प्रहरी क्याम्पमाथि माओवादी आक्रमणको रिपोर्टिङ

प्रहरी क्याम्पमाथि माओवादी आक्रमणको रिपोर्टिङ

– गोविन्द आचार्य

०५७ माघ २८ देखि फागुन २ सम्म चलेको दोस्रो राष्ट्रिय सम्मेलनले माओवादी आन्दोलनमा धेरै ठूलो महत्व राख्छ । भारतको पञ्जावस्थित बन्द एक उद्योगको गोदामभित्र भूमिगत रूपमा ५ दिनसम्म चलेको सम्मेलनले पार्टीमा माक्र्सवाद, लेनिनवाद र माओवादपछि प्रचण्डपथको सिद्धान्तलाई थपेको थियो । सोही सम्मेलनपछि मात्रै पार्टीले अन्तरिम सरकार, संविधानसभा र गणतन्त्रको एजेण्डालाई स्वीकार गरी शान्ति वार्ताका माध्यमबाट राजनीतिक उद्देश्य हासिल गर्न पहलकदमी लिने निर्णय लिएको हो ।

करिब पाँच सय प्रतिनिधि सहभागी उक्त सम्मेलनमा मसहित महेश्वर दाहाल, ओम शर्मा र कुमार शाह गरी जम्मा ४ जना पत्रकार प्रतिनिधि थियौँ । अन्तिम दिन २ गते जनसेना कमाण्डर (हालका उपराष्ट्रपति) नन्दबहादुर पुन पासाङ र रुकुम जिल्ला इञ्चार्ज पूर्ण घर्ती आयामले मलाई कुनातिर बोलाएर भन्नुभयो– ‘जनआन्दोलन दिवसको सेरोफेरोमा देशैभर फौजी कारबाहीको तयारी भइरहेको र रुकुममा पनि त्यस्तो योजना बनेकाले तपाईं एक जना विश्वासिलो हाम्रै पत्रकार साथी लिएर चैत दोस्रो साता डि २ मा आउनुहोला । सम्पर्क पछि आयामजीले मिलाउनुहुन्छ ।’ कमरेड पासाङले यति भनेपछि मैले फौजी कारबाहीमा प्रत्यक्ष रिपोर्टिङका लागि पहिलो पटक हामी पार्टीनिकट पत्रकारलाई पनि अवसर दिएकामा धन्यवाद दिँदै आफू आउने प्रतिबद्धता जनाएँ । दिल्लीबाट काठमाडौं फर्किएपछि दीपक सापकोटालाई मोर्चामा जान प्रस्ताव गर्दा उहाँ पनि उत्साहित हुनुभयो ।

राष्ट्रिय सम्मेलन सकिएको करिब डेढ महिनापछि ०५७ चैत १३ गते बिहान पूर्ण घर्तीको फोन आयो । उहाँले १७ गतेसम्म डि २ को मेरो घरमै पुगिसक्नुहोला भन्नुभयो । त्यसबेला राप्ती क्षेत्रमा डि १ भनेर रोल्पा, डि २ भनेर रुकुमलाई बुझिन्थ्यो । पूर्ण घर्तीको घर चुनवाङमा थियो । म करिब ४ महिनापहिले रुकुमका सबै गाउँमा २ महिनाजति घुमेर फर्केकाले स्थानीय पार्टीका नेता–कार्यकर्तासँग परिचित नै थिएँ । खबर पाएको अर्को दिन अर्थात् ०५७ चैत १४ गते साँझ दाङको रात्रि बसबाट यात्रा शुरु ग¥यौं । १५ गते बिहान दाङको सम्पर्क पोष्टमा पुग्दा पार्टीका जिम्मेवार कसैलाई पनि नभेटेपछि पैदलै रोल्पातर्फ अघि बढ्यौँ । साँझ रोल्पाको नाकामा रहेको राप्ती उपक्षेत्रको सम्पर्क पोष्टमा पुग्यौं । पोष्ट इञ्चार्ज क.शेषले व्यापक केरकार गर्नुभयो । उहाँले हामीलाई नचिनेको र पत्रसमेत नभएकाले कसरी विश्वास गर्ने भन्दै अब अघि बढ्न नदिने भन्नुभयो । यस्तो अवस्थामा हामी जान पाउँदैनौं कि भनेर चिन्तित बनिरहेकै बेला माओवादी नेता क.कृष्णबहादुर महराका स्टाफ मित्र जसले मलाई दुई महिनापहिले रुकुमको जनसरकार घोषणा कार्यक्रममा चिन्नुभएको थियो, उहाँ आइपुग्नुभयो । उहाँको आगमनपछि बल्ल शेष कमरेडले अघि बढ्ने अनुमतिका साथै सम्पर्क पनि जोडिदिनुभयो ।

