प्रचण्डको ध्यानाकर्षणलगत्तै प्रधानमन्त्रीको फोन
नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीहरुलाई कारबाही गरेको विषय अहिले सर्वत्र चासो बनेको छ । बुधबार क्यानले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी तथा खेलाडीहरु सोमपाल कामी र बलर कमलसिंह ऐरीलाई अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।
क्यानले खेलाडीहरुलाई कारबाही गरेको विषय चर्किंदै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको कानसम्म पुगेको छ । आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्यानले खेलाडीहरुलाई कारबाही गरेको विषयमा असहमति जनाउँदै प्रधानमन्त्री निवास बालुवाटार पुगेर ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रचण्डले ध्यानाकर्षण गराएलगत्तै प्रधानमन्त्री देउवाले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई टेलिफोन सम्पर्क गर्नुभएको छ । प्रधानमन्त्री देउवाले चन्दलाई खेलाडीलाई कारबाही गरेको विषय के हो ? भनेर प्रश्न गर्नुभएको हो ।
प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भनिएको छ, ‘क्यानमा के गरेको हो यो ? प्रचण्डजीले पनि यसमा चासो राख्नुभएको छ, मिलाउनुस् है ।’
टिप्पणीहरू