ओली माधव नेपालसँग सँगै नबस्ने

ओली माधव नेपालसँग सँगै नबस्ने

नेकपा एमालेले नेकपा एकीकृत समाजवादी संलग्न कुनै पनि कार्यक्रममा सहभागिता नजनाउने भएको छ । समाजवादीलाई पार्टीको मान्यता दिन अस्वीकार गर्दै आएको एमालेले त्यसैलाई देखाएर आज प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अस्वीकार गरेको छ।

प्रधानमन्त्री देउवाले बैठकका लागि गरेको निम्ता एमाले अध्यक्ष केपी ओलीले ठाडै अस्वीकार गर्नुभएको छ । प्रतिपक्ष दलसँग सल्लाह नगरी बैठक बोलाएको र संसद गतिरोध समाधानका लागि पहल नगरेको भन्दै बैठकमा सहभागी हुन नसक्ने ओलीले प्रधानमन्त्रीलाई जवाफ दिएको बताइएको छ ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताएअनुसार हिजो प्रधानमन्त्री देउवाले ओलीलाई फोन गरेर सर्वदलीय बैठकका लागि निम्ता दिनुभएको थियो । प्रधानमन्त्री देउवाले औपचारिकता निभाउनका लागि मात्र निम्तो गरेकाले एमाले सर्वदलीय बैठकमा उपस्थित नहुने जानकारी अध्यक्ष ओलीले दिएको नेम्वाङको भनाइ छ ।

शनिबार साँझ फोन गरेर बैठकमा आउन आग्रह गरे पनि ओलीले एमालेसँग विभाजित भएको समाजवादीका नेताहरुलाई अझै स्वीकार नगरेका कारण उनीहरू उपस्थित बैठकमा नआउने प्रस्ट पारेको नेम्वाङले जानकारी दिए ।

पार्टीको १०औं महाधिवेशनमा समाजवादीलाई नबोलाएको एमालेले आफ्नो माग सम्बोधन नभएको भन्दै प्रधानमन्त्री देउवाले बोलाएको सबै सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ । सर्वदलीय बैठक अपरान्ह ४ बजे वालुवाटारमा बस्दैछ ।

माधव नेपालसहितका १४ जना सांसदमाथि पार्टीले गरेको कारवाहीको सूचना सभामुख अग्निप्रसाद सापकोटाले टाँस नगरेको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ ।

टिप्पणीहरू