कांग्रेसमा फेरि देखियो फ्लोर क्रसको बाछिटा

कांग्रेसमा फेरि देखियो फ्लोर क्रसको बाछिटा

१४ औँ महाधिवेशनअघि नै पुस्तान्तरणको बहस चलेको नेपाली कांग्रेसमा सभापतिपछि शक्तिशाली मानिने महामन्त्रीको कुर्सीमा युवापुस्ता उक्लिएको छ । ७५ वर्षीय शेरबहादुर देउवा सभापतिमा दोहोरिँदा महामन्त्री पदमा भने चर्चित दुई युवा नेता गगन थापा र विश्वप्रकाश शर्माले बाजी मारेका छन् ।

कुनैबेला गणेशमान,श्रीभद्र शर्मा,सुवर्ण समशेर, गिरिजाप्रसाद,महेन्द्रनारायण निधीजस्ता कांग्रेसका आदर्श नेताहरु आसिन महामन्त्रीको कुर्सीमा अब थापा र शर्मा पुगेका छन् । त्यसैले पनि काँग्रेस महाधिवेशनमा महामन्त्रीको चुनावी नतिजा विशेष चर्चामा छ ।

नेतृत्वमा पहिलो पुस्ता नै हावी भैरहेको नेपाली राजनीतिको नियतिलाई चिर्दै देशकै ठूलो पार्टीको शक्तिशाली महामन्त्रीमा पुग्न सफल यी दुई युवा नेताले राष्ट्रिय राजनीतिकै ध्यान तान्न सफल भए ।

थापा र शर्मा कांग्रेस महामन्त्रीका लागि योग्य पात्र थिए भन्नेमा धेरै शंका गर्नु आवश्यक छैन । देश तथा प्रवासबाट आएका ४७ सय बढी महाधिवेशन प्रतिनिधिले पनि उनीहरुलाई परीक्षामा उत्तिर्ण गराइसकेका छन् ।

“पुस्तान्तरणको बहस गरिरहेका कांग्रेसीहरुले सभापतिमा ७५ वर्षका देउवालाई भोट हाले भने देउवा प्यानलकै प्रदिप पौडेलजस्तो युवा उनीहरुको रोजाइमा परेनन् । त्यसैले, काँग्रेसीहरुले न प्यानल रोजेको देखियो न युवा नेतृत्व ।”

तर, उनीहरुको जीतसँगै काँग्रेसमा ‘अन्तर्घात’को बहस भने सतहमा ल्याइदिएको छ । किनभने बलियो प्यानलबाट उम्मेदवार भएका अन्य युवा उम्मेदवारलाई पछाडि पार्दै शर्माले बाजी मारेपछि कतिपयले भोट क्रस गरेर हराइएको गुनासोसमेत गर्न थालेका छन् ।

त्यसो त,नवनिर्वाचित महामन्त्री शर्मा संस्थापन (देउवा)पक्षबाट महामन्त्रीको दावेदार थिए । तर, देउवाले उनलाई उम्मेदवार बनाएनन् । सभापतिमा आफ्नो जीत सुनिश्चित गराउन कृष्णप्रसाद सिटौला समूहसँग सम्झौता गरेर संस्थापनबाट महामन्त्रीमा प्रदिप पौडेललाई अघि सारियो । सिटौला समूहका पौडेल र देउवाका विश्वासपात्र डा.प्रकाशशरण महत संस्थापन पक्षबाट महामन्त्रीको उम्मेदवार बने ।

महाधिवेशनको एक महिनाअघि नै उम्मेदवारी घोषणा गरिसकेका शर्मा देउवाको निर्णयले बिच्किए । र,प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीको उम्मेदवार बने । संस्थापनइतर समूहबाट बिद्रोह गरेर सभापतिको उम्मेदवार बनेका प्रकाशमान सिंह र संस्थापनबाट बाहिरिएका शर्मा एकै ठाउँमा उभिन पुगे । अन्तत: कमजोर टिमका रुपमा हेरिएको सिंहको प्यानलबाट उम्मेदवार बनेका शर्माले महामन्त्री शानदार जीत हात पारे ।

