खेलाडीमाथि गरिएको कारबाहीप्रति सिप्यान पनि रुष्ट

खेलाडीमाथि गरिएको कारबाहीप्रति सिप्यान पनि रुष्ट

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीले नेपाली क्रिकेटमा ठूलो असर पर्ने भन्दै आपत्ति जनाएको छ । अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले संयुक्त विज्ञप्ति जारी गर्दै खेलाडीहरुका आवाज तथा भावना सम्बोधन गर्नुको सट्टा उनीहरुलाई कारबाही गरिएकोमा ध्यानाकर्षण भएको जनाएका छन् ।

क्रिकेट खेलाडीहरूको योगदानको फलस्वरूप आजको दिनमा नेपाली क्रिकेटले विश्व क्रिकेट जगतमा विशेष पहिचान बनाउन सफल भएको कुरा सिप्यानले स्मरण गराएको छ । खेलाडीहरूले आफ्ना भावना तथा आवाजहरू अगाडि राख्न खोज्दा ती मागहरूको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीहरू माथि नै गरिएका कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको सिप्यानको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सिप्यानबाट गत वर्ष पनि क्यान तथा राष्ट्रिय खेलकुद परिषद्लाई क्रिकेट खेलाडीसँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुमा वर्गीकरण सम्बन्धी दिइएको सुझाव आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ ।’ अगाडि उल्लेख छ, ‘वर्गीकरण जस्तो महत्वपूर्ण विषयवस्तुलाई पारदर्शी रूपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गर्दै तर्कसम्मत र त्रुटी रहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यकता पुनः दोहोयाउन जरुरी छ ।’

गत मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको थियो । सर्वत्र बिरोध भएपछि क्यान उक्त कारबाही फिर्ता लिनुपर्ने चर्को दबाबमा परेको छ ।

टिप्पणीहरू