चैत १६ गते घर्तीगाउँमा बास बस्न पुग्यौं र १७ गते बिहानै हिँड्यौं । त्यसदिन इरिवाङसम्म मात्रै पुग्न सकियो । इरिवाङको बाघमारामा माओवादी कार्यकर्ताले धेरै मिहिनेत गरेर एक आकर्षक पुल बनाएका रहेछन् । सोही गाउँमा रंगशालासमेत रहेछ । चैत १८ गते सबेरै चुनवाङतर्फ लाग्यौं । हामी पुग्दा कारबाहीस्थलतर्फ जनमुक्ति सेना बाटो लागिसकेछ । हामी छुट्यौं भनेर धेरै चिन्ता लाग्यो । उक्त गाउँमा पार्टीका कोही जिम्मेवार नेता भए त जसरी भए पनि सम्पर्क जोडिन्थ्यो । घर घर पुगेर सोधखोज गर्दा डिसिएम कमरेडहरू बहादुर र परम्परा गौतम त्यतै रहेको जानकारी पाइयो । उहाँहरूले कारबाहीको दिन आज नभई भोलि भएको र कारबाहीस्थल पनि नजिकै भएकाले साथीहरूलाई सजिलै भेट्टाउनुहुन्छ भन्नुभयो । साथमा एक जना पार्टी कार्यकर्ता खटाइदिनुभएपछि हामी चुनवाङवाट उत्तरतर्फ उकालो चढ्याँै । कतिखेर जनमुक्ति सेनाको सम्पर्कमा पुग्ने भन्ने आतुरता लाग्न थाल्यो । शोभा गाविसको एउटा सानो गाउँमा पुग्दा रात झमक्क भइसकेको थियो । राति टर्च बाल्न अनुमति थिएन । पानी परेको चिप्लो बाटो अँध्यारोमा हिँड्दा धेरैपटक लड्ने र बाटो भुल्ने समस्या आयो । नजिकैको एउटा घरमा बास माग्यौं र गुन्द्रीमा सुतेर रात कटायौं । त्यो रातभर प्रहरी बेस क्याम्पमाथिको आक्रमण कस्तो हुने हो भन्ने कल्पनाले निद्रै परेन ।

अर्को दिन बिहान झण्डै १ घण्टा हिँडेपछि जनमुक्ति सेनाको अन्तिम सेल्टरमा पुगियो । रूकुमकोट र महत प्रहरी बेसक्याम्पबीच रहेको खोंचको सानो बस्तीलाई अन्तिम सेल्टर बनाइएको रहेछ । जनमुक्ति सेनाका जवान स–सानो गु्रपमा विभाजित भएर छलफलमा व्यस्त देखिन्थे । हामी सिधै कमाण्डर पासाङ भएको स्थानमा गयौं, उहाँ एउटा घरभित्रको कोठामा छलफल गरिरहनुभएको थियो । उहाँले राति हुन लागेको कारबाहीबारे संक्षिप्त ब्रिफिङ गर्नुभयो । सो कारबाहीमा क.पासाङले कमिसार र क.राजेश (धनबहादुर मास्की) ले कमाण्डरको भूमिका निर्वाह गर्दै हुनुहुँदो रहेछ । क.राजेशले रूकुमकोट प्रहरी बेसक्याम्प आक्रमणका लागि आफैँले तयार पारेको स्केच नक्सा देखाउँदै आक्रमण कसरी गरिँदै छ भन्ने जानकारी गराउनुभयो । करिब २०० को संख्यामा रहेका माओवादी छापामार व्यस्त देखिन्थे । राजेशले कमाण्डर तथा सेनालाई कुन ठाउँमा रहेर के भूमिका खेल्ने भनी व्यक्ति–व्यक्ति बोलाएर कोच गरिरहनुभएको थियो । प्रहरी चौकी वरिपरिका २० वटै बंकर कब्जा गर्न आर्क तोकिएको थियो । साथै, उत्तर र पूर्वतिर भिरालो भएकाले माथिबाट ढुंगा पल्टाइने तथा तलबाट हानिएका ग्रिनेड गुडेर आफैँतर्फ आउनेबारे सचेत गराइएको थियो । केही समयपछि पालैपालो सबैलाई माथि डाँडाबाट बाइनाकुलरले रुकुमकोट प्रहरी चौकीमा आफ्नो आर्क क्लियर गर्न लगाइयो ।

