दुर्घटना बढ्यो,हेल्मेट लगाउन किन हेलचेक्र्याई ?

दुर्घटना बढ्यो,हेल्मेट लगाउन किन हेलचेक्र्याई ?

केही वर्षयता दुई पाङ्ग्रे सवारी साधनको दुर्घटना बढ्दो छ । यस्ता सवारी साधन दुर्घटनामा परेर वर्षेनी सयौंले अकालमा ज्यान गुमाउने गरेको सरकारी तथ्याङ्क छ । प्रहरीको विवरणअनुसार तीन वर्षमा सबैभन्दा धेरै दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेको छ ।

आर्थिक वर्ष २०७५ /७६ मा आठ हजार पाँच सय ५३ दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा पर्दा २०७६/७७ मा १० हजार आठ सय ६९ मोटरसाइकल र स्कुटर समस्यामा परेका थिए । २०७७/७८ मा १७ हजार ८१ वटा दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेको तथ्याङ्क छ । पछिल्लो समय मोटरसाइकलमा परेर मानवीय क्षति भएका थुप्रै घटना छन् ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार कोरोना महामारी र निषेधाज्ञा हुँदा पनि दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा कुनै कमी आएको छैन । अहिले पनि दैनिक १० देखि १२ को हाराहारीमा सवारी साधन दुर्घटना भइरहेको छ । दुई पाङ्ग्रे दुर्घटनालाई मध्यनजर गर्दै यातायात ऐन,०४९ लाई संशोधन गरिएको थियो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को संशोधन २०७५ मा दुई पाङ्ग्रे सवारी साधन चलाउने र पछाडि बस्नेलाई अनिवार्य हेलमेट लगाउनुपर्ने नियम उल्लेख छ ।

“हेलमेट किन्दा भएको खर्चभन्दा सम्भावित दुर्घटनापछि हुने हजारौं गुणा महँगो औषधोपचारतर्फ धेरैको ध्यान गएको पाईंदैन ।”

तर यो नियम प्रभावकारी रुपमा कार्यान्वयन भएको छैन । दुर्घटना हुँदा टाउकोमा चोटको जोखिम कम होस् भनेर हेल्मेटको मापदण्ड तय गरिएको हो । निश्चित मापदण्ड तोकिएको हेलमेटको प्रयोगमा जोडसमेत दिइएको थियो । तर, कसैको पनि एकमत हुन नसकेपछि उक्त व्यवस्था कार्यान्वयनमा नआएको हो । नेपालमा हेल्मेटलाई सुरक्षाभन्दा पनि व्यापारिक दृष्टिकोणले हेरिएकाले यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको यातायात व्यवस्था कार्यालय स्रोतले बताएको छ ।

सुरक्षाको निम्ति हेल्मेटलाई निकै महत्वमा राखिएको हो । तर, हाम्रो समाजमा यसलाई बेवास्ता गरिएको विज्ञहरु बताउँछन् । दुर्घटनामा परी मृत्यु हुनेभन्दा पनि अंगभंग हुने धेरै देखिएका छन् । यसबाट दुर्घटनामा पर्नेलाई मात्र होइन राज्यले समेत ठूलो आर्थिक र मानव स्रोतको क्षति व्यहोर्नुपरेको छ । यातायात ऐनले २०४९ सालमै व्यवस्था गरे पनि अधिकांशले यो नियमलाई झमेला मान्ने गरेका छन् ।

२०६२ सालका स्वास्थ्यमन्त्री उपेन्द्र देवकोटाको पहलमा मोटरसाइकल र स्कुटर पछाडि बस्नेले हेलमेट लगाउन अनिवार्य नियम लागु भएको थियो । दुर्घटना हुँदा पछाडि बस्नेलाई बढी जोखिम हुने गरेको भन्दै त्यतिबेला उक्त निर्णय गरिएको थियो ।

२०४९ को नियम संशोधन गरेको करिब तीन वर्ष नाघिसक्यो । तर, ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता शर्मा दासले आफूलाई यसबारे कुनै पत्तो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो यातायात क्षेत्रको काम हो, हामीलाई यसबारे केही थाहा हुँदैन ।’

नेपालमा हेल्मेटलाई सुरक्षाभन्दा पनि व्यवसायीको व्यापार बढाउन गरिएको निर्णय भन्ने गरिएको छ । तर हेलमेट किन्दा भएको खर्चभन्दा सम्भावित दुर्घटनापछि हुने हजारौं गुणा महँगो औषधोपचारतर्फ धेरैको ध्यान गएको पाईंदैन ।

टिप्पणीहरू