देश यसरी कसरी बुद्धको हुन्छ र दाजै ?

देश यसरी कसरी बुद्धको हुन्छ र दाजै ?

बुद्धको देश नेपाल भन्छौं हामी । यसो भनिरहँदा अलिकति पनि लाज लाग्दैन हामीलाई ! बुद्ध हुनु भनेको त बुद्धि हुनु हो । आमजनता–नेता सबै बुद्धिमानी भएको देश पो बुद्धको देश ! चाहे त्यो भारत होस् या चीन, अमेरिका, बेलायत, म्यान्मार, थाइल्याण्ड वा अरु नै किन नहुन् रु हत्या–हिंसा, लोभ–लालच, स्वार्थ त्यागेर शान्ति, प्रेम, सहयोग, सेवा, सद्भाव, भाइचाराले भरिएको जुनसुकै ठाउँ बुद्धको ठाउँ, जुनसुकै देश बुद्धको देश हुनेछ ।

बुद्ध धर्म मान्नेहरु नेपालमा थुप्रै छन्, विश्वभरि नै छन् । बुद्ध नेपालमै जन्मिएको भनिए पनि हामी कति नेपाली शान्ति र अहिंसाको बाटोमा छौं त रु मुखले भनेर मात्रै कोही बुद्धिष्ट हुन सक्दैन । गुम्बामा जाँदै–बस्दैमा, कपाल खौरी रातो वस्त्र लगाउँदैमा बुद्धको पथमा हिँडेको मानिँदैन ।

तर विडम्बना, यहाँ हत्या–हिंसालाई भोजन–पेशा बनाउँदै आएकाहरु नै आफूलाई नम्बरी बुद्धिष्ट भन्दछन् ! काटमार नगर्ने, माछामासु नखाने कति होलान् रु घरमा बुद्धको फोटो, मूर्ति, झण्डा टाँगिएको छ, सँगै छानामा भैंसीको मासु सुकुटी बनाउन सुकाइएको छ, यस्ता छन् धर्मावलम्बी ! सत्यवोधका लागि दरबारको सुख छाडेर हिँडेका त्यागी बुद्धको नाम बेचेर पैसा कमाउने धन्दा चलाउँदैछन् छट्टुहरु ।

अझ संसारकै पुरानो धर्म भनेर दाबी गरिने हिन्दू त झन् धर्मको नाममा विवादास्पद बनाइएको छ । अदृश्य भगवानको भ्रममा मान्छेलाई भुलाउन मान्छेबाटै तयार पारिएका हुन् अनेक धार्मिक नौटङ्की भन्ने गरेका छन् एकथरीले । धर्मअनुसार फरक–फरक चित्रण गरिए पनि ईश्वर भए एउटै छन् ।

सबै प्राणी, वनस्पति, पदार्थ तथा संसारकै रचनाकार ईश्वर हुन् भने आफ्नै सृष्टि मारेर खान किन लगाउँथे मान्छेलाई रु मन्दिरमा बलिको नाममा पशुपक्षीको बध गर्न अनि प्रसाद भन्दै काटेर–पकाएर खान भगवानले भनेकै होइनन् । पूजाआजाको नाममा अरुको हत्या गर्न र रगत, मासु–हाडाछाला लुछ्न लगाउने नि ईश्वरको धर्म हुन्छ र ? मुस्लिम र इसाइ पनि त्यस्तै ! चर्च–मस्जिदमा गई प्रार्थना गरेर, नमाज पढेर आयो, घर तथा होटलहरुमा गएर ‘गोस्त’, ‘रोस्ट’ लुछिहाल्नुपर्ने उही राक्षसी प्रवृत्ति !

केही अघि साथीको घरमा ४–५ वटा जीवित कुखुरा ल्याएर राखिएका थिए आँगनमा । काट्ने तयारी हुँदै थियो । बच्चाको बर्थ डे रहेछ । हामीले सानैदेखि आफ्ना बालबच्चालाई अरुको आत्मा तथा प्राण मारेर खुशी हुन सिकाइरहेछौं भन्ने लाग्यो ।

हामी आफू कहिल्यै मर्नै नपरे हुन्थ्यो भन्छौं, मर्नदेखि साह्रै डराउँछौं । कहीँकतै चोट लाग्दा दुखेर मूर्छित हुन्छौं । आफ्ना बालबच्चा तथा परिवारका मान्छेलाई केही नराम्रो नहोस् भन्ने कामना गर्छौं । तर यही संसारमा रहेका अरु जीवनलाई भने मारेर स्वाद लिइरहेका छौं, पैसाको लागि पशुपंक्षीलाई मारेर बेचिरहेका छौं !