राजेशबाट जानकारी पायांै कि रुकुमको शोभा गाविसमा पर्ने यो प्रहरी क्याम्प सदरमुकाम बाहिरको सबैभन्दा बलियो क्याम्प हो । यहाँ पहिले जिल्ला सदरमुकाम थियो । क्याम्प सैनिक ब्यारेकको फोर्टीफिकेसनमा बनाइएको रहेछ । यहाँबाट सदरमुकाम पुग्न ६ घण्टा र महत प्रहरी क्याम्प पुग्न २ घण्टा पैदल हिँड्नुपर्ने । प्रहरी चौकीमा ८० जना प्रहरी रहेछन् । जनसेनातर्फ २०० सेना र २००जति स्वयंसेवकको फोर्स थियो ।

चौकीनजिकै पुगेपछि पानी केही रोकियो । क.पासाङ र राजेशले कमाण्डो गु्रप, एसल्ट गुप्र, माइन गुप्र, रिजर्भ गुप्र, एचपी गुप्र, स्वयंसेवक गुप्र सबैलाई अन्तिम निर्देशन दिँदै ठीक ११ बजे फायर खोल्न आदेश दिनुभयो । उहाँले प्रहरी चौकीको बत्ती १० मीनेट पहिले निभाउने व्यवस्था मिलाइएकाले सोही अवधिमा तारवार काटेर भित्र छिर्न निर्देशन दिनुभयो । कारबाही कमाण्डर राजेशले एसल्ट गु्रपका कमाण्डरलाई शुरुमा उत्तरबाट फायर गरेर त्यता दुश्मनको ध्यान खिच्ने अनि दक्षिणतिरबाट भित्र घुसेर आक्रमण गर्ने निर्देशन दिँदै छिटो–छिटो पहल लिइएन भने युद्ध लम्बनेछ भन्नुभयो । खासमा उक्त प्रहरी चौकीको उत्तर पूरै भीर थियो, पूर्वतर्फ पनि भिरालो थियो । पश्चिम र दक्षिणतर्फ केही समथर थियो
कमिसार पासाङले प्रहरी क्याम्पभन्दा अलिक माथिको डाँडा जहाँबाट लडाइँ प्रष्ट देख्न सकिन्थ्यो त्यहाँ कभर लिएर बस्न भन्नुभयो । रूकुमका डिसिएस महेश्वर गहतराज अथक, कैलाली डिसिएस दलजित शिर्पाली प्रशान्त, दीपक सापकोटाजी र मसहित ६ जना एकै ठाउँमा बसेर आक्रमणको प्रतीक्षा ग¥यौं ।

