‘ओली पार्टीमा भष्मासुर र सरकारमा धुन्धुकारी भएर निस्किए’

‘ओली पार्टीमा भष्मासुर र सरकारमा धुन्धुकारी भएर निस्किए’

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नेकपा एमाले हेर्दाहेर्दै सगरमाथाको शीरबाट नारायणीको तीरमा आइपुगेको भन्दै व्यङ्ग्य गर्नुभएको छ ।

गृहजिल्ला मकवानपुरको मनहरी गाउँपालिका ६, सुनाचुरीमा पार्टीको वडा सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले लाखौँ कार्यकर्ताले दुःख गरेर हुर्काएको एमाले पार्टी क्षणभरमै केपी ओलीले ध्वस्त पारेकाले पुनर्गठन गरी नेकपा एकीकृत समाजवादी निर्माण गर्नुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बहुमतले नपुगेर झण्डै दुई तिहाई मत दिँदा पनि केपी ओलीले न, पार्टी चलाउन सके, न सरकार नै । उनी पार्टीमा भष्मासुर र सरकारमा धुन्धुकारी भएर निस्किए ।’ आफूले २०३९ सालमा माछा चुनाव चिन्ह लिएर चुनाव लडेको स्मरण गर्दै मन्त्री खतिवडाले चुनाव चिन्हले खास असर नपर्ने उल्लेख गर्नुभयो ।

व्यक्तिवादी चिन्तन र स्वार्थसिद्धका अनेकौं तानावानाका कारण एमालेलाई खरानी बनाउँदै ओलीले समग्र कम्युनिष्ट आन्दोलनलाई नै तहसनहस बनाएपछि बाध्य भएर कम्युनिष्टहरुको पुनर्जागरण गर्नुपरेको उहाँको प्रष्टोक्ति थियो । मन्त्री खतिवडाले भन्नुभयो, ‘पार्टीमा दुःख गरेका मोक्तानहरुलाई बिर्सेर धनीमानी खेतालाहरुलाई बोक्न थालेपछि एमाले अब बार्दली हुँदै नारायणी बगरसम्म पुगेको छ ।’

कार्यक्रममा उहाँले सबैलाई कोभिड १९ विरुद्धको खोप लगाउन आग्रह गर्नुभएको छ । कोभिड विरुद्धको खोपको व्यवस्था सरकारले गरेकाले निःशुल्क रुपमा उक्त खोप लगाएर सुरक्षित हुन आग्रह गर्नुभएको हो । कार्यक्रममा केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य राजाराम स्याङ्तानले एमालेले आफ्नो विचार, नीति सबै सकाएकाले असल मानिसहरु नेकपा एकीकृत समाजवादीमा लाग्नुपरेको बताउनुभयो ।

गाउँ कमिटी अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य मनिला विष्ट, चन्द्रकुमारी भुसाल, अनेरास्ववियुका जिल्ला अध्यक्ष अरुण बर्तौलालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । भेलाले गोपी लामाको अध्यक्षतामा वडा कमिटी समेत गठन गरेको छ भने युवा संघको वडा कमिटी पनि घोषणा गरेको छ ।

टिप्पणीहरू