राजनीतिमा अब्बल योजनामा सफल योद्धा शिव डाँगीको जीवन यात्रा
-गणेश लम्साल
प्रदेश १ को विकट पहाडी जिल्ला शंखुवासभाको चैनपुरमा २०३० सालमा जन्मिएका हुन शिवकुमार डाँगी । निम्न बर्गीय परिवारका सदस्य उनले कठोर परिश्रमसँगै पहाडमै स्कुलको पढाई पूरा गरे । त्यसपछि उच्च शिक्षाका लागि काठमाडौँ पुगे । आरआर क्याम्पसमा भर्ना भए । अनि पढाइसँगै विद्यार्थी राजनैतिमा सहभागी हुन थाले ।
किशोर उमेरका डाँगी २०४६ सालको आन्दोलनमा होमिएका थिए, विद्यार्थी बनेर । त्यसपछि उनले कहिल्यै पनि बिश्राम लिएका छैनन् । एमाले अखिलबाट विद्यार्थी राजनीतिमा सक्रृय उनी माले अखिल हुदै माओवादीको अखिल क्रान्तिकारीको पदाधिकारी बने । माओवादीले सुरु गरेको शसस्त्र जनयुद्धमा विद्यार्थी नेता ,पत्रकार, राजनैतिक कमिसार हुँदै पार्टी नेताका रुपमा सक्रृय भएर सफल जिम्मेवारी निर्वाह गरे । हाल डाँगी माओवादी केन्द्र सुनसरीको सहईन्चार्ज छन् ।
राजेन्द्र राई र योगेश भट्टराईहरुसँगै राजनीति
एमालेदेखि मालेसम्मको विद्यार्थी राजनीतिमा हुँदा त्यो बेला डाँगीले अहिलेका एमाले नेताहरु विशाल भट्टराई, यज्ञराज सुनुवार, योगेश भट्टराई, एकीकृत समाजवादीका राजेन्द्र राई (हाल प्रदेश १ का मुख्यमन्त्री )हरुसँगै काम गरेका थिए । त्यतिबेला उनले उनीहरुसँग आरआर क्याम्पसमा अखिलको एउटै कमिटीमा बसेर काम गरेका थिए । एमालेमा हुँदा डाँगी २०५३ मा अखिलको काठमाडौँ जिल्ला कमिटीमा थिए । २०५४ मा एमाले बिभाजन भएपछि उनी अखिलको केन्द्रीय सदस्य र बाग्मती अञ्चल कमिटी अध्यक्ष बने ।
२०५७ मा विभाजन भएको माले, एमाले फेरि एक हुने भयो । यसैले जुझारु र क्रान्तिकारी धार समातेका डाँगीहरुले कृष्ण केसीको नेतृत्वमा अलग्गै अखिल निर्माण गरे । देवेन्द्र पराजुली र कृष्ण केसी नेतृत्वको अखिलको एकता भयो । उक्त्त एकताले नयाँ अखिल क्रान्तिकारीको जन्म दियो । २०५८ मा विराटनगरमा सम्पन्न बाह्रौ राष्ट्रिय सम्मेलनबाट डाँगी केन्द्रिय सचिवालय सदस्य बने ।
पक्राउपछि एक वर्ष बेपत्ता
माओवादी पार्टीको कार्यकर्ता बनेर भूमिगत राजनीतिमा सकृय भैरहेका डाँगी २०५८ चैतमा पक्राउ परे । तात्कालीन प्रहरी प्रशासनले उनलाई एक वर्ष बेपत्ता बनायो । त्यही बेला हो, हाल प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलसँग भेट भएको उनको । जेलको भेट प्रेममा बदलियो । र पछि उनीहरुले प्रेमलाई प्रगतिशील बिबाहमा परिणत गरे । दुबैको दामपत्य सफल रुपले चलिरहेको छ ।
दोस्रो वार्ताकालमा उनीहरु छाडिए । छाडिए लगत्तै उनले अखिल क्रान्तिकारी मेची-कोशी संयोजकको जिम्मेवारी पाए । उनकी पत्नी सारदा (सरस्वती) पनि सँगै पार्टी काममा सक्रृय भइन् । दुबै जना भूमिगतकालमा मारिनबाट पटक-पटक जोगिएका थिए ।
