क्रिकेट खेलाडीलाई कारबाही नगर्न बोर्ड सदस्यहरुको पत्रकार सम्मेलन

क्रिकेट खेलाडीलाई कारबाही नगर्न बोर्ड सदस्यहरुको पत्रकार सम्मेलन

नेपाल क्रिकेट संघ (क्यान) का छ जना बोर्ड सदस्यले यसअघि चार जना खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् ।

उनीहरुले आज पत्रकार सम्मेलन गर्दै राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई छ महिना सेन्ट्रल कन्ट्याक्टबाट बाहिर राख्ने क्यानको निर्णय फिर्ता लिन माग गरेका हुन् ।

यसअघि क्यानको मंसिर २९ गते बसेको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान दीपेन्द्रलाई पदमुक्त गर्दै २०२१ को सुरुआती ६ महिनासम्म केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय लिइएको थियो । त्यसैगरी क्रिकेट टोलीको कप्तान परिवर्तन गर्दै सन्दीप लामिछानेलाई नियुक्त गरियो ।

‘टी–२० क्रिकेट प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दछौं,’ तीन पृष्ठको विज्ञप्तिमा भनिएको छ ।

कारबाही फिर्ताको माग गर्ने सदस्यहरुमा ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतारा, मोहम्मद दाउद अन्सारी, सञ्जयराज सिंह, छुम्बी लामा (राखेप प्रतिनिधि) हुन् ।

टिप्पणीहरू