११ बज्न १० मिनेट बाँकी रहँदा प्रहरी क्याम्पमा बत्ती निभ्यो, कुुकुर जोडतोडले भुक्यो । प्रहरीले कराउँदै गाली गरे । पुनः ५ मिनेटपछि बत्ती आयो । जनमुक्ति सेनाले काँडेतार काटेर भित्र छिर्नका लागि पूर्वयोजनामुताविक बिजुलीको लाइन अफ गरिदिएको अनुमान लगायौं । हाम्रो आँखा घडीको सुईमा थियो, कानले कमरेड अथकको हातमा रहेको सञ्चार सेटमा फायरको कासन कतिखेर आउँछ भनेर पर्खिरहेको थियो । टर्च घोप्टो पारेर घडी हेर्दै कतिखेर ११ बज्ला भन्ने प्रतीक्षामा थियौं । ११ बज्न १ मिनेट बाँकी रहँदा लाइन निभ्यो । लगत्तै प्रहरी क्याम्पभन्दा उत्तरबाट ड्याम्म थ्रीनट थ्री राइफलको फायर खुल्यो । प्रहरी चौकीभन्दा उत्तरतिर खोलापारि रहेका गाउँमा सयौं मशाल जुलुस बालिए र बाजागाजासहित नारा घन्किएको सुनियो । त्यसपछि त आकाशै थर्कने गरी बम र बन्दुकका आवाज आउन थाले ।

हाम्रा टाउकामाथिबाट सुइँय–सुइँय गर्दै गोली जान थालेपछि क.अथकले यो ठाउँ ३०० मीटर रेञ्जभित्र पर्ने भएकाले कभर नछाड्न सचेत गराइरहनुभएको थियो । हामी ढुंगा र रूखको आडमा लम्पसार परेर आँखाअगाडि भीषण लडाइँको दृश्य खिचिरहेका थियौँ । क्षणभरमै दक्षिणतिरको सेन्ट्री पोष्टमा आगो दन्कियो । लगत्तै माइनको धमाकाले आकाशै थर्केजस्तो लाग्यो । सेटमा जनसेनाले जित्दै गरेको र अब केही बंकर बाँकी रहेको खबर आयो, हामी घस्रँदै अघि बढ्यौं । आधा घण्टासम्मको भीषण लडाइँपछि दक्षिण र पूर्वतर्फका केही पोष्ट कब्जा भएको तर उत्तर र पश्चिमतिरको लडाइँ घनीभूत बनेकाले हामीलाई तारबारको घेराभन्दा भित्र जान दिइएन । भिडन्त घमासान चलिरहेको थियो । १ घण्टा जतिपछि हामी दक्षिणतिरको तारबारबाट पस्यौं । लडाइँ जारी नै थियो । उत्तर र पश्चिमतिर टनेलमा रहेका प्रहरीले आत्मसमर्पण गर्न मानेका थिएनन्, फायर गरिरहेका थिए । माओवादी सेनाले प्रहरीलाई आत्मसमर्पण गरे ठूले राईलाईझैं स–सम्मान छाड्ने काशन गरिरहेको थियो । दक्षिण र पूर्वतिरका सबै पोष्ट र बंकरमा दनदनी आगो सल्किएको थियो ।

दुई घण्टासम्मको घमासान लडाइँपश्चात् पूरै बेशक्याम्प जनसेनाको कब्जामा आयो । सर्च टोलीको साथमै हामी पनि निरीक्षणमा लाग्यौं । २० वटा बंकर र सेन्ट्री पोष्ट पूरै ध्वस्त थिए, घाइते, लास र सामान बाहिर निकालेर एकै स्थानमा जम्मा पार्दै थिए– माओवादी सेना । जनसेनाका डाक्टरहरूले घाइते प्रहरीको उपचार गरिरहेका थिए । जम्मा १५ जना प्रहरी घाइते भएका रहेछन् । एकजना दैलेखका प्रहरी जसको पेटमा गोली लागेर आन्द्रा बाहिर निस्किरहेको थियो, उनी आफूले जनमुक्ति सेनाका डाक्टर कृष्णलाई चिनेकाले छिटो बोलाइदिन आग्रह गरिरहेका थिए । एकैछिन पहिले एकअर्कालाई सिध्याउन लडेका सिपाही यतिखेर ज्यान बचाउन लागिरहेको दृश्य निकै भावुक थियो ।

