कारबाहीमाथि पुनर्विचार गर्न खेलकुदमन्त्रीको आग्रह

कारबाहीमाथि पुनर्विचार गर्न खेलकुदमन्त्रीको आग्रह

नेपाल क्रिकेट संघ (क्यान) ले अनुशासन उल्लंघन गरेको भन्दै खेलाडीहरुमाथि गरेको कारवाहीमा पुनर्विचार गर्न युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले आग्रह गर्नुभएको छ । बुधबार क्यानले अनुशासन उलंघन गरेको भन्दै कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, तथा खेलाडीहरु सोमपाल कामी र बलर कमलसिंह ऐरीलाई कारबाही गरेको थियो ।

क्यानले गरेको कारबाहीको सर्वत्र चर्चा हुन थालेपछि आजै केही समयअघि प्रधानमन्त्री शेर बहादुर देउवाले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई टेलिफोन सम्पर्क गर्नुभएको थियो । त्यसपछि क्यानका पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले कारबाहीको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गर्नुभएको हो ।

क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै मन्त्री अथकले खेलाडीहरुलाई संरक्षण गर्नुपर्ने बताउनुभएको छ । क्यान र खेलाडीबीच देखिएको समस्या समाधानकालागि उपर्युक्त विधि अपनाउनुपर्ने बताउँदै मन्त्री अथकले खेल क्षेत्रमै आफ्नो ऊर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरिएको कारबाहीले गलत सन्देश प्रवाह भएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो ।

मन्त्रीले आगमी दिनमा हुन गइरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्कालका समस्या समाधान गर्न क्यान अध्यक्ष चतुरबहादुर चन्द सहितका पदाधिकारीहरुलाई निर्देशन समेत दिनुभएको छ ।

टिप्पणीहरू