एमसीसीले अब कता कता हान्ने हो

एमसीसीले अब कता कता हान्ने हो

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन निकै पेचिलो बन्दै गएको सन्दर्भमा अर्को एमसीसी टोली तत्काल नेपाल आउने हल्ला चलाइएको छ । तर सरकारी अधिकारीहरुले यस्तो बेला त्यस्तो सम्भावना नरहेको बताएका छन् । एमसीसी सम्झौताको विषय अहिले विभिन्न रुपमा संसदमा पुगेर अल्झिएको छ । उता अमेरिका भने नेपालको निर्णयलाई कुर्दै ‘पर्ख र हेर’ को रणनीतिमा बसेको देखिन्छ ।

संसदको हिउँदे अधिवेशन तत्काल बोलाइएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी पक्षलाई जसरी पनि यो हिउँदभित्र पारित गर्ने वचन दिनुभएको घटनाक्रमले समेत पुष्टि गर्दै गएको छ । उता वासिँगटनस्थित एमसीसीको मुख्यालयमा अस्ति बसेको बोर्ड बैठकले नेपालको निर्णय मार्च आधाआधीसम्म कुर्ने संकेत दिएको छ । बोर्डको अर्को बैठक आगामी फागुन अन्तमा बोलाइएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले उपलब्ध गराउने ४० अर्ब रुपैयाँ बराबरको निर्ब्याजी ऋण लिने तयारी गरेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

एमसीसी उच्च राजनीतिक महत्वको बिषय बन्दै गएकाले अहिले कतिपय कुरा मन्त्रीहरुलाई समेत थाहा हुँदैन भनिन्छ । विभागीय रुपमा अर्थमन्त्रीलाई समेत यसबारे प्रधानमन्त्रीले जानकारी गराएको विषयभन्दा बढी थाहा नहुने गरेको हो । त्यसैले सचिव र त्योभन्दा मुनिका कर्मचारीहरु बेखबर हुनु कुनै नौलो नै भएन ।

एमसीसी सम्झौता भएदेखि हालसम्म चार वर्षको अवधिमा प्रशासनिक खर्चलगायतका विषयमा ५ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । उक्त रकममध्ये केही नेपाल सरकारको समेत भएको अर्थ मन्त्रालयका अधिकारीहरुले स्वीकारेका छन् ।

अन्तर्राष्ट्रिय दातृ संस्थाहरु विश्व बैंक,अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक,राष्ट्रसंघीय विकास कार्यक्रम सबैजसोमा अमेरिकाको बर्चश्व रहँदै आएको छ । एमसीसी सम्झौता पारित नभएमा ती संस्थाबाट आगामी दिनमा मुुलुकले प्राप्त गर्ने कतिपय अनुदान र ऋणमा समेत प्रत्यक्ष असर पर्ने भएकाले सरकार सतर्क रहन बाध्य भएको पश्चिमा अर्थतन्त्र समर्थित अर्थविद्हरु दाबी गर्छन् ।

यसबीच सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषले उपलब्ध गराउने ४० अर्ब रुपैयाँ बराबरको निर्ब्याजी ऋण लिने तयारी गरेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । सरकारको बजेट सपोर्टमा खर्च गरिने उक्त रकम सरकारले विशेषगरी पुँजीगत क्षेत्रमा नै खर्च गर्नुपर्ने बाध्यकारी व्यवस्था भने देखिन्छ ।

छिमेकी मित्रराष्ट्र र अन्य दातृ राष्ट्रहरुबाट प्राप्त हुने गरेको आर्थिक सहयोगमा विशेषतः कोरोना महामारीको प्रत्यक्ष असर परेको छ । दुईपक्षीय सहयोग आदानप्रदान, भ्रमण र आपसी भेटवार्तामा परेको असरले आर्थिक सहयोगको विगतको अवस्थामा बढोत्तरी हुन नसकेको अवस्था छ ।

टिप्पणीहरू