सभापतिमा हारेका कोइरालाले घरदैलो गर्ने

सभापतिमा हारेका कोइरालाले घरदैलो गर्ने

सभापतिमा पराजित नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेसलाई अझै परिर्वनको बाटोमा लैजान घरदैलो अभियान सञ्चालन गर्ने बताएका छन् । पार्टीलाई निरन्तर सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न आफू जागृत रहने भन्दै उनले घरदैलो अभियान चलाउने बताएका हुन् ।

आज एक विज्ञप्ति सार्वजनिक गर्दै कोइरालाले पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान विपरीत हुने निर्णयविरूद्ध आफूले लडाईं लडेको पनि बताए । साथै उनले महाधिवेशन प्रतिनिधिबाट प्राप्त ४० प्रतिशत मतले भावविभोर भएको भन्दै धन्यवाद दिएका छन् । यसले पार्टीप्रतिको आफ्नो जिम्मेवारी थप बढेको महशुस भएको उनको भनाइ छ ।

आफू वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र प्रतिस्पर्धा नगरेर पार्टीभित्र हुर्केको अराजनीतिक प्रवृति र गलत संस्कारको विरुद्ध लडेको उनको दाबी छ ।

‘हामी वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र प्रतिस्पर्धा गरिरहेका थिएनौं । पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृत्ति, गलत संस्कृति र संस्कारविरूद्ध लडिरहेका थियौं,’ कोइरालाले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नको लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग ऊर्जावान युवाहरूको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामीविरूद्ध भयो, तर पनि हामी लड्यौं र राजनीति जित्यौं ।’

काँग्रेसको १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरे पनि कोइराला पराजित भएका थिए । उनले आफू हारे पनि लोकतन्त्रवादीहरूको मन जित्न सफल भएको समेत बताएका छन् ।

टिप्पणीहरू