मिस वर्ल्डका सुन्दरीहरु नै संक्रमित, ताज नपहिर्याउँदै घर फर्काउने तयारी

मिस वर्ल्डका सुन्दरीहरु नै संक्रमित, ताज नपहिर्याउँदै घर फर्काउने तयारी

प्रतियोगीहरुमा नै कोरोना संक्रमण देखिएपछि मिस वर्ल्ड २०२१ स्थगित भएको छ । कार्यक्रमका आयोजक, प्रतियोगी र केही कर्मचारीमा संक्रमण देखिएकाले पूर्वनिर्धारित प्रतियोगिता रोकिएको हो ।

कोरोनाका कारण प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गर्नुपरेको आयोजकले जानकारी गराएको छ । अवस्था सामान्य भएमा प्रतियोगिता तीन महिनापछि मात्र पुनः सञ्चालन गरिने जानकारी दिइएको छ ।

यस पटकको प्रतियोगिता अमेरिका नजिकैको पुएर्टोरिको टापुमा आयोजना गर्ने तयारी गरिएको थियो । यसका लागि विश्वका सुन्दरीहरु केही हप्तादेखि आवश्यक तयारीमा जुटिसकेका थिए ।

प्रतियोगितामा सहभागीमध्ये १७ प्रतिस्पर्धीमा कोरोना पोजिटिभ देखिएको छ । जसमा भारतीय सुन्दरी मनासा पनि संक्रमित भएकी छन् । आयोजकका अनुसार संक्रमितमध्ये सातजना आइसोलेसनमा छन् । अन्यका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाइएको छ । यसबाट प्रतियोगितास्थल र प्रतियोगीहरुमा कोरोना संक्रमण थामिनेमा आयोजक संस्था विश्वस्त देखिएको हो ।

प्रतियोगितामा भाग लिन नेपालबाट मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ पनि त्यहाँ पुगिसकेकी छन् । अब आयोजकले सबै प्रतियोगीहरुको कोरोना परीक्षण गरेर उनीहरुलाई स्वदेश देश फर्काउने तयारी गरेको छ ।

टिप्पणीहरू