फुटबल खेलाडीलाई जनही ५ लाख

फुटबल खेलाडीलाई जनही ५ लाख

साफ च्याम्पियनशीपको उपविजेता टोली नेपालले पाँच लाख रुपैयाँ नगद प्राप्त गरेको छ । पहिलोपटक साफ च्याम्पियनशीपको फाइनल पुगेर भारतसँग पराजित भएको नेपाली राष्ट्रिय फुटबल टोलीले नेपाल सरकारबाट उक्त नगदसहित सम्मान पाएको हो ।

आज बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले साफका २३ सदस्यीय नेपाली टोली र अफिसियललाई सम्मान गर्नुभएको हो । सम्मानित हुने खेलाडीहरुमा राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरजजंग ठकुरी, नितीन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी र कमल थापा छन् ।

साथै साफको इतिहासमा २८ वर्षपछि पहिलोपटक फाइनल पुगेसँगै नेपाल सरकारले खेलाडीलाई जनही पाँच लाख दिने घोषणा गरेको थियो । सरकारले पूर्व घोषणाअनुसार नै प्रधानमन्त्री कार्यलयमा खेलाडी, प्रशिक्षक र अफिसियललाई क्रमशः पाँच लाख र तीन लाख रुपैयाँ प्रदान गरेको हो ।

माल्दिभ्सको राजधानी मालेमा भएको फाइनल खेलमा नेपाल चिरपरिचित प्रतिद्वन्दी भारतसँग पराजित भएको थियो ।

टिप्पणीहरू