आफ्नो परिवारमा कोही मर्दा डाँको छाडेर रुने मान्छे अरु प्राणीलाई मारेर खान पाउँदा खुशी हुने कस्तो कुबुद्धि ? हाम्रो जस्तै अरु प्राणीको पनि त एकबारको जीवन हो, मरेपछि सकिन्छ । उनीहरुका पनि बालबच्चा हुन्छन्, माया गर्छन् । तर हामी किन यति निष्ठुरी कि आफ्नो स्वाद–स्वार्थका लागि अरु प्राणीलाई दुखाएर, मारेर अघाउने ?

भनिन्छ, पाप कर्मको चर्को मूल्य चुकाउनुपर्छ । हरिया सागपात तथा वनस्पतिजन्य खाद्यभन्दा माछा, मासु धेरै महँगो । यो अरुभन्दा स्वादिलो मान्छेलाई किन लाग्यो होला रु त्यसको पनि कारण छ, प्रकृतिले जस्तालाई त्यस्तै गरिदिएको हो । दुःख गरेर कमाएको पैसा त्यही पाप कर्ममा बढी खर्च भइरहेको छ ।

महिनाभरि दाल, भात, तरकारी खान पुग्ने खर्च ५/६ छाक मासु खाँदा सकिन्छ । हो, बाबुआमाले भएको विवेक प्रयोग गर्न सकेनन्, सानैदेखि हामीलाई बलियो हुने भ्रममा माछामासु खुवाउँदै आए । जबकि मानिसलाई लाग्ने अधिकांश रोगको कारण मासु नै हो भन्ने प्रमाणित भइसकेको छ । ठूलो भएर बुझ्ने भइसकेपछि शाकाहारी नहुनु गम्भीर भूल हो । कसैले पनि आफ्ना बालबच्चालाई माछामासु खान नसिकाएकै राम्रो । नत्र ड्रगको जस्तै लत लाग्छ यसको ।

पहिलेदेखि जे गरिँदै आयो, त्यसमै लाग्ने प्रवृत्ति छ हामीमा । ठीक, बेठीक पनि नछुट्याउने ! उहिल्यैदेखि कुखुराबाख्रा, गाईभैंसी चाहिँ नखाने, कुकुर, बिराला काटेर खाने चलन हुन्थ्यो भने अहिलेका मान्छेले कुकुर–बिराला नै काटेर खान्थे, ‘डग रोस्ट’, ‘क्याट फ्राई’ भन्दै । यदि, सानैदेखि केटाकेटीलाई माछामासु, दूध–दही नखुवाउने हो भने ठूलो भएपछि उसले खाने छैन, आफ्ना भावी सन्ततिलाई पनि खुवाउने छैन । साँच्चै सबैले आफना बाबुनानीलाई बच्चैदेखि गालीगलौज–कुटपिट नगर्ने, अन्य मानव र प्राणीप्रति प्रेम गर्न सिकाउने हो भने भोलिको समाज अवश्यै प्रेमिल बन्नेछ । तब नै हुनेछ बुद्धको देश नेपाल ।

यो वर्षको ठूलो चाड दशैं पनि सकियो । नेपालीजनको दशैं भनेको पशुपंक्षीलाई अझ बढी दशा जस्तै हो । अरु बेलाभन्दा हजारौं बढी संख्यामा पशुपक्षीको हत्या गरेर खाए मानिसले यो वर्ष पनि । हिन्दूहरुका पर्व र पूजाआजामा पशुपंक्षी मार्नैपर्ने, काटेर मासु हसुर्नैपर्ने कस्तो संस्कार ?

