गृहमन्त्रीलाई पार्टीको चुनाव सघाउन सुरक्षा प्रमुखहरु काठमाडौंमा

गृहमन्त्रीलाई पार्टीको चुनाव सघाउन सुरक्षा प्रमुखहरु काठमाडौंमा

गृहमन्त्रीसमेत रहेका काँग्रेस नेता बालकृष्ण खाँणले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सरकारी स्रोत र साधनको भरपुर उपयोग र दुरुपयोग गरेको काँग्रेसभित्रै चर्चा हुन थालेको छ । खाँणले सत्ता र शक्तिको अधिक प्रयोग आफ्नै प्रचारप्रसारमा गर्नुभएको हो । उहाँले सो कार्यमा गृहजिल्लाका सुरक्षा प्रमुखहरुलाई भरपुर प्रयोग गर्नुभएको देखिन आएको छ ।

सोही प्रयोजनको निम्ति उहाँले गृह जिल्ला रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी,नेपाल प्रहरीका एसपी मनोज केसी र सशस्त्र प्रहरी बलका एसपी शंकर खनाललाई काठमाडौं झिकाइनु भएको थियो ।

काँग्रेस महाधिवेशनको छेको पारेर सरकारी काजमा राजधानी आएका सुरक्षा अधिकारीहरु अझै जिल्लाको जिम्मेवारी सम्हाल्न पुगेका छैनन् । गृहमन्त्री खाँणको निर्देशन नमानेकै कारण यसअघि सशस्त्रका एसपी तेज पोखरेल र सिडिओ परिवर्तन गरिएको थियो । अहिले सशस्त्रका एसपी खनाल खाँणपत्नी मञ्जुको सिफारिसमा रुपन्देही पुगेका हुन् ।

यसअघि भैरहवामा सम्पन्न काँग्रेसको लुम्बिनी अधिवेशनमा पनि गृहमन्त्रीले सुरक्षा निकायलाई आफ्नो टिमको प्रचारमा दुरुपयोग गरेको विपक्षी समूहले आरोप लगाएको थियो ।

भैरहवामा विपक्षी समूह शेखर कोइराला टिमका शैलेश पन्त र बुटवलमा कुमार केसी कुटिँदासमेत मन्त्रीकै दबाबमा प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेको उनीहरुको भनाइ छ ।

उहाँले शुरुवाती चरणमा महामन्त्रीमा उम्मेदवारी दिने तयारी गर्नुभएको बताइन्छ । तर लुम्बिनी प्रदेशमा पूरै शक्ति लगाउँदासमेत आफ्नो टिमले हार ब्यहोरेपछि अन्ततः गृहमन्त्री खाँण केन्द्रीय सदस्यमा उम्मेदवारी दिन बाध्य हुनुभएको हो ।

टिप्पणीहरू