३ जना नक्कली नेपालीकाे नागरिकता खोसियो

३ जना नक्कली नेपालीकाे नागरिकता खोसियो

सरकारले तीन जना नक्कली नेपालीकाे नागरिकता रद्ध गरेको छ । हिजोको क्याबिनेट बैठकले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नागरिकता रद्ध गर्ने निर्णय गरेको हो । क्याबिनेटका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता रद्ध गरेर तीनै जनालाई नेपाली नागरिकताबाट हटाउने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै, क्याबिनेट बैठकले राजश्व परामर्श विकास समितिका सदस्य निर्मलहरि अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ । कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने क्याबिनेटको अर्को निर्णय छ ।

त्यसैगरी, विनोदकुमार भट्टराईलाई नेपाल न्याय सेवा कानून समूहको राजपत्रांकित प्रथम श्रेणी र रामप्यारी सुनुवारलाई नेपाल न्याय सेवा न्याय समूहको राजपत्रांकित प्रथम श्रेणीको पदमा बढुवा गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।

क्याबिनेट बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोगको सिफारिसबमोजिम पूर्णप्रसाद पौडेलसहित २९ जनालाई २३ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने, भारतीय सशस्त्र सीमा बलको १८ औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ताले जानकारी दिनुभयो ।

त्यस्तै, १३ वटा स्थानीय तहलाई विभिन्न परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने, लोकसेवा आयोगबाट सिफारिस भइ आएका डा. प्रज्वल श्रेष्ठसहित १० जना उम्मेदवारहरुलाई नेपाल स्वास्थ्य सेवाको ११ औँ तहको पदमा नियुक्ती गर्ने र शिक्षक सेवा आयोग ११ औँ संशोधन नियमावलीलाई स्वीकृत दिने क्याबिनेटको निर्णयमा उल्लेख छ ।

टिप्पणीहरू