घरमा कोही पाहुना वा चाडबाड आउँदा पैसा नभए पनि ऋण गरेरसमेत माछामासु नै खाने–ख्वाउने प्रवृत्ति छ हामीकहाँ ! अरुको पीडामा रमाउने चलन ! गाउँ–छिमेकमा कोही मरेर मलामी गएका मान्छेहरु एकातिर चिता जल्दै गर्दा अर्कातिर हाँस्दै गफिएका हुन्छन् ! एक त आफ्नो मान्छे गुमाउनुपरेको दुःख, त्यसमाथि काजकिरियाका नाममा गर्मी होस् या जाडो एकसरो कपडामा नून नखाई भोकभोकै बस्नुपर्ने औधि पीडादायी परम्परा ! त्यसरी किरिया बसेर, नबसेर हुने केही होइन क्यारे ! किरियापुत्री कुर्ने नाममा बाहिर बसेकाहरु रातभर होहल्ला गर्ने, तास खेल्दै ठट्टा–हँसीमजाक गर्ने गरेको पनि देखिन्छ । यस्तो हर्कतले पीडितलाई चोटमाथि चोट थपिने कुरा खोई कसले ख्याल गर्छ यहाँ ?

वास्तवमा सबै धर्म कर्मकाण्डी मात्रै हुन् । देशमा ऐन कानुन नभएको अवस्थामा टाठाबाठाले आममानिसलाई शासन गर्न धर्मको प्रतिपादन गरे । उनीहरुले सोझा मानिसलाई धर्मको भुलभुलैयामा पारेर शोषण–शासन गर्दै आए । हिन्दूकै पनि अनेक उदाहरण छन् ।

निर्धा–अल्पसंख्यकलाई अछूत भन्दै धर्मको बहानामा कतिसम्म अन्याय, अत्याचार गरियो रु शिक्षाको विकासले मानिसको बुद्धिमा लागेको बिर्को खुकुलो हुँदै जाँदा कानुन तथा संविधानको निर्माण–विकास हुन थाले । त्यसपछि नै धार्मिक संस्कारका रुपमा लादिएको जातीय विभेद, दमनको कुरीतिलाई बाँध्ने प्रयास भएको हो । तर पनि समाजमा अझै जातीय विभेद पूरै मेटिइसकेको छैन । जेहोस्, देशमा लिखित संविधान संस्थागत भइसकेको अवस्थामा अब धार्मिक रीति आवश्यक छैन ।

नेपालमा पछिल्लो समय हिन्दूबाट क्रिस्चियन बन्नेहरुको लर्को छ । पैसै बाँडेर धर्म परिवर्तन गराइएका छन् । आखिर हिन्दू, क्रिस्चियन जे भए पनि, क्रिस्चियन हिन्दू बने पनि वा कथित धर्महरु माने पनि, नमाने पनि हुने केही होइन । तर आफ्नो चाहना, सपना पूरा नभएको निहुँमा धर्म परिवर्तन गर्ने अन्धविश्वासीहरु बढ्दैछन् ।

घाँटीमा क्रस झुण्ड्याउँदैमा वा मन्दिर, मस्जिद, चर्च, गुम्बा धाउँदैमा पाप मेटिन्छ र धर्म हुन्छ भन्ठान्नु मूर्खतामात्रै हो । आफ्नै घर तथा गाउँ–टोलमै दैनिक जीवनमा पुण्यकर्म गर्न सकिन्छ । दीन–दुःखी जनलगायत हरेक प्राणीको रक्षा गर्नु मानिसको दायित्व हो, वास्तविक धर्म यही हो । यति सुन्दर सृष्टिलाई सिंगार्ने बुद्धि पनि हालिएको छ मानिसको दिमागमा ।

तर हामीचाहिँ भएको दिमागको सदुपयोगभन्दा दुरुपयोगतिरै बढी दौडिएका छौं । तर पनि आफूलाई अरु प्राणीभन्दा बुद्धिजीवी र विवेकी भन्न छाडेका छैनौं ! फेरि कसैले कागले कान लग्यो भनिदियो भने कान नछामी कागको पछि दौडिन पनि भ्याइनभ्याइ छ हामीलाई ! न्वारन, व्रतबन्ध, श्राद्ध, चाडबाड आदिको नाउँमा जन्मेदेखि मृत्युसम्मै मानिसलाई धार्मिक रुढिवादमा भुलाउन खोजिएको छ । नागपञ्चमीमा घरको ढोकामा नागको फोटो टाँस्दैमा सर्प नआउने, नटाँसेर आउने हो र ?

