देउवाले महाधिवेशनमा यसरी बाजी मारे

देउवाले महाधिवेशनमा यसरी बाजी मारे

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पुनः दोस्रो कार्यकालका लागि महाधिवेशन प्रतिनिधिले प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई निकै मत दिएर जिताए । यो महाधिवेशनबाट बहुमत महाधिवेशन प्रतिनिधिको मतले पुरानो पुस्ताको नेतृत्व, नयाँ पुस्ताको बलियो उपस्थितिलाई अनुमोदन गरेको छ । काँग्रेसमा महाधिवेशन प्रतिनिधिमार्फत अनिवार्य ५० प्रतिशतभन्दा बढी मत पाएर जित्ने कुरा चानचुने पक्कै होइन । समावेशी, प्रदेश र केन्द्रीय सदस्यहरुको अन्तिम चुनावी परिणाम आइसक्दा देउवा पक्षमा पदाधिकारीसहित दुई तिहाई बहुमतसहित केन्द्रीय कार्यसमितिमा बलियो उपस्थिति हुने अवस्था देखिएको छ ।

काँग्रेसमा प्रधानमन्त्री र पार्टी सभापति फरक व्यक्ति भएको समयमा पार्टी संकटमा पुगेको विगतको इतिहासले झस्काउनु अस्वाभाविक थिएन । नयाँ अनुहार नेतृत्वमा आउँदा सरकार परिवर्तनका लागि दबाब आउन सक्ने भएकाले फेरी मुलुक राजनीतिकक अस्थिरतातर्फ धकेलिने चिन्ता पनि सँगसँगै नरहेको होइन । काँग्रेस नेतृत्वकै सरकार रहेको स्थितिमा गठबन्धनलाई जोगाउँदै आमनिर्वाचनसम्म लैजानुपर्ने गहन जिम्मेवारी पनि छ । महाधिवेशन प्रतिनिधिले स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनमा सफलता हासिल गर्न परिपक्व एवम् अनुभवी नेतृत्वको आवश्यकता देखेका भन्न थालिएको छ ।

लोकतन्त्रमा सहमति, सहकार्य र समन्वयले नै राष्ट्रिय एकताको भावना जगाउँछ भन्ने मान्यतामा सभापति देउवा सदैव दृढ देखिन्छन् । वास्तवमा कांँग्रेसका लागि यो क्षण विशिष्ट अवसरको रुपमा छ । स्थानीय निर्वाचन र आमचुनाव सम्पन्न गर्ने गहनतम् जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गरेर काँग्रेसलाई पुरानै हैसियतमा पु¥याउने देउवाको अठोटलाई आमप्रतिनिधिले विश्वास गरेको पनि देखिएको छ । काँग्रेसजनका अनुसार आज मुलुकलाई बलियो काँग्रेसका साथमा राजनीतिक स्थिरता, विकास र समृद्धी चाहिएको हो । मुलुकमा नयाँ संविधान जारी भएपछि तिनै तहको चुनाव कुशलतापूर्वक सम्पन्न गरी संविधानको सफल कार्यान्वयन देउवाबाटै सम्पन्न भएको थियो । आमचुनावपछि नै बिथोलिएको राजनीतिले सही ‘ट्रयाक’ लिएको बताउन थालिएको छ । मुलुकको राजनीतिलाई लिकमा ल्याउन देउवाले खेलेको भूमिकालाई महाधिवेशनको जनमतले फेरी एकपल्ट मूल्याङ्कन गरिदिएको छ ।

पारिवारिक विरासतका रुपमा नभई नेतृत्वमा आफैं सक्षम भएर आउनु देउवाको निम्ति ठूलो शक्ति थियो । नयाँ परिवेशमा खारिएको अनुभव अनि नवजवानको प्रेरणाले मात्र आमकार्यकर्तामाझ उत्साह भर्ने विश्वास थियो । हुनतः काँग्रेसमा रूपान्तरण परिपक्व अनुभव र नयाँ जोशको समिश्रणबाट मात्र सम्भव थियो । युवाको जोश र समावेशीकरणको अभावमा बलियो पार्टी बन्न सम्भव नै थिएन । भविष्यको काँग्रेस बलियो देख्न सबैलाई समेटेर अझै फराकिलो ढंगले अघि बढ्नुपर्ने भएको छ । मुलुकलाइ अप्ठ्यारोबाट बाहिर निकाल्नसक्ने खुबी भएको नेताका रुपमा देउवालाई सबैले विश्वास गरेको अवस्था पनि बन्दै गएको छ । उनले सबैमा समन्वयकारी भूमिका खेल्न सक्छन् र सन्तुलन कायम गर्न सक्छन् भन्ने विश्वास काँग्रेसभित्र मात्र नभै एक हिसाबले अन्य पार्टीमासमेत रहेको विश्लेषण गर्न थालिएको छ ।

