मुलुकको समृद्धिका आधार मसँग छ : अध्यक्ष नेपाल

मुलुकको समृद्धिका आधार मसँग छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समृद्ध बनाउने पर्याप्त आधारहरू आफूसँग रहेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा बोल्दै उहाँले देशलाई समृद्ध बनाउने पर्याप्त आधारहरू आफूसँग रहेको बताउनुभएको हो ।

मुलुकलाई पिछडिएको अवस्थाबाट समुन्नत बनाउने पर्याप्त सम्भावना रहेको बताउँदै अध्यक्ष नेपालले नागरिकलाई देशभित्र सबै खालका सुविधाहरु दिन सकिने पनि दाबी गर्नुभयो । ‘हामी हाम्रो देश नेपाललाई सुन्दर बनाउन चाहन्छौँ । नेपाली जनतालाई सुखी बनाउन चाहन्छौं ।

हामी प्रत्येक नेपालीको अनुहारमा उज्यालोपना देख्न चाहन्छौं । मधुर मुस्कान देख्न चाहन्छौं । प्रसन्नहृदयी भएको देख्न चाहन्छौं’, उहाँले भन्नुभयो, ‘हामी प्राकृतिक सम्पदामा धनी देश हौं । कृषि, पर्यावरण, वनजंगलको क्षेत्रमा धनी छौं । फलफूलदेखि माछामासुसम्म सबै उपभोग्य वस्तु, शरीरको निम्ति अत्यन्तै पोषक तत्वहरु, हामी हाम्रै देशमा उत्पादन गर्न सक्छौं । हाम्रा नागरिकको आवश्यक्तालाई पूरा गर्न सक्छौं । साथै उत्पादन गरेर विदेशमा निर्यात पनि गर्न सक्छौँ ।’

नेपालको अर्थतन्त्रमा कृषिको अत्यधिक महत्वपूर्ण भूमिका भएकाले कृषिलाई सबैभन्दा बढी प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष नेपालले कृषि पेशामा लाग्दा इज्जत नघट्ने उल्लेख गर्दै सरकारले कृषिलाई बजारसँग जोड्न भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताउनुभयो । सरकारले गुणस्तरलाई हेरेर छिटो र छरितो ढंगले विज्ञान र प्रविधिलाई कृषिमा जोड्नुपर्ने उहाँको भनाइ छ ।

टिप्पणीहरू