काँग्रेसको अन्तिम परिणाम भोलि साँझसम्म आउने, १३ ठाउँमा ट्याङ्की घोप्ट्याइयो

काँग्रेसको अन्तिम परिणाम भोलि साँझसम्म आउने, १३ ठाउँमा ट्याङ्की घोप्ट्याइयो

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा भएको निर्वाचनको अन्तिम परिणाम भोलि साँझसम्म आउने जानकारी दिइएको छ । सबै पदाधिकारी र केही क्लस्टरको परिणामपछि अहिले केन्द्रीय सदस्य (खुल्ला) को मत गणना भइरहेको छ ।

केन्द्रीय सदस्यअन्तर्गत प्रदेश नम्बर २ को खुल्ला महिलातर्फ एक सिटको लागि भएको मतगणनाको अन्तिम परिणामअनुसार चित्रलेखा यादव विजयी भएकी छन् । उनले २७ सय ३१ मत प्राप्त गरेकी छन् । खसेको ४६ सय ३६ मतमध्ये गीता चौधरीले १८ सय ८५ मत प्राप्त गरेकी छन् । उक्त क्लस्टरमा २० मत बदर भएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा १३ ठाउँमा मतपेटिका घोप्ट्याइएको छ । शनिबार अपरान्हसम्म केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि शशांक कोइराला छन् भने त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणको मत देखिएको छ ।

प्रारम्भिक मतपरिणाममा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, अर्जुननरसिंह केसी त्यसपछि देखिएका छन् । राप्रपा छाडेर काँग्रेस छिरेका स्वर्गीय प्रधानमन्त्री सूर्यबहादुर थापा पनि अरुभन्दा अगाडि नै रहेको प्रारम्भिक मत परिणामले देखाएको छ ।

विजय गच्छदारसँगै काँग्रेस छिरेका काभ्रेका डन गणेश लामाले पनि अरुलाई पछाडि पारेको देखिन्छ । गच्छदारसँगै आएका मंगल थारु, गोपाल दहितको मत पनि राम्रै देखिएको काँग्रेस केन्द्रीय कार्यालयमा जानकारी गराइएको छ ।

जिपछिरिङ लामा, एनपी साउद, रमेश लेखक, रामशरण महत, मोहनकुमार बस्नेतलगायतका पूराना नेताहरुको पोजिशन राम्रै रहेको बताइएको छ । रसुवाका मोहन आचार्य, ओखलढुंगाका रामहरि खतिवडाले पनि राम्रै मत पाएको देखिन्छ ।

शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले धेरै ठाउँमा गणना गरिएको हो । पूर्वमन्त्रीहरु तारिणीदत्त चटौत, सुरेन्द्र हमालहरुको पोजिशन निकै पछाडि रहेको प्रारम्भिक मतपरिणामबाट देखिएको छ ।

टिप्पणीहरू