काँग्रेसभित्र आमकार्यकर्ताले देउवालाई सहमति, सहकार्य र एकताको भावनालाई राम्ररी बुझ्ने नेताका रुपमा चिन्छन् । उनले नै समन्वयकारी भूमिका खेल्न सक्छन् भन्ने गहिरो विश्वास पनि छ । ‘गिभ एण्ड टेक’ मा उदार रहेका कारण पनि यसरी भर परेको हुनसक्ने अड्कल गरिएको हो । पटक पटकका कठिन समयमा मुलकको नेतृत्व सम्हालेका देउवाको लचकता एउटा छुट्टै विशेष गुण भन्न थालिएको छ । काँग्रेसभित्र मात्र नभै अन्य पार्टीमासमेत यो विश्वास कायम रहेको काँग्रेसीहरुको भनाइ छ । यद्यपि उनमा कमी कमजोरी छँदै छैनन् भन्ने पनि होइन । महाधिवेशनको मुखमा काँग्रेस कार्यकर्ता मात्र नभई नागरिक तहसम्म काँग्रेस महाधिवेशनले कदाचित देउवाबाहेक अर्को सभापति चुनेमा कस्तो स्थिति आउला भन्ने चिन्ता र चासोको सबैभन्दा काँग्रसभित्रै थियो ।

मुलुकका प्रायः सबै प्रमुख पार्टी टुक्रिँदा पनि काँग्रेसलाई एकगठ बनाएर लैजान सक्नु देउवाका लागि ठूलो उपलब्धिको विषय हो । काँग्रेसभित्र मात्र नभई गठबन्धनका अन्य दलहरूले पनि निश्पक्ष निर्वाचनको अभिभारा पूरा गर्न देउवामाथि नै भर गरेको अवस्था अर्कोतिर छ । यतिबेला गठबन्धनका आधारमा प्रदेशहरूमा नयाँ सरकार बनेका छन् । संसदमा केबल ६३ सिट मात्र रहेको काँग्रेसले १ सय ६५ जना सांसदको विश्वास जितेर सरकारको नेतृत्वमा पुग्नु चानचुने सफलताको विषय थिएन । काँग्रेस, माओवादी केन्द्र, जसपाका दुबै खेमा, नेकपा समाजवादी र राजमोलाईसमेत एक ठाउ“मा उभ्याउन सक्नु देउवाप्रतिको विश्वासकै प्रतिफल थियो । यस पटकको महाधिवेशनमा देउवालाई सरकारमा संलग्न राजनीतिक दलकोसमेत गहिरो सहानुभूति रह्यो । जसले गर्दा अघि बढ्न बाहिरी बल समेत प्राप्त भएको हो ।

प्रदेश सरकारको नेतृत्वमा शुन्य रहेको काँग्रेस आज कर्णाली र गण्डकीमा नेतृत्व गर्न सफल भएको छ । अन्य प्रदेशमा पनि काँग्रेससँग सत्ता साझेदारी छ । सर्वोच्च अदालतद्वारा संसद पुनःस्थापनापछि काँग्रेसको नेतृत्वमा मुलुकको भद्रगोल र बथितिपूर्ण राजनीति ट्रयाकमा आएको छ । यतिबेला देउवाको नेतृत्वलाई सिङ्गो मुलुकले नै स्वीकार गरेको अवस्था बनेको बालुवाटार निकटस्थहरुको निचोड छ । पाँच दशक लामो राजनीतिक संघर्षबाट खारिएका पाका नेताबाट बाँकी दिनमा अन्यथा हुनसक्ने ठाउँ पनि देखिँदैन । बहुमतका आधारमा नभई काँग्रेसमा सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छ भन्ने मान्यताले काम गरेको थियो । तसर्थ देउवाप्रतिको विश्वास र भरोसामा काँग्रेसजनमा कुनै कमी नआएको महाधिवेशनको मत परिणामबाट समेत पुष्टी भएको छ ।