जनबिद्रोह साप्ताहिको सम्पादकदेखि कमिसारसम्म
जनयुद्ध उत्कृर्षमा पुगेको थियो । पार्टीका गतिबिधि र विचारहरुलाई आमजनतामा सूचना प्रवाह गर्ने सबै सञ्चारमाध्यम तात्कालिन प्रहरी प्रशासनले बन्द गराएको थियो । विचारमा आवद्ध हुने धेरै पत्रकाहरु पक्राउ गरिएका थिए । कृष्णसेन ईच्छुहरुको हत्या भैसकेको थियो । पार्टीलाई सूचना जनतासम्म पुरयाउन प्रकाशन तथा प्रसारण माध्यमको एकदमै खाँचो थियो । यसैले पूर्वीकमाण्डले पत्रिका प्रकाशन गर्ने योजना बनायो ।
२०६१ मा डाँगीकै सम्पादनमा भूमिगतरुपले जनबिद्रोह साप्ताहिक प्रकाशन हुन थाल्यो । कहिले प्रहरी थानाको अगाडि रहेको प्रेसबाट त कहिले जंगलको बिचमा बसेर पत्रिका निकाल्थे सम्पादक डाँगी र उनको टिम । उनको प्रधानसम्पादनमा सुरु भएको जनबिद्रोह साप्ताहिक शान्ति प्रकृयापछि विराटनगरबाट जनबिद्रोह दैनिकका रुपमा प्रकाशित भयो । हाल जनबिद्रोह दैनिक नाम परिवर्तन गरेर हाम्रोमत दैनिकका नाममा रंंगिन कलेबरमा पूर्णव्यवसायिक रुपले प्रकाशित भैरहेको छ ।
पत्रकारिता गर्दागर्दै २०६१ मंसिरमा शिवकुमार डाँगीले सहकमिसार, बटालियन कमिसार हुदै कमिसारको जिम्मेवारी पाए । त्यो बेला माओवादीले ‘ढाटमा टेकेर टाउकोमा हान्ने’ रणनीति अपनाएको थियो । दुश्मनको दमन तीब्र थियो । फेला पार्नसाथ गोली हान्थ्यो । त्यसैले युद्धका गतिबिधिहरु निरन्तर तीब्र रुपले गरिरहनु पर्दथ्यो । कठिन परिस्थिति आएपनि नत डाँगीले अरुले जस्तो पार्टी छाडेर भागे, नत आत्मसमपर्ण नै गरे ।
अध्ययनशील लेखक
राजनीतिमा सधै सक्रृय रहन रुचाउने र आफूले बनाएका योजनाहरु सधै सफल बनाउने क्षमता भएका जुझारु युवा डाँगीले नेपाली प्रगतिशील विद्यार्थी संगठनहरुको इतिहास बोकको निक्कै मोटो ‘संघर्षका साठी वर्ष’ नामक पुस्तक लेखेर प्रकाशन गरेका छन् । यति मात्र हैन, उनले जनयुद्धका शहीदहरुको कथा र विवरण उल्लेख भएका ‘ शहीद’ कितावको सम्पादन गरेका छन् ।
शंखुवासभाका पुराना क्रान्तिकारी योद्धा शहीद बासु शाक्यका बारेमा लेखिएको ‘अविश्रान्त योद्धा’ र तेह्रथमुका भक्त्तराज कन्दङबाको ‘लिम्बुवानका प्रणेता’ नामक स्मृतिग्रन्थ पनि उनले नै सम्पादन गरेका हुन् । डाँगी समाजलाई मार्ग प्रशस्त गर्न समसामयिक रुपले पत्रपत्रिकाहरुमा लेखहरु पनि लेखिरहन्छन् ।
नयाँ विराटनगरका योजनाकार
