अन्यत्र तेस्रो, इजरायलमा चौथो डोज दिन थालियो

अन्यत्र तेस्रो, इजरायलमा चौथो डोज दिन थालियो

इजरायल कोभिड–१९ विरुद्धको खोपको चौथो डोज दिने पहिलो मुलुक बन्ने भएको छ । ओमिक्रोन भेरिएन्टको लहर फैलिएसँगै संक्रमण बढ्न नदिन इजरायलमा चौथो डोज दिन लागिएको हो ।

इजरायलका महामारी विशेषज्ञले ६० वर्षभन्दा माथिका नागरिक र स्वास्थ्यकर्मीलाई कोरोना खोपको चौथो बुस्टर डोज दिन सिफारिस गरेका हुन् । विशेषज्ञको सिफारिसको स्वागत गर्दै इजरायलका प्रधानमन्त्री नेफ्टाली बेनेटले चौथो डोज दिने तयारीका लागि निर्देशन दिएका छन् ।

गत मंगलबार मात्र इजरायलले ओमिक्रोन भेरिएन्टबाट संक्रमित पहिलो बिरामीको मृत्यु भएको जानकारी सार्वजनिक गरेको थियो । त्यसलाई मध्यनजर गर्दै इजरायल सरकारले चौथो डोज दिने निर्णय गरेको हो । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हाल इजरायलमा ३ सय ४० जना ओमिक्रोन संक्रमित फेला परिसकेका छन् ।

प्रधानमन्त्री कार्यालयले तेस्रो डोजको कम्तीमा ४ महिनापछि मात्र चौथो डोज खोप दिइने बताएको छ । बेनेटले चौथो डोजले विश्वलाई नै समस्यामा पारेको ओमिक्रोन भेरिएन्टको लहरलाई रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

इजरायलले यसअघि निकै तीव्र गतिमा कोरोना खोप कार्यक्रम सञ्चालन गरेको थियो । यद्यपि, इजरायलका ६३ प्रतिशत नागरिकले मात्र कोरोना खोपको पूरा डोज लिएका छन् । यस्तो अवस्थामा चौथो डोजको प्रभावकारितको प्रश्न उठेको छ ।

अन्यत्र तेस्रो र चौथो डोजको बहस र कार्यान्वयन भइरहँदा नेपालमा दोस्रो डोजमै सबै रुमलिएको देखिन्छ ।

टिप्पणीहरू