माओवादीमा पहिलो पटक आन्तरिक निर्वाचनबाट नेता छानियो

माओवादीमा पहिलो पटक आन्तरिक निर्वाचनबाट नेता छानियो

नेकपा (माओवादी केन्द्र)ले पार्टीको सांगठनिक जीवनमा पहिलो पटक आन्तरिक प्रतिष्पर्धामार्फत नेतृत्व चयन गरेको छ । सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल नभएपछि माओवादीको बाग्मती प्रदेश कमिटीले ९ सदस्सीय पदाधिकारी निर्वाचनबाट छानेको हो ।

गएराती सम्पन्न निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष टुंगो लागेको हो । जसअनुसार अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन् । दुई सय ६१ मत खसेकोमा पौडेलले १६२ र प्रतिस्पर्धी दिनानाथ गौतमलाई ८६ मत प्राप्त गरे ।

त्यस्तै, उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुङ्गाना र प्रेम बहादुर पुलामी छिन्तुले जित हात पारेका छन् । महर्जनले १७८, ढुङ्गानाले १०१ र पुलामीले १३८ मत प्राप्त गरेका थिए । यसैगरी सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित भए ।

सहसचिवमा धादिङका दलबहादुर बुर्लाकोटी, रसुवाका माधवप्रसाद लामिछाने र सिन्धुलीका प्रकाश श्रेष्ठ तथा कोषाध्यक्ष चितवनकी सङ्गीता भट्टराई विजयी भएका छन् । बाग्मती प्रदेशको नेतृत्व चयन गर्न हिजो मतदान भएको थियो ।

माओवादीको विधानमा प्रदेश कमिटीले पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । सोही अनुसार गतसात सम्पन्न प्रदेश सम्मेलनबाट छानिएका प्रदेश कमिटी सदस्यहरुले अध्यक्षसहित पदाधिकारी छान्न मतदान गरेका थिए।

टिप्पणीहरू