अनि प्रधानमन्त्रीबाट यसरी खुस्काइयो उहाँलाई

अनि प्रधानमन्त्रीबाट यसरी खुस्काइयो उहाँलाई

नेताका झगडा पनि अचम्म–अचम्मका ! भदौ ८ मा माधव नेपाल–झलनाथ खनालहरूले केपी ओलीसँग सम्बन्ध बिच्छेद गर्दै नयाँ पार्टी गठन गर्नुभन्दा केही वर्ष पहिले झलनाथका विरुद्ध भएको एउटा झगडाको विवरण जनआस्थालाई स्वतन्त्र वामपन्थी नेता वामदेव गौतमबाट प्राप्त भएको छ ।

झलनाथ प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँलाई हटाउन केपी ओलीमात्रै हैन, माधव नेपाल र ईश्वर पोखरेलसम्मका बोली र लोली मिल्थ्यो । वामदेव एक्लैले लडेर झलनाथलाई बचाउनुपथ्र्यो । झलनाथचाहिँ वामेदवले आफ्नालागि लडेको, बोलेको कुरा नबुझ्ने ! अनि, आफूलाई कारवाही गर्ने एजेण्डासहित बस्न खोजिएको बैठक आफैँ बोलाइदिने  २०६७ माघ २३ देखि ०६८ भदौ ११ गतेसम्म नेपालको प्रधानमन्त्रीका रुपमा झलनाथ खनाल रहनुभयो ।

यो करिव ७ महिनासम्मको प्रधानमन्त्री पद झलनाथका निम्ति कति कष्टदायक थियो भने, दिनदिनै हटाउनका लागि आफ्नै साथीहरू अनेक खेलका साथ जुटिरहने ! त्यसअघि २०६५ फागुनमा बुटवलमा सम्पन्न एमालेको आठौँ महाधिवेशनको गठबन्धनअनुसार माधव नेपालको सहयोगमा केपी ओली अध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो । तर, जितचाहिँ झलनाथलाई हात लाग्यो । त्यो गठबन्धनले झलनाथ प्रधानमन्त्री हुँदासम्म उहाँलाई सताइरह्यो ।

झलनाथ पार्टी अध्यक्षसहितको प्रधानमन्त्री हुनुभएपछि उहाँलाई हटाउनका लागि त्यही प्यानलबाट जितेका ईश्वर पोखरेल पटक पटक माइन्युटमा लेख्ने ड्राफ्ट बोकेर बैठकमा जान थाल्नुभयो । त्यो कमिटीको महासचिव नै ईश्वर । उहाँहरूले प्रधानमन्त्रीबाट झलनाथलाई हटाउने निर्णय केन्द्रीय कमिटी बैठकबाटै गराउने गरी ड्राफ्ट तयार पार्नुभयो । त्यसअघि स्थायी कमिटीको बैठकमा प्रस्ताव आयो । आफूविरुद्ध आक्रमण भइरहँदा त्यसको प्रतिवाद गरिन्छ । तर, त्यत्रो हुँदा पनि झलनाथ केही नबोली बस्ने गर्नुहुन्थ्यो । अनि, उपाध्यक्ष वामदेव पड्किनुहुन्थ्यो, ‘लौ हेरौँ त, कसरी हटाउनुहुन्छ ?’

एक दिन माधव, केपी, ईश्वरहरू झलनाथलाई हटाउने तम्तयारीका साथ एउटा बैठकमा पुग्नुभयो । त्यस्तो तयारी पहिल्यै बुझेर वामदेवले झलनाथलाई बैठक नबोलाउन भन्नुभएको थियो । तर, उहाँले बोलाइदिनुभयो । त्यो बैठकमा शुरुदेखि नै चर्काचर्की प¥यो । केपीले माइन्युट नै लेख्न खोज्नुभयो । वामदेवले कराउनुभयो, ‘लौ, लेख त लेख !’ केपीले भन्नुभयो, ‘म लेखिहाल्छु नि ! तपाईंले के गर्नुहुन्छ ?’ वामदेवले भन्नुभयो, ‘तपाईंले त्यो माइन्युट लेख्नुभयो भने म थुत्छु, च्यात्छु, अनि आगो लगाएर जलाइदिन्छु !’ यति भनेपछि केपीले माइन्युट लेख्ने जिद्धी छोड्नुभयो ।

त्यो बैठक अझै बस्दा वा लम्बिँदा झलनाथलाई झनै अप्ठेरो होला भनेर वामदेवले भन्नुभयो, ‘यो बैठक–सैठक होइन । कुनै एजेण्डा पनि पेश भएको छैन । यो भेटघाट हो, अब सकियो ।’ यति भनेपछि झलनाथले ‘लौ अब उठौँ’ भन्नुहोला भन्ने अपेक्षा थियो । तर, झलनाथचाहिँ वामदेवतिर ट्वाल्ल परेर हेर्दै ‘के रे ?’ भन्न थाल्नुभयो । वामदेवले झलनाथतिर हेरेर भन्नुभयो, ‘अध्यक्ष कमरेड, तपाईंले सुन्नुभएन कि क्या हो ? अब बैठक सकियो भन्नुस्, हामी जान्छौँ !’ बल्ल झलनाथले कुरा बुझ्नुभएछ र भन्नुभयो, ‘ए, अँ–अंँ, बैठक त सकियो !’

यसरी जहिल्यै झगडा ग¥यो, पाखुरा सुर्कियो । त्यति गर्दा पनि झलनाथले कुरा नबुझ्ने भएपछि वामदेवले अर्को पहल गर्नुभयो, समझदारीको । विष्णु पौडेलसँग मिलेर वामदेव केपी फकाउनतिर लाग्नुभयो । घनश्याम भुसाललाई लगाएर माधव नेपाल फकाउने काम तोकियो । केपीलाई वामदेवले जसोतसो मनाइसक्नुभएको थियो । तर, माधवले मान्नुभएन । त्यसपछि वामदेव र विष्णु पौडेल मिलेर १२ बुँदे समझदारी भयो ।

अनि, माधव र ईश्वर कराउन थाल्नुभयो, ‘पार्टीभित्रै सम्झौता ? यस्तो पनि कहीँ हुन्छ ?’ वामदेवले यस्तो विरोधका बाबजुद पनि त्यो १२ बुँदे समझदारीलाई अन्तर पार्टी निर्देशन (अपानि) मा हालेर देशभरका पार्टी कमिटीमा पठाउनुभयो । तर, फेरि पनि माधव र ईश्वरहरूले मान्नुभएन ।

जे–जति गरे पनि माधव–केपीहरूले झलनाथलाई नछाड्ने भएपछि वामदेवले प्रस्ताव गरेर राजीनामा दिने कुरा ल्याउनुभयो । घनश्यामले सम्बोधन लेखिदिनुभयो । र, ‘राष्ट्रिय सहमतिको संयुक्त सरकार गठन गरी शान्ति र संविधान निर्माणको कार्य सम्पन्न गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यसहित’ उहाँले राजीनामा घोषणा गर्नुभयो ।

टिप्पणीहरू