बराल जोगाउन रिमाल अघि सरिन्

बराल जोगाउन रिमाल अघि सरिन्

राष्ट्रघाती भन्दै अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजी लगायतका माग राख्दै अज्ञात ठाउँमा अनसन बसेकी अभियन्ता तारा बरालको जीवन रक्षाको निम्ति हस्ताक्षर संकलन थालिएको छ ।

गत कात्तिक ३० गतेदेखि आफैं डेरामा बसेको बिजुलीबजारको घरमा अनसन बसेकी उनलाइ प्रहरीले मंसिर ६ गते वीर अस्पतालको इमर्जेन्सीमा पुर्याएको थियो ।

स्वास्थ्य अवस्था झन् बिग्रेपछि उनको वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ । त्यहाँ पनि अनसन बसेको उनी निकटस्थहरुले बताएका छन् ।

उनले पछिल्ला दिनमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको पक्षमा अदालतबाहिर बिरोधी कानुनव्यवसायीसँग प्रतिकारसमेत गरेकी थिइन् ।

लामो समयदेखि आमरण अनसनमा बसेकी बरालको स्वास्थ्य अवस्था नाजुक बने पनि सरकारी पक्षबाट मागको सुनुवाई नगरेपछि उनको जीवन रक्षार्थ आवाज उठाइएको जानकारी दिइएको छ ।

राष्ट्र हितका मागसहितको आमरण अनसन आज ३६ औं दिनसम्म पुग्दा पनि सरकारपक्ष गम्भीर नदेखिएको भन्दै अर्की सामाजिक अभियन्ता सृजना रिमालको नेतृत्वमा तारा बरालको जीवन रक्षार्थ हस्ताक्षर संकलन तथा धर्ना कार्यक्रम थालिएको हो ।

धर्नाकारीहरुले राष्ट्रघाती एमसीसी परियोजना तत्काल खारेज गरियोस, राष्ट्रघाती नागरिकता विधेयक तत्काल खारेज गर, संघीयता पूर्णरुपले खारेज गरियोस्, न्यायालय तथा सुरक्षा प्रदान गर्ने निकायमाथि राजनीति तत्काल बन्द गरियोस्, सर्वोच्च अदालत अघिल्तिर महिलामाथि हातपात गर्ने वकिलहरुलाई उचित दण्ड दिनुपर्ने माग उठाएका छन् ।

टिप्पणीहरू