निजामतीभित्रै यति धेरै पनपच्छे, कतै मारामार कतै हात लाग्यो शून्य

निजामतीभित्रै यति धेरै पनपच्छे, कतै मारामार कतै हात लाग्यो शून्य

निजामती कर्मचारीहरू संसद् र न्याय सेवा समूहतर्फ जान चाहँदैनन् । कर्मचारीहरुको सकेसम्म प्रशासन सेवातिर जान खोज्ने तर संसद र न्याय सेवातर्फ कम रुचि हुने गरेको देखिएको छ । लोकसेवा आयोगको शुक्रबार प्रकाशित उपसचिव तहको नतिजाले पनि उक्त अवस्था प्रष्टाएको छ । अन्य सेवा समूहमा व्यापक माग गरिएभन्दा पाँचदेखि सात गुणासम्म बढी आवेदन पर्दा यी सेवा समूहमा आवेदन माग गरिएको संख्याबमोजिमको उम्मेदवार नै नभेटिने स्थिति बनेको हो ।

आयोगका अनुसार प्रशासन सेवाको २५, नेपाल न्याय सेवाको ११, सरकारी वकिल समूहको ७, परराष्ट्र सेवाको १, कानून समूहबाट १,लेखा समूह ५, राजश्व समूहमा ४ जना र लेखापरीक्षण समूहमा १ जना गरी कूल ५५ जना उपसचिवका लागि आवेदन माग गरिएको थियो ।
जसमध्ये शुक्रबार सार्वजनिक नतिजाअनुसार अन्य सेवा समूहमा मागअनुसार पूर्ति हुँदा न्यायसेवाको निम्ति आवेदन गरिएभन्दा कम उम्मेदवार सहभागी भइदिँदा चार वटा पद रिक्त हुन पुगेको छ ।

लोकसेवाले प्रशासन सेवा, न्याय, कानुन, परराष्ट्र, लेखा समूह, राजश्व समूह र नेपाल लेखापरीक्षण समूहका लिखित परीक्षाबाट अन्तर्वार्तामा छनौट भएका उम्मेदवारहरुको अन्तर्वार्ता, इन बास्केट एक्सरसाइज र लिखित परीक्षासमेतको प्राप्ताङ्कका आधारमा ५१ जना उपसचिवको नियुक्तिका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरेको छ ।

जसमा अन्य सेवा समूहमा मागअनुसारकै पदपूर्ति भएको छ भने न्याय सेवामा ११ जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी १५ जनामध्येबाट गत मंसिर २२ मा भएको अन्तर्वार्तामा ७ जनामात्र उपस्थित भएका थिए । ती सातै जनाको बढुवाका लागि आयोगले कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयलाई सिफारिस गरेको छ ।

न्याय सेवाझैं संसद सेवा पनि कर्मचारीको रुचिमा पर्दैन । यसअघि आयोगले संघीय संसद् सेवातर्फ उपसचिवको दरबन्दीमा तीन वटा पदमा विज्ञापन खुलाएको थियो । तीन पदका लागि लिइएको लिखित परीक्षामा दुई जना परीक्षार्थी मात्र सहभागी भए । फाराम भरेकाहरू पनि लिखित परीक्षामा सहभागी नहुँदा खुलाइएका दुई पद नै रिक्त हुन पुगेको छ ।

यी सबै सेवा समूहका लागि लिखित परीक्षामा १ हजार ९ सय ८४ निजामती कर्मचारी सहभागी थिए । तर प्रशासन सेवातर्फको आकर्षण सबैभन्दा बढी देखिन्छ । आयोगले प्रशासनतर्फ २५ जना माग गर्दा ९ सय ६३ जना कर्मचारीले लिखित परीक्षामा प्रतिस्पर्धा गरेका थिए ।
प्रशासन सेवापछि कर्मचारीहरूको चासो परराष्ट्र सेवामा देखिन्छ । परराष्ट्रको रिक्त एक पदमा ७७ जना कर्मचारी भिडेका थिए । सबैलाई पछि पार्दै शुभाङ्ग पराजुली बढुवा सिफारिसमा परेका छन् ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/12/US_Sifaris_Suchana_AaPra.pdf”]

टिप्पणीहरू