नम्बर प्रदेश अधिवेशनमा दुई पक्षीय विवाद चर्किंदा झडप भएको छ । निर्वाचन प्रक्रियालाई लिएर संस्थापन र इतर पक्षबीचको विवाद झडपमा परिणत भएको हो ।

जनकपुरस्थित गोपाल धर्मशालामा जारी बन्दसत्रमा आज बिहान मतदानको कार्यक्रम थियो । तर, अहिलेसम्म मतदान प्रक्रिया शुरु हुन सकेको छैन ।

निर्वाचन समितिले मध्यरात निर्वाचन गराएर नतिजा प्रभावित पार्न खोजेको भन्दै इतर (विमलेन्द्र–शेखर) समूह आक्रोशित बनेपछि हुलदंगा मच्चिएको त्यहाँस्थित हाम्रा संवाददाताले जनाएका छन् । इतरपक्ष आक्रमणमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

“इतरपक्षका कार्यकर्ताहरुले देउवापक्षका नेताहरु रमेश रिजाल, महेन्द्र राय,अनिल रुङटालगायतलाई अहिले घेराबन्दी गरेर नाराबाजी गरिरहेका छन्”

इतरपक्षका कार्यकर्ताहरुले देउवापक्षका नेताहरु रमेश रिजाल, महेन्द्र राय,अनिल रुङटालगायतलाई अहिले घेराबन्दी गरेर नाराबाजी गरिरहेका छन् । निर्वाचन समितिको कार्यालयमा जान लागेका नेताहरुलाई गेटमा रोकेर घेराबन्दी र नाराबाजी गरिएको हो ।

उनीहरुले प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जस्तै प्रहरी लगाएर आफूनिकट उम्मेदवारलाई जिताउन गृहमन्त्री बालकृष्ण खाँणले राति निर्वाचन गराउन खोजेको आरोप लगाएका छन् ।

अधिवेशनस्थलमा झडप भएपछि अहिले धर्मशालामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । इतर पक्षधर कार्यकर्ताले गृहमन्त्रीबिरुद्ध मूर्दावादको नारा लगाएका छन् । गृहमन्त्री खाँणले राज्य–सत्ताको दुरुपयोग गरेर परिणाम आफ्नो पक्षमा पार्न षड्यन्त्र गरेको भन्दै आक्रोशित कार्यकर्ताले कुर्सी हानाहानसमेत गरेका छन् ।

काँग्रेस प्रदेश २ को नेतृत्वका लागि संस्थापन र इतर समूह प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । संस्थापनबाट सभापतिमा रौतहटका कृष्ण यादव र इतर समूहबाट रामसरोज यादव उम्मेदवार छन् ।

-राजकुमार रायबाट


प्रतिक्रिया दिनुहोस !