हो, हामीमाथि आक्रमण गर्ने, हामीलाई नै हानि पुर्याउने जीवलाई प्रतिकार गर्न पाइन्छ । जस्तै जुम्रा, माखा, लामखुट्टे आदिले टोकेर हैरान पारेपछि नमारी उपायै रहेन । तर कुखुरा, बाख्रा, हाँस, गाईभैंसी जस्ता निरीह–निहत्था प्राणीलाई मान्छेले आफ्नो खाना र व्यवसायका लागि मार्नु महापाप नै हो ।

खासमा दूध, दही, अण्डा पनि भेजिटेरियन हुँदै होइन । आफ्नो अनुकूलताका लागि उल्टो व्याख्या गर्ने चलन छ हामीकहाँ ! प्राणीको शरीरभित्रैबाट निस्कने चीज हो दूध, बोसो मिसिएकै हुन्छ त्यसमा । अण्डाभित्र त झन् अविकसित बच्चाको डल्लो नै ! अझ दूधमा आमाको गुण तथा आत्मा पनि मिसिएको मान्न सकिन्छ ।

प्रकृतिले हरेक बच्चा जन्माउने आमालाई दूध दिएको छ । दूध त आफ्नै आमाको पो खाने हो त ! तिनकै बच्चाबच्चीलाई समेत अघाउञ्जेल खान नदिएर, पशुलाई बाँधेर जबरजस्ती दूहिने दूध र त्यसका परिकार खाएर पक्कै शुभलाभ मिल्ने छैन । जनावरको मासु, दूध–मूतको सेवनले त मान्छेको दिमागलाई पशुकै जस्तो अविवेकी बनाइदिने अन्दाज अन्यथा नहोला ! इ–रिक्सामा जाँदा एउटी महिलाले नारायणी पुलनेर दाहिने हात निधारमा लगेर ढोगिन् । तिनै महिलाले अलि पर पुग्दा हातमा भएको पानीको खालि बोतल त्यही नदीतिरै हुर्याइन् ।

वर्षेनी श्राद्ध गर्दैमा मरिसकेका बाबुआमाको आत्मा शान्त हुने, नगरे नहुने विश्वास पालेर मानव जीवन कदापी सफल हुन सक्दैन । वर्षको एक दिन श्राद्ध होइन, मनैदेखि श्रद्धा गर्न जरुरी छ सँधै, मरेपछि पनि, जीवित छँदा झनै । तब पो मिल्छ अग्रजहरुको आशीर्वाद !

अनेक पूजाआजा, तीर्थ, यज्ञ आदिमा खर्च गरिने पैसा र समय गरीब भोका–नाड्डा–रोगीजन एवम् प्राणीको जीवन रक्षार्थ खर्च गरेमा अवश्यै पुण्य मिल्नेछ । यहाँ राज्य नै मन्दिर, मस्जिद, चर्च, गुम्बाको नाममा बिघौंबिघा जमिन दिन्छ धार्मिक ठेकेदारहरुलाई तर गरीब, सुकुम्बासी नागरिकलाई सानो घरघडेरी र लालपुर्जा उपलब्ध गराउँदैन !

नारायणगढमा वर्षौंदेखि भारतीय मूलका केही मानिस एउटा भाँडोमा रंग र फूल लिएर हिँड्छन्, बाटोमा जो भेट्यो, आफैँ गएर उनीहरुलाई टीका लगाइदिँदै पैसा माग्ने गर्छन् । बिचरा कतिपय अन्धविश्वासीहरु खुरुक्क पैसा झिकेर टक्र्याउन बाध्य हुन्छन् । पैसा नदिए पाप लाग्ने हो कि भन्ने डर छ कैयौंलाई ! यसरी दिनदहाडै धर्मको नाममा ठगी धन्दा भइरहेको छ, नेपाललाई हिन्दू राष्ट्र नै बनाउने षड्यन्त्रलाई समेत यसले मलजल गर्छ ।

– अजय गोर्खाली

टिप्पणीहरू