ओली पक्षका नेताद्वारा बैठक बहिष्कार

ओली पक्षका नेताद्वारा बैठक बहिष्कार

नेकपा एमाले मोरङको जिल्ला कमिटी बैठक ओली पक्षकै नेताहरूले बहिष्कार गरेका छन् । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा बसेको जिल्ला कमिटी बैठक पदाधिकारीमा कुरा नमिलेपछि प्रदेश कमिटी सदस्यदेखि जिल्ला कमिटी सदस्यसम्मले बहिष्कार गरेका हुन् ।

जिल्ला कमिटी सचिवका आकांक्षी रविन थापा र उपसचिवका आकांक्षी सन्तोष बान्तवा तथा प्रदेश कमिटी सदस्य परशुराम बस्नेतले बैठक बहिष्कार गरेका हुन् । यस्तै, जिल्ला कमिटी सदस्य सन्तोष बान्तवाले नेतृत्वको २२ दिनका लागि पदाधिकारी चयन गर्ने तयारीप्रति असन्तुष्टि जनाएका छन् ।

बैठक बहिष्कार गरेर हिँडेका प्रदेश कमिटी सदस्य परशुराम बस्नेतले जिल्लामा एमालेभित्र सच्चा राजनीति गर्नेलाई पाखा लगाउन खोजिएको बताएका छन् । उनले आगामी आइतबार छुट्टै जिल्ला कमिटीको भेला आयोजना गर्ने समेत बताएका छन् ।

यता, जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोखरेलले भने बैठक बहिष्कार गरेको विषयमा आफूलाई जानकारी नभएको बताए । उनले बैठकले पार्टी जिल्ला अधिवेशन मूल आयोजक कमिटी बनाएको उल्लेख गरेका छन् ।

टिप्पणीहरू