किनाराका साक्षी हामी पत्रकार

किनाराका साक्षी हामी पत्रकार

– गोविन्द भट्टराई

न्यायपालिकासमेत राजनीतिले गिजोलेपछि सार्वभौम नेपाली भनेर नाकको पोरा फुलाउने अवस्था अब रहेन । कार्यपालिका र व्यवस्थापिका त राजनीतिको मुहान नै भए । गाउँ–शहरका हरेक घरभित्रै दलका एजेण्ट, श्रीमान्–श्रीमतीबीच वैचारिक मतभेद, दाजुभाइ–दिदीबहिनीबीच राजनीतिका नाममा बोली बाराबार नेपाली समाजको विशेषता बन्न पुगेको छ । राजनीति विशुद्ध समाज सेवा होइन केही पाउनका लागि गर्नुपर्छ भन्ने सन्देश दलका नेता–कार्यकर्ताको व्यवहारले नेपाली समुदायमा फैलँदो छ । कुनै पार्टी फुट्दा त्यसको असर बुद्धिजीवी र पत्रकारजस्ता सचेत वर्गमा पर्नु आफैँमा अनौठो सवाल बनेको छ ।

विगतमा एकअर्कालाई देखिनसहनेहरू लपक्कै बनेका छन्, हिजो अँगालो हालेर हिंडेकाहरूबीच पानी बाराबारको अवस्था राजनीतिका कारण देखिएको छ । आफूलाई मन परेको नेताको पछि नलागेर स्वतन्त्र बस्न चाहनेहरूलाई समेत उभयलिंगीको उपमा दिन वरिष्ठहरू पछि पर्दैनन् । आफूलाई ठीक लागेको कुरा अरूलाई बेठीक लाग्न सक्छ भन्ने हेक्का नभएर हो वा ठुल्दाइ प्रवृत्तिका कारण हो नेपाली समाजमा निर्देश गर्नेहरूको संख्या हरक्षेत्रमा बढ्दो छ । अरुलाई सामन्त भन्नेहरू आफूले सबैलाई दास बनेको देख्न चाहँदा रहेछन् ।

दुःख लाग्छ, ०४६ सालमा संगठित सदस्य बन्दा कमाउन विदेशमा रमाएकाहरूले राजनीति यस्तो हुनुपर्छ भनेर नैतिकताको पाठ पढाएको देख्दा ! २०४३ देखि छापा पत्रकारिता शुरु गरेको व्यक्ति आठ–दश वर्षपछि पत्रकारिता थालेकाबाट पत्रकारिताको पुराण सुन्न विवश छ । कपी–पेस्ट पत्रकारितालाई पौरख ठान्ने युवापुस्ताले जनप्रतिनिधि र नेताको दोहोलो काढेको देख्दा कठै भन्न मन लाग्छ । माउखाने (मलसाँप्रे) प्रवृत्ति हरेक पेशा र क्षेत्रमा मौलाउँदो छ । यो सबैको जड नेपाली नेताले हुर्काएको राजनीति हो । हामी पत्रकार हौँ भन्नेले समेत नेताका कुतर्कमा ताली ठोक्न पाउँदा मख्ख छौँ ।

गाउँमा मेलापर्म गर्नुपर्दा कुन दलको वा कस्तो विचारको मान्छे हो भनी केलाएर साथ दिने वा नदिने निक्र्याेल गर्ने प्रचलन कसले हुर्कायो ? बिहेका लागि वरवधू छान्दासमेत योग्यता हेर्न छाडेर दल र विचारलाई प्रोत्साहन दिन थालिएको छ । अस्पताल लानुपर्दा वा मरेर घाट लानुपर्दा कात्रो किन्न छाडेर झण्डा खोज्न दगुर्ने प्रवृत्ति अब प्रथाकै रूपमा हुर्केको छ । प्रतिभालाई दलको झण्डाले कलंकित तुल्याएर कुन सभ्यताको विकास गर्दै छन् नेपाली दल ? समाजले किन दास प्रवृत्तिलाई प्रोत्साहित गरेको छ ? कसले सोधखोज गर्ने ?

गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको कांग्रेसबाट बाहिरिँदा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई अपमान गर्नेहरूबाटै कालान्तरमा देउवा सम्मानित भए । कारण राम्रो कामले होइन आफ्नो कित्तामा पुनः प्रवेश गर्नाले हो । एमालेबाट फुटेर माले जन्माउँदा घृणित वामदेव एमालेमा फर्केकै कारण शुद्ध भए । अहिले कित्ताकाटाकाट हुँदा चलेको केपी ओली र माधव नेपालबीचको दोहोरी पुनः कित्ता एकाकार भएमा सम्बन्ध सुमधुर हुन सक्छ । कम्युनिष्टहरूमा देखिएको विचलन र मिलनको प्रवृत्तिले यस्ता घटना वा सम्भावनालाई उजागर गरेको छ ।

लेख्ने केका लागि ? कसका लागि ? कसैलाई नउचाली, कसैलाई नपछारी हामी पत्रकारले लेख्न नसक्ने भयौँ, कारण पत्रकारितालाई पनि राजनीतिले दूषित बनाएको छ । नेताले जे भन्छन् त्यही देख्नुपर्ने, त्यही साँचो ठानेर लेख्नुपर्ने ? ख्वै हाम्रो विवेक, ख्वै त हामीले पत्रकारिताको धर्म निर्वाह गर्न सकेको ? आचारसंहितालाई अचारसंहिता बनाइएकोमा कसले खवरदारी गर्ने ?

नारायणी बगरमा महाधिवेशन होइन ओलीवेशन हुँदै छ भनेर निर्धक्क भन्न सक्ने गगन थापाहरू कांग्रेसमा त्यागी र निष्ठावान नेता–कार्यकर्ता किनारा लगाउने प्रवृत्तिविरुद्ध किन मौन छन् ? किनकि आफ्नो कित्ता सबैलाई प्यारो लाग्दो रहेछ, त्यसैले त भनेको हो राजनीतिले गिजोलेको समाजमा विवेक र स्वाभिमानको कुनै अर्थ छैन । नेता–कार्यकर्तालाई मात्र किन दोष दिनु हामी पत्रकार भनाउँदासमेत सबैतिर राजनीति हावी होस् भन्ने चाहना राख्दारहेछौँ– कि होइन किशोर श्रेष्ठ दाजु ?

– (स्वतन्त्र पत्रकार) ९८४७३२६७६०

टिप्पणीहरू