सोझै सधै सबैखाले मानिसहरुको जनसम्पर्कमा बसिरहन रुचाउछन डाँगी । सबैसँग सहजै घुलमिल हुने उनको बानी छ । छलफल र अन्तक्र्रियामा सक्रृय रुपले भाग लिइरहन्छन् । समाजिक काममा पनि खटिरहन्छन् । पार्टीको नीति र विकासलाई सधै पछयाइरहने डाँगी विराटनगरमा रहँदा महानगरको इञ्चार्ज पनि भए । त्यो बेला उनले पुराना वामपन्थीहरुलाई खोजेर सक्रृय मात्र गराएनन्, पार्टीमा आवद्ध पनि गराए । उनीहरुलाई सम्मान गरेर उर्जा भर्ने काम गरे ।
पार्टीको नीतिलाई सफल बनाउन विराटनगर नागरिक समाज स्थापना गराएर शुसासनका गतिबिधिहरुमा सक्रृय गराए । त्यो बेला डाँगीले ‘नयाँ विराटनगर’ नामको पुस्तक प्रकाशन गराए । जसमा नयाँ विराटनगर कस्तो हुने भन्ने प्रस्ट खाका थियो । जसले उद्योगी, व्यपारी, बुद्धिजिवी र नागरिक समाजमा अध्यधिक चर्चा पाएको थियो । प्रदेश १ सरकारले बृहत विराटनगर निर्माणका लागि बनाएको बिधेयक त्यही अवधारणाभित्र रहेको छ ।
आशावादी र उर्जाशील युवा
काम, कर्तव्य र अनुशासनलाई गतिशीलता मान्ने डाँगी जहिल्यै आशावादी हुन्छन् । उनी निरास कहिल्यै भएनन । केही न केही नयाँ गरिरहने उनको बानी छ । त्यसैले पार्टीमा विचलन आएपनि उनले सँस्थापन पक्षलाई कहिल्यै छाडेनन् । ार्टी विभाजनपछि उनकी जीवनसाथी सारदा (हाल प्रदेश १ उपसभामुख) मोहन बैधको पार्टीमा गइन् । त्यतिबेला उनीहरुको पाँच वर्ष बोलचाल समेत भएन ।
डाँगी प्रचण्डले नेतृत्व गरेको माओवादी पार्टीको नीतिअनुसार दोस्रो संविधान सभाको निर्वाचन गराउन सक्रृय हुन्थे । तर सारदा आफनो पार्टीको नीतिअनुसार भण्डाफोर गर्ने, बम हान्ने र चुनाव असफल गराउन क्रियाशील थिइन् । त्यो बेला साना लालावाला भएकोले पारिवारिक बिचलनको अवस्था पनि आएको थियो । तर, धैर्यशाली र दूरदर्शी योद्धा डाँगी बिचलित नभई पार्टीको काममा सक्रृय भएर लागिरहे । पछि बैधमा गएकी सारदा रामबहादुर थापा बादलको नेतृत्वमा पुन प्रचण्डले नेतृत्व गरेकै माओवादी पार्टीमा फर्केर आइन् ।
राजनीतिमा अब्बल योजनामा सफल
आशावादी कर्मठ योद्धा डाँगी योजना बनाउन सिपालु मात्र छैनन्, त्यसलई सफल कार्यान्वयन गराउने प्रतिवद्धता पनि उनमा छ । सनुसरीको तरहरामा सञ्चालन भैरहेको शहीद स्कुल सफल रुपमा संचालन हुनुमा उनकै मुख्य देन छ । उनले आफू अध्यक्ष भएर जंङलमा झाँडी फाँडेर बासको टाटी र फुसको छानोको एउटा छाप्रो बनाएर स्थापना उक्त स्कुल अहिले पक्की भवनमा मावि तहमा आवाशीय रुपले सञ्चालन भैरहेको छ । उक्त्त स्कुलमा जनयुद्धका शहीद र बेपत्ता परिवारका सन्तानहरुले पढ्न पाएका छन्।
डाँगीले स्कुलमा दाताहरु खोज्न र भवन निर्माण गराउन अथक मेहनत गरे । स्थापनाकालदेखि शिक्षकको रुपमा कार्यरत (हाल प्रिन्सिपल ) रिता फुयाँल भन्छिन्, ‘डाँगी कमरेड नभएको यो स्कुल यहाँसँम्म आउन सक्