शर्माले महामन्त्रीमा जीत हात पार्दा सभापतिमा भने प्रकाशमान तेस्रो स्थानमा खुम्चिन पुगेका थिए । दोस्रो चरणमा उनले देउवालाई सघाउने निर्णय गरे । फलत: देउवा सभापतिमा निर्वाचित भए । प्रकाशमानले जम्मा ३७१ मत पाएका थिए,जबकि त्यहि प्यानलबाट उम्मेदवार बनेका शर्माले भने १९ सय ८४ मत पाए ।

उनले संस्थापनका बलिया दुई उम्मेदवार डा. महत र पौडेललाई मात्र हराएनन् कोइराला प्यानलका डा.मीनेन्द्र रिजाललाई पनि पछि पारे । बलियो प्यानलबाट महामन्त्रीको प्रतिष्पर्धामा उत्रिएका डा. महतले १५ सय ५६ र पौडेलले १४ सय ९३ भोट ल्याए ।

यता,महामन्त्रीमा सर्वाधिक मत ल्याएका गगन थापाले आफ्नो प्यानलका सभापतिका उम्मेदवार शेखर कोइरालाको भन्दा १३ सय मत बढी पाए । सभापतिमा कोइरालाले १७ सय २९ भोट ल्याएर पराजित हुँदा थापाले भने तीन हजार २३ मत ल्याएर लोकप्रिय मतका साथ शानदार जीत हात पारे ।

कोइराला प्यानलबाट उम्मेदवार बनेका डा. रिजालले ८०९ मत पाए । महामन्त्रीमा हार व्यहोरेका उनले मन्त्री पदबाट समेत राजीनामा दिए । देउवा र कोइराला प्यानलका बलिया उम्मेदवारहरुलाई पछि पार्दै शर्माले पाएको मत विशेष चर्चायोग्य छ । किनभने प्रकाशमानलाई आएको मतलाई प्यानलको मत मान्ने हो भने १६ सय बढी मत उनले संस्थापन र इतर प्यानलबाट पाएको देखिन्छ ।

महामन्त्रीको नतिजाले नेता सिटौलालाई सबैभन्दा धेरै घाटा भएको छ । पौडेललाई महामन्त्री जिताउन आफू कुनैपनि पदमा उम्मेदवार नबनी देउवालाई सघाएका उनलाई सहमहामन्त्रीमा उमाकान्त चौधरीको जीतसम्म हात लागेको छ । सिटौलाले १३ औँ महाधिवेशनमा गगन थापालाई अघि सारेका थिए ।

तर, १४ औँ महाधिवेशनसम्म आइपुग्दा थापा उनलाई छोडेर कोइराला क्याम्पमा पुगे । उनै थापाले पौडेललाई हराए । त्यसैले सिटौलाको राजनीति संकटमा परेको कांग्रेसीहरुबीच चर्चा हुन थालेको छ।

हुन त,संसदीय चुनावमा समेत अन्तर्घात हुने कांग्रेसको आन्तरिक प्रतिष्पर्धामा यस्तो नतिजा आउनु स्वभाविक नै हो । तर, पुस्तान्तरणको बहस गरिरहेका कांग्रेसीहरुले सभापतिमा ७५ वर्षका देउवालाई भोट हाल्दा त्यहि प्यानलका प्रदिप पौडेलजस्तो युवा नेतालाई भने रोजेनन् ।

त्यसैले, काँग्रेसीहरुले न प्यानल रोजेको देखियो न युवा नेतृत्व । बरु वाक कलामा निपुण गगन र विश्वप्रकाशका भाषणहरुबाट पो उनीहरु प्रभावित भएको आशंकामाथि थुप्रै आधार छोडिदियो ।

टिप्पणीहरू