हामीले मृतक प्रहरीका लाश गन्दै जाँदा ३२ जनाको मृत्यु भएको रहेछ । कब्जामा आएकामध्ये घाइते नभएका २२ जनालाई जनसेनाले युद्धबन्दी बनायो । ६÷७ जना भागेछन् । बिहान ३ बजेतिर नारा लगाउँदै जनसेनाको पंक्ति फिर्ता भयो । दीपक, प्रशान्त र म फर्मेसनबद्ध सेनाको पंक्तिलाई उछिन्दै अघि बढिरहेका थियौं, अकस्मात भागेका प्रहरी भनेर पक्राउ परिहाल्यौं । हामी ३ जना सिभिल डे«स लगाएकाले पनि यसरी शंकाको घेरामा परेका थियौं । जनसेनाले समातेर केरकार गर्दै गर्दा परिचित प्लाटुन भीसी निर्माणले देखेपछि मुक्त भयौं ।

वेशक्याम्प भन्दा आधाघण्टा माथि आएपछि क.पासाङसहित जनसेनाको पंक्तिले उक्त भिडन्तमा आफ्नोतर्फ सहादत प्राप्त गर्ने ८ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीको झण्डा ओढाएर शव गाड्ने काम भयो । प्लाटुन भीसी राजेन्द्रसहित जनसेनाहरू गौरव, सर्वजित, मिलन, क.गर्जन, क.राजन, क.अमित, र क.शक्ति बितेको जानकारी दिइयो । उक्त कारबाहीमा घाइते भएका ४ जनालाई स्वयंसेवकले बोकेर हिंडिरहेका थिए । केही माथि आएपछि कारबाही कमाण्डर राजेशले सबैलाई आराम गर्न र नास्ता खान कासन गर्नुभयो । हामीले बोेकेका डा«इफुड खायौं र पुनः हिँड्न थाल्यौं । माथि डाँडामा आइ नपुग्दै उज्यालो भइहाल्यो । केही छिनमा हामी माथिबाटै हेलिकोप्टर आए । जनसेनाले आकाशतिर राइफल सोझ्याउन थालेपछि पासाङले घाइते र लाश लिन आएको हो, केही नगर्नुस् भन्नासाथ जनसेना अगाडि बढ्यो ।

६७ थान हतियार, १० हजार जति गोलीसहित भारी मात्रामा युद्ध सामग्री कब्जा भएका रहेछन् । प्रहरी कार्यालयबाट कब्जा भएका कागज पत्र हेर्ने क्रममा कतिपय कांगे्रसका स्थानीय कार्यकर्ताले माओवादीबारे सुराकी गरेर पठाएका पत्र, प्रहरीका महत्वपूर्ण सर्कुलरहरू र प्रहरीलाई उनीहरूको प्रेमिकाले लेखेका प्रेमपत्र पनि फेला परे । सोही दिन साँझ रेडियो नेपालबाट ‘रूकुमकोटमा १० हजार माओवादी आएर ३२ जना प्रहरीलाई कब्जामा लिएर मारेको, २२ जनालाई अपहरण गरेको र त्यसक्रममा भएको भिडन्तमा ११५ जना माओवादीको मृत्यु भएको र सयौं घाइते भएको’ सम्प्रेषण गरियो ।

चैत २१ गते काठमाडौंतर्फ फर्कन बाटो लाग्यौं । प्लाटुन कमिसार कमरेड चिन्तन पनि सँगै नुवागाउ“सम्म आउनुभयो । ठाउ–ठाउको प्रहरी नाकाबन्दीलाई छल्दै २३ गते दाङ आइपुग्यौं । दाङबाट समाचार फ्याक्स गरेपछि मात्रै रात्रिबस समात्यौं । काठमाडौँमा लडाइँको मोर्चामा प्रत्यक्ष रेकर्ड गरेका अडियो प्लेयर डबिङ गरेर केही साथीलाई बाँड्नुका साथै हाम्रा अनुभूति पनि सुनायौं । युद्धमोर्चाको हाम्रो यो प्रत्यक्ष रिपोर्टिङपछि काठमाडाँैमा रहनुभएका सहकर्मीहरू पनि क्रमशः विभिन्न युद्धमोर्चामा रिपोर्टिङका लागि जाने लहर नै चल्यो ।

टिप्पणीहरू