कठै, तिम्रो यो हविगत रामचन्द्र कमरेड !

कठै, तिम्रो यो हविगत रामचन्द्र कमरेड !

‘पार्टी कमिटीको संगठित जिम्मेवारीबाट बिदा लिने दिन पनि आएछ ! सबको जय होस्’ अदालतले खारेज गर्नुअघि केन्द्रीय सदस्यमा नियुक्त भएका मेरा अनन्य मित्र रामचन्द्र राईले फेसबुकमा लेखेको स्ट्याटस हो यो । महाधिवेशन हलभित्र पस्नुअघिसम्म पनि यिनले आफू एमालेको अब्बल कार्यकर्ता भएको नाताले के.स. हुने ठूलो आस राखेका थिए ।

तर, उनी केस हुन सकेनन् । मनोनीत भएर पनि केस बन्न सकिने भएकाले महाधिवेशनमा केही नबोली केन्द्रीय कमिटीको बैठकलाई कुरेर बसे केकको बैठकबाट कतै मनोनीतमा परिन्छ कि भनेर । तर, जब केकको बैठकमा पनि नाम प्रस्तावित भएन र आफू नपर्ने पक्का भयो त्यसपछि भने असलियत थाहा पाए र माथिको स्ट्याटस लेखे । उनी अहिले वडादेखि केन्द्रसम्म पार्टीको कुनै कमिटीमा छैनन् । चितवनका कृष्णभक्त पोखरेल पनि कम्तीमा केस त भइन्छ भनेर ढुक्क थिए राईजस्तै । तर, उनी पनि राईजस्तै न महाधिवेशनबाट, न मनोनीतबाटै केस हुन सके । यिनले कस्तो स्ट्याटस लेख्लान् कुन्नि, वा नलेख्लान् पनि ?

नाम र तिनको भोगाइ एमाले राजनीतिको आजको यथार्थ हो । राई मेरो ०३८ सालदेखिको साथी हो । मण्डलेसँग कैयौं फाइट राई र मैले सँगै खेलेका थियौं हेटौंडामा । यिनको दाँत भाँचेनन् कि मण्डलेले, नाक फुटालेनन् कि, च्यापु फुस्काएनन् कि ! तर, यिनी कहिल्यै बिचलित भएनन्, थाकेनन् र डराएनन् पनि । निरन्तर भिडिरहे र आजसम्म लागिरहेका छन् एमाले भनेर ।

तर, आज यिनै राई पार्टीको कुनै पनि कमिटीमा अटाउन सकेनन् र यिनमा चिन्ता थपिएको छ अब कसरी पार्टीमा छु भन्ने र काम गर्ने भनेर । तर, ६ करोडको गाडीमा सयर गराउने मान्छे अचम्मै पार्ने गरेर केसमा प्रस्तावित भएका छन् । यस्तो देख्दा एमालेको निम्ति ज्यान दिने राई र उनीजस्ताको मन कस्तो भएको होला कुन्नि तर मेरो मन भने झन् कठोर भएको छ । राजनीतिलाई सुधार्नु छ भने घोसेमुन्टो लाउने प्रवृत्तिलाई त्याग्नै पर्छ ।

जब सामूहिकताबाट हटेर एकल नेतृत्व र निर्णय गर्ने तहमा झर्छ भने मान्नुपर्ने हुन्छ त्यो दलको राजनीतिक यात्रा ओरालोतर्फ नै हुने हो । आठौं महाधिवेशनसम्म एमालेको यात्रालाई हेरौं र नवौं हुँदै दशौंसम्मको यात्रालाई हेरौं । यी पछिल्ला दुवै अवस्था सामूहिकतालाई नमान्दाको परिणाम हो । एकल निर्णयको आधारमा नेतृत्व छान्ने चलन चलाउँदा चुनावको प्रचार कस्तो भयो भने फलाना–फलाना राम्रा क्रान्तिकारी हुन् त्यसकारण ती–तीलाई जिताउन भोट दिनुहोस् भनेर होइन कि यी–यी मान्छेलाई भोट नदिनुस् भन्न लगाइयो । लोकतान्त्रिक अभ्यासको योभन्दा भद्दा मजाक कम्युनिष्ट पार्टीको महाधिवेशनमा अरू हुनै सक्दैन ।