यति मात्र होइन वरिष्ठ नेता रामचन्द्र पौडेल–शशांक कोइरालालेसमेत देउवाको उपस्थितिलाई कम आँक्न सकेनन् र अन्तिममा बल दिएकै हुन् । सभापतिका प्रत्याशी प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको साथ पाएर देउवा आठ सय ७८ मतान्तरले विजयी भएका छन् । सभापति मात्र नभई पदाधिकारीमा देखिएको बहुमतले पनि काँग्रेसमा देउवाको हैसियत पुनर्पुष्टी भएको छ । निर्वाचनको पूर्वसन्ध्यामा रामचन्द्र पौडेल, शशांक कोइरालादेखि प्रकाशमान सिंहसम्मको एकछत्र समर्थन जुटाउन सक्नु देउवाको कुटनीतिक चातुर्यता त हुँदै हो, सँगसँगै यो उनीप्रतिको विश्वास र भरोसा पनि हो । बरु काँग्रेस न कसैको विरासत, न आशिर्वादले चल्छ भन्ने सच्चाइलाई एकपाने वुद्धिजीवीले बुझ पचाएकै हुन् । काँग्रेस जस्तो सात दशक लामो इतिहास बोकेको जीवन्त पार्टी आमकार्यकर्ताको भावनाले मात्र अघि बढ्न सम्भव छ ।

राजनीतिक दल अग्रजको सम्मान्, समकक्षीको व्यवस्थापन र युवाको प्रोत्साहनले मात्र दरिलो बन्न सक्छ । महाधिवेशनमा आमप्रतिनिधिले पाको अनुभव र युवाको ऊर्जा भन्ने तथ्यलाई अनुमोदन गरेका छन् । हुन पनि यी दुईको संयोगले नै काँग्रेसलाई निःसन्देह गतिशील बनाउने देखिँदैछ । मिडियाको आलोचनालाई ‘पब्लिक अडिट’ र बिरोधीको आलोचनालाई लोकतन्त्रको गहना मान्ने देउवालाई उमेरका हिसाबले पनि अब लिनु दिनु केही देखिँदैन । यसरी सभापतिको प्रतिस्पर्धामा उभिएका प्रतिस्पर्धीलाई महाधिवेशन प्रतिनिधिले तराजुमा जोखिदिएका थिए । अन्तिममा पार्टी हित अनि मुलुकको दिर्घकालीन भविश्यका लागि देउवा नै पुनः सभापति हुनुपर्ने अपरिहार्यता ठाने र सोहीबमोजिम नतिजा समेत दिए ।

आजको राजनीतिक संक्रमणकाललाई पार लगाउन पाको नेता नै चाहिन्छ भन्ने निक्र्योल पनि उनीहरुले गरे । काँचो नेतृत्वलाई विश्वास गरिहाल्न सकेनन् । र, बलियो एवम् एकताबद्ध का“ग्रेस लामो अनुभव प्राप्त नेताबाट मात्रै सम्भव छ भनेर देउवाको पक्षमा बलियो मत जाहेर गरिदिएका छन् । काँग्रेस महाविधेशन प्रतिनिधि भएर आउनलाई समेत एकजना कार्यकर्ताले चार चरणको चुनाव जितेर आएका थिए । एकजना महाधिवेशन प्रतिनिधि आफैंमा कार्यकर्ताबाट अनुमोदित नेता नै हो भने पनि हुन्छ । यही भएर नै काँग्रेस सभापति पार्टीमा एक किसिमले सर्वैसर्वा हुने गरेको हो ।

अन्ततः देउवाले नेपाली काँग्रेसको मात्र नभै ठूलो पार्टीको हिसाबले तत्कालीन नेपाली राजनीतिको मियोका रुपमा स्थापित हुने मौका पाएका छन् । देउवा कोइराला परिवार बाहिरबाट काँग्रेसमा दोस्रोपल्ट सभापति बन्न सफल भएका छन् ।

टिप्पणीहरू