लुटको धनमा पाथीभरातिर हरर « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

लुटको धनमा पाथीभरातिर हरर

प्रकाशित मिति :  १ पुष २०७८, बिहीबार २१:३०


नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका केही सदस्यले सरकारी रकम दुरुपयोग गरेको पाइएको छ । राजनीतिक शक्ति केन्द्रको आडमा अख्तियारको चरम दुरुपयोग गरेको आरोप खेपिरहेका उनीहरूले प्राधिकरणमा ‘लुटतन्त्र’ मच्चाएको सम्बद्ध स्रोतले बताएको छ ।

त्यहाँ ऊर्जामन्त्रीको अध्यक्षतामा ८ सदस्यीय सञ्चालक समिति हुन्छ । कार्यकारी निर्देशक समितिको सदस्य सचिव हुन्छन् । त्यस्तै, ऊर्जा र अर्थ मन्त्रालयका सचिव सदस्य रहन्छन् । विद्युत् उपभोक्तामध्येबाट आएका एक, उद्योग वाणिज्यबाट एक र दुई जना विज्ञका रूपमा हुन्छन् । अहिले विज्ञ सदस्य कपिल आचार्य र राजेन्द्रबहादुर क्षेत्री छन् भने उपभोक्ताबाट भक्तबहादुर पुन र उद्योग वाणिज्यतर्फबाट विश्वप्रसाद गौतमलाई राखिएको छ । राजनीतिक पहुँच र प्रभावका आधारमा प्राधिकरणमा छिरेका यिनै चार भाइ सरकारी स्रोत दोहनमा लागेको आरोप छ । पुन र गौतमको बोर्ड सदस्यका रुपमा यो दोस्रो कार्यकाल हो । त्यसो त, बोर्ड विद्युत्सम्बन्धी नीतिगत निर्णय गर्ने थलो हो । बैठकमा भाग लिने र ऐन तथा नियमावलीका सन्दर्भमा हुने निर्णय प्रक्रियामा सहभागिता जनाउनेबाहेक सदस्यहरूलाई अन्य भूमिका हुँदैन । तिनको नियमित पारिश्रमिक पनि तोकिएको छैन । उनीहरूले बैठक बसेको दिनको भत्ता पाउँछन् भने आतेजाते त्यही एक दिनका लागि सवारी साधन उपलब्ध गराइएको हुन्छ ।

तर, प्राधिकरणका बोर्ड सदस्यहरूको हकमा यस्तो नियम लागू भएको छैन । नियमविपरीत सेवा सुविधा लिइरहेका उनीहरूले नियुक्ति, सरुवा, बढुवामा समेत हस्तक्षेप गर्ने गरेको प्राधिकरण स्रोतको दाबी छ । बताइएअनुसार उनीहरूले गुटबन्दी सिर्जना गरेर आफूले चाहेजस्तै गराउन अनेक भाँजो हाल्ने गरेका छन् । त्यति मात्र होइन, सरकारी खर्चमा मस्त घुम्न पाइने भएकाले प्राधिकरणका भ्रमणमा समेत यिनै चार भाइको एकलौटी चल्ने गरेको बताइन्छ । गत साता डीपीआर नै नभएको अपर अरुणको अनुगमन भन्दै उनीहरू हेलिकप्टर लिएर त्यता गएका थिए । डीपीआर नै नभएको आयोजनाको के अनुगमन हुन्थ्यो र ! त्यही मेसोमा उनीहरू सरकारी पैसामा पाथीभरा दर्शन गरेर फर्किए । त्यस्तै, तिहारको लक्ष्मीपूजाको दिन प्राधिकरणको लाखौँ खर्च गरेर उनीहरूले चन्द्रागिरीमा दारु पार्टी गरेको समेत जानकार स्रोतले बताएको छ ।

स्रोतका अनुसार माथिल्लो राजनीतिक पहुँच बनाएका उनीहरूले ऊर्जामन्त्री पम्फा भुसाल र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई समेत छायाँमा पारेका छन् । सरकारी स्रोतको चरम दोहन हुँदा पनि उनीहरूमाथि कसैले औँलो उठाउन नसक्नुमा राजनीतिक प्रभाव नै मुख्य कारण मानिएको छ । रमाइलो पक्षचाहिँ, ऊर्जामन्त्री भुसाल माओवादी केन्द्रको प्रभावशाली नेत्री हुन् । १८ घण्टे लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङलाई पनि माओवादीकै जोडबलमा दोहो¥याएर प्राधिकरणमा ल्याइएको हो ।

तर, अहिले भुसाल र घिसिङलाई अटेर गरेर प्राधिकरणमा ‘समानान्तर सत्ता’ चलाउन खोज्ने बोर्ड सदस्य माओवादीकै मन्त्रीको पालामा नियुक्त भएका हुन् । उनीहरूले तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनबाट नियुक्ति पाएको बताइएको छ । बुझिएअनुसार आफ्नो अधिकार क्षेत्रबाहिर गएर सरकारी स्रोतको हिनामिना गरेको भन्दै चारै जनाविरुद्ध अख्तियारमा गुनासो पुगिसकेको छ ।

– उमाकान्त रेग्मी, बिजुलीबजार


प्रतिक्रिया दिनुहोस !