महराका गाउँले ठूलो मारमा

महराका गाउँले ठूलो मारमा

रोल्पा नगरपालिका–१ धारापानी पूर्वसभामुख कृष्णबहादुर महराको जन्म गाउँ हो । त्यही गाउँको कृष्ण प्राविमा असोजमा आगलागी भयो । महरासँगै विभिन्न सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि र दलका नेताले विद्यालय अवलोकन गरे ।

भवन पुनर्निर्माणका लागि छिट्टै पहल गर्ने आश्वासनसमेत दिए । आश्वासन दिएको ३ महिना पूरा हुँदासमेत हाल उस्तै हुँदा विद्यार्थीको बिचल्ली भएको छ । बालबालिका खुला आकाशमुनि पढ्न बाध्य छन् ।

कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयको एउटा भवनमा आगलागी हुँदा ६ वटा कोठा जलेर पूर्ण रूपमा नष्ट भएका थिए । फर्निचर तथा अन्य सामान पनि जलेको व्यवस्थापन समितिका अध्यक्ष गोरखबहादुर महराले जानकारी दिए । भवन तत्काल पुनर्निर्माणका लागि रोल्पा नगरपालिकासँग आग्रह गरिए पनि सुनुवाइ नभएको उनले गुनासो गरे ।

गर्मी मौसमको टन्टलापुर घाम पार गरेका बालबालिका हिउँदको कठ्यांग्रिने जाडोमा खुला आकाशमुनि बसेर पढ्न बाध्य हुने गरेको कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक थामबहादुर कँुवरको भनाइ छ ।

‘जाडो विस्तारै बढ्दै छ, पुस–माघको जाडोमा समेत खुला आकाशमा पढाउनुपर्ने अवस्था देखिँदै छ’, उनले भने । सम्बन्धित निकायको यथाशीघ्र ध्यानाकर्षण भई भवन पुनर्निर्माण हुन जरुरी रहेको उनले बताए ।

आगलागीले कक्षाकोठा जलेपछि आफूहरू बाहिर चौरमै बसेर पढ्न वाध्य भएको कक्षा ५ की छात्रा अनिता विकले दुखेसो पोखिन् । कक्षाकोठामा जस्तो खुला आकाशको पढाइ सहज नभएको उनको भनाइ छ ।

सरकारी निकायबाट सहयोग नभए पनि छिमेकी विद्यालय बालकल्याण नमुना माविले सो विद्यालयलाई फर्निचर सहयोग गरेको छ । आगलागीबाट विद्यालय भवनसहित फर्निचरसमेत नष्ट भएको हुँदा आफूहरूले १० थान डेस्क बेञ्च सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानले जानकारी दिए ।

‘आर्थिक स्रोत अभाव रहेको सो विद्यालयले आगलागीबाट भवन, फर्निचरलगायत सम्पत्ति गुमाएपछि छिमेकी विद्यालयको नाताले ५० हजार रूपैयाँ बराबरको फर्निचर सहयोग गरेका हौँ,’ न्यौपानेले भने ।

सो विद्यालय रहेको गाउँ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्वाचन क्षेत्र तथा रोल्पा नगरप्रमुख पूर्ण केसीको ससुराली गाउँ हो ।

– दयाराम डाँगी

टिप्पणीहरू