देउवालाई सघाएका निधिलाई कोइरालाको साथ

देउवालाई सघाएका निधिलाई कोइरालाको साथ

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले फेरी कित्ता फेरेका छन् । केन्द्रमा शेरबहादुर देउवालाई सभापति जिताउन भूमिका खेलेका निधि प्रदेश २ को नेतृत्व हात पार्न शेखर कोइराला गुटमा पुगेका हुन् ।

प्रदेश नम्बर २ को सभापतिका लागि निधि निकट रामसरोज यादवले उम्मेदवारी दर्ता गरिसकेका छन् । उनी प्रदेश २ कांग्रेस संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री पनि हुन् । यादवलाई शेखर कोइराला पक्षले समर्थन गरेको छ ।

यता, सभापति शेरबहादुर देउवा पक्षबाट भने रौतहटका सभापति कृष्ण यादवले उम्मेदवारी दिने तयारी गरेको बताइएको छ । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित सदस्यका लागि भोलि मतदान हुँदैछ ।

काँग्रेसमा लामो समय सभापति देउवा निकट रहेका निधि १४ औँ महाधिवेशनमा आफैँ सभापतिको उम्मेदवार बनेका थिए । तर, पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवार निर्वाचित नभएपछि भएको दोस्रो चरणको निर्वाचनमा उनले देउवालाई साथ दिएका थिए । दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो ।

अघिल्लो दिनसम्म पहिलो चरणमा नतिजा नआए कोइरालाई समर्थन गर्ने सार्वजनिक घोषणा गरेका निधि नाटकीय रुपमा देउवातिर लागेपछि लेनदेनको सहमति भएको कतिपयले आशंका गरेका थिए । प्रदेश २ मा आफूलाई साथ दिने प्रतिबद्धतापछि निधि देउवाको पक्षमा उभिएको चर्चा पनि थियो ।

तर, निधिले अघि सारेका यादवलाई सघाउन देउवापक्ष तयार नभएपछि निधि कोइराला क्याम्पमा पुगेको चर्चा छ ।

टिप्पणीहरू