एमसीसी पास गर्ने नेतालाई गोली हान्ने विप्लवको चेतावनी

एमसीसी पास गर्ने नेतालाई गोली हान्ने विप्लवको चेतावनी

प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि अमेरिकी सहयोग सम्झौता एमसीसी पारित गर्नैपर्ने भनेपछि थप बिरोध शुरु भएको छ । आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा सम्झौता टेबल गर्ने सम्भावना बढेपछि हिजैदेखि बिरोध चर्केको हो ।

हिजो साँझ अखिल (क्रान्तिकारी) र युवा संगठन नेपालद्वारा बनेपाको तरकारी बजारदेखि चार दोबाटोसम्म मसाल जुलुस निकालेर एमसीसीको बिरोध गरिएको थियो । यता लगनखेलमा नेपाल कम्युनिष्ट पार्टी, ललितपुर महानगरपालिकाको आयोजना र इञ्चार्ज महेश बज्राचार्यको नेतृत्वमा हिजो साँझ बिरोध कार्यक्रम गरिएको छ ।

उनीहरुले एमसीसी चाहिँदैन,देश बेच्न पाईंदैन,दलाल सरकार होशियारलगायत नारा लगाएका थिए । नेकपाले आज माइतीघर मण्डलामा बिहान साढे ११ बजे एमसीसीको बिरोधमा कार्यक्रम गर्ने जनाएको छ ।

हिजै काठमाडौंको चाबहिल चोकमा अखिल क्रान्तिकारीको आयोजनामा एमसीसीको बिरोधमा कोणसभा कार्यक्रम राखिएको थियो । साँझ अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीको नेतृत्वमा भएको कार्यक्रममा झण्डै डेढ दर्जनको उपस्थिति थियो ।

त्यसैगरी बालकुमारी पुल नजिकै पनि नेकपा (विप्लव) ले एमसीसीको बिरोधमा कार्यक्रम गरेको छ । हिजो अपरान्ह उक्त कार्यक्रम संयुक्त संघर्ष समितिको आयोजनामा नेकपा विप्लवनिकट ट्रेड युनियन महासंघका अध्यक्ष विनोद थापाको नेतृत्वमा भएको हो ।

कार्यक्रममा बोल्दै थापाले एमसीसी पास गर्न खोज्ने नेताहरूको छातीमा गोली हान्नेसम्मको धम्की दिएका छन् । एमसीसी फिर्ता नहुँदासम्म आफूहरुको आन्दोलन जारी रहने उनीहरुले बताएक हुन् । संयुक्त संघर्ष समितिले एमसीसीको बिरोधमा आज बिहान साढे ११ बजे माइतीघरमा कार्यक्रम राखेको छ ।

टिप्पणीहरू