सर्वोच्चमा अझै सकस

सर्वोच्चमा अझै सकस

न्यायाधीशदेखि वकिलसम्मको हड्तालले अस्तव्यस्त भएको सर्वोच्च अदालतका न्याय निरुपणसम्बन्धी प्रक्रियागत केही काम–कारवाही श्रीमानहरूको हातबाट प्रशासनको पञ्जामा गएको छ । गोलाप्रथाबाट सजिलोसँग कजलिष्ट त चढिरहेको छ । तर गाह्रो मुद्दा जुन न्यायाधीशलाई पर्छ, त्यहाँबाट निश्कर्षमा जाँदैन । मुद्दा स्थगनको निर्णय पहिला–पहिला न्यायाधीशमा निर्भर थियो ।

तर, अहिले यसलाई व्यवस्थित गर्न तीन वटा समिति बनाइएको छ । खासगरी मुख्य रजिष्ट्रार, रजिष्ट्रारहरूसँग कजलिष्ट ब्रेक गर्ने, न्यायाधीशहरूको चार–पाँच समूह बनाउनेजस्ता जिम्मेवारी निहित हुन पुगेको छ । उनीहरूले नै पूर्ण इजलाशमा को, डिभिजनमा को र कस्तो मुद्दा भन्ने तय गर्छन् । यी काम पहिला प्रधानन्यायाधीशबाटै हुने गथ्र्यो । तर, अहिले न्यायाधीशहरूको समूह बनाउँदा पुराना, नयाँ को–को पर्छन् भन्ने थाहा हुनै छाडेको छ ।

चोलेन्द्रसमशेर राणा दिनैपिच्छे सर्वोच्च गइरहनुभएको छ । तर, अरु न्यायाधीशसँग भेट हुँदैन । उहाँसँग पाँच–६ जना न्यायाधीश अलिक बढी असन्तुष्ट छन् । बाँकी भने भेट्दै नभेट्ने, बोल्दै नबोल्ने तहमा पुगेका छैनन् । न्यायाधीशहरूले हाजिर गर्ने ठाउँ प्रधानन्यायाधीशको चेम्बरमै छ । तर आजकल त्यहाँ कोही जाँदैन । चिया खाने अलग्गै ठाउँ छ । पहिला प्रधानन्यायाधीश पनि चिया पिउन त्यहीँ जाने गर्नुहुन्थ्यो । तर, कोभिड संक्रमण बढेपछि त्यो क्रम टुटेको छ ।

न्यायाधीशहरू फुलकोर्टमा भएको दिन अदालतले नै खाजा खुवाउँथ्यो । तर, अरु बेला कसैले घरबाटै लैजान्छन् । कसैले त्यहीँको खाजा किनेर खाने गरेका छन् । सर्वोच्च अगाडि वकिलहरूको नाराबाजी जारी छ । त्यसो गर्दा १ र २ नम्बर बेञ्चमा रहने न्यायाधीशहरू दिपक कार्की र मीरा खड्काको कारवाहीमा बाधा पुग्ने गरेको छ ।

सर्वोच्चमा गोलाप्रथा लागु भएपछि न्यायाधीशहरू समयमै पुग्ने गरेका छन् । यदि कोही पुग्न ढिलो भएमा साथीलाई आफ्नो गोला तानिदिनु भन्ने गरिएको छ । बेञ्चहरू कसैको साढे ११, कसैको १२ बजे शुरु हुने गरेको छ ।
उता, गोलाप्रथाको विषयलाई लिएर सिरहालगायत तराईका केही जिल्ला अदालत पनि केही दिन यता तात्तिएको छ ।

टिप्पणीहरू