अहिले पनि केस, पोलिटब्युरो तथा स्थायी कमिटीमा मान्छे मनोनीत भए तर ती सबै एकैजनाको इच्छाअनुसार भए । कसैसँग छलफल, सल्लाह र राय लिने कामसमेत भएन । यस्तो भएपछि आठ कक्षा पढ्दादेखिबाट मण्डलेसँग निरन्तर फाइट खेल्दै आइरहेको मेरो साथी राई केसमा पर्न सक्ने कुरा भएन । यस्तो हुँदा दुर्गा प्रसाईंहरू नै केस हुने हो, भए । यहाँ स्मरणीय वा मनन गर्नैपर्ने के छ भने राई र कृष्णभक्तहरू दुःखी र प्रसाईंहरू खुशी भएर एमाले ‘एमाले’ बन्दै बन्दैन । एमाले बन्न राईहरूजस्ता नै, मण्डलेका कुटाइ खाएकाहरू नै खुशी हुनुपर्छ ।

एमालेको अहिलेको अवस्था धेरै नाजुक छ । जब चुनावको घोषणा हुनेछ र मान्छेले टिकट पाउने छैनन् त्यसपछि अवस्था कुन हदको नाजुक रहेछ भनेर ठ्याक्कै थाहा लाग्नेछ । महाधिवेशन सकेर मान्छेहरू गाउँ फर्किसकेका छन् तर गाउँघरमा अवस्था मलामी गएर घर फर्किएको तर नुहाएर चोखो भइनसकेको मान्छेको जस्तो छ । कसैसँग छोइन, बोल्न नहुने । को कसको मान्छे हो र को कसको मान्छे होइन भनेर छुट्ट्याउनै मुश्किल । योसँग बोले उसले शंकाले हेर्छ, ऊसँग बोले यसले शंकाले हेर्छ । यस्तो अवस्थाको परिणाम चुनावमा देखिनेछ । म हुँदैन भने तँ पनि किन हुने? यस्तो अवस्था सामूहिकतामा नजाने हो भने अझै मौलाएर जानेछ ।

अष्टलक्ष्मी, युवराज र पृथ्वीसुब्बा कमरेडहरूले मात्रै होइन अरु धेरैले यस्तो प्रवृत्तिको विरोध गर्नुपर्छ । योगेश वा गोकर्णले जस्तो सिनियरिटी मिले ठीक, नमिले बेठीक भन्ने रकमी तरिका अपनाउनु प्रकारान्तरले सामूहिकता आवश्यक छैन भनेकै हो । पार्टीको कमिटी भनेको केवल टाउकाहरूको जोड त पक्कै होइन होला । कमिटीमा रहने मान्छे कम्तीमा पनि स्वाभिमानी त हुनै पर्ने होला जसमा यो कुरा ठीक हो र यो बेठीक हो भनेर छुट्ट्याउने ल्याकत र भन्ने साहस होस् । सूर्य थापा वा विशाल भट्टराईले अध्यक्ष कमरेडले प्रस्ताव गर्ने कुनै पनि विषयमा फरक मत राख्ने हैसियत र हिम्मत दुबै राख्दैनन्, यो मेरो दावा हो ।

हेर्दाहेर्दै कस्तो अवस्थामा हामी आइपुगेछौं भने अध्यक्ष कमरेडलाई सल्लाहसमेत दिन नसक्ने भएछौं । यसमा भन्नुपर्ने कुरा के छ भने विचारधाराको त कुरै छाडौं मान्छेले आफू काउन्ट हुन छाडेको अनुभूति गर्नेबित्तिकै ऊ त्यहाँ रहन चाहन्न र रहन सक्दैन पनि । ढिलो–चाँडो ऊ त्यहाँबाट बाहिन्छ र नयाँ ठाउँ खोज्छ । यही अवस्था निरन्तर रहिरहने हो भने काउण्टमा नपर्नेहरू विकल्प खोज्न बाध्य हुनेछन् र यहाँ विकल्प भेट्न धेरै कठिन पनि छैन । अरू त के नै भन्न सकिन्छ र ए ए ए लौजा भन्नेबाहेक ?

टिप्पणीहरू