एमसीसी सकस : भत्किँदै छ सत्ता गठवन्धन ?

एमसीसी सकस : भत्किँदै छ सत्ता गठवन्धन ?

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अहिले जारी छ । प्रमुख प्रतिपक्षी एमालेको सहभागिता बिना प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा सदनको अवरोध अन्त्य र एमसीसी सम्झौताबारे छलफल केन्द्रीत रहेको बुझिएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार संसदबाट एमसीसी अनुमोदन गराउन प्रधानमन्त्री देउवाले राखेको प्रस्ताव सत्ता गठवन्धनकै प्रमुख दुई दलले अस्वीकार गरेका छन् । बैठकमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अन्तराष्ट्रिय विश्वसनीयता जोगाउनका लागि भने पनि एमसीसी अनुमोदन गरेर जानुपर्ने बताउनुभएको थियो ।

एमसीसी संसद्को सम्पत्ति भैसकेकाले जुनसुकै हालतमा पास गर्नुपर्ने कार्कीको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरुले असहमति जनाउनुभएको बताइएको छ ।

बताइएअनुसार प्रधानमन्त्री देउवा ‘वारपार’ को अवस्थामा देखिएपछि गठवन्धनका अन्य नेताहरुले भने एमसीसीमा बुँदागत छलफल गरेर नेपालको हितमा हुनेगरी पारित् गर्नुपर्ने अडान राखेका थिए । बैठकपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले काँग्रेसबाहेक संसदमा प्रतिनिधित्व गर्ने अरु दलले एमसीसी हुबहु पारित गर्न नसकिने धारणा राखेको जानकारी दिनुभएको छ ।

एमसीसी सम्झौतालाई लिएर सत्ता गठवन्धनभित्रै मैतएक्यता हुन् नसकिरहेका बेला प्रधानमन्त्री देउवाले आजसर्वदलीय बैठक बोलाउनु भएको हो । गठवन्धनका प्रमुख दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधनबिना एमसीसी पास गर्न नहुने अडानमा छन् ।

गठवन्धनको अर्को दल राष्ट्रिय जनमोर्चा एमसीसीको विपक्षमा रहेको छ भने जनता समाजवादी पार्टीले एमसीसीबारे हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर, जस्पाका अध्यक्ष डा बाबुराम भट्टराई भनेएमसीसीको पक्षमा खुलेर लाग्नुभएको छ।

प्रमुख प्रतिपक्षी एमालेले भने एमसीसीलाई सत्ता गठवन्धन टुटाउने रणनीति बनाएको छ । आफू प्रधानमन्त्री रहेका बेला एमसीसी पास गर्न अथक प्रयास गर्नुभएका अध्यक्ष केपी ओली अहिले मौन हुनुहुन्छ । एमालेको मौनतालाई गठवन्धन भत्काउने रणनीतिका रुपमा आशंका गरिएको छ ।

आज प्रधानमन्त्रीको दबाबमूलक प्रस्तावले गठवन्धन भत्किने सम्भावना देखिएको बैठक स्रोतले दाबी गरेको छ ।

टिप्पणीहरू