घानाको संसदमा मुक्कामुक्की

घानाको संसदमा मुक्कामुक्की

विद्युतीय कारोबारमा कर लगाउने विषयमा सरकारले ल्याएको प्रस्तावलाई लिएर घानामा सांसदहरूबीच मुक्का हानाहान भएको छ । प्रस्तावका समर्थक र विपक्षी सांसदहरूबीच मुक्का हानाहान भएको हो ।

प्रस्तावका पक्षमा मतदानका लागि उठेका उपसभामुख जोसेप ओसी ओउसुलाई विपक्षी सांसदहरुले रोकेर घेराउ गरेपछि विवाद चर्किएको थियो । उपसभामुखले बैठकको अध्यक्षता गरेका थिए । कुटाकुटपछि संसद् बैठक स्थगित गरिएको छ ।

प्रमुख विपक्षी नेसनल डेमोक्रयाटिक कंग्रेस (एनडीसी)ले विद्युतीय कारोबारमा १ दशमलब ७५ प्रतिशत कर लगाउने सरकारको प्रस्तावलाई अस्वीकार गरेको छ । सरकारको निर्णयले न्यून आय भएका र बैंकिङ क्षेत्रका मानिस प्रभावित हुने विपक्षीको भनाइ छ ।

अर्थमन्त्री केन ओफोरी आर्टाले करको दायरा बढाउनुपर्ने आवश्यक भएको बताएका छन् । कर वृद्धिले अर्को वर्ष थप एक अर्ब १५ करोड डलर राजस्व संकलन हुने उनको भनाइ छ ।

सांसदबीच भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

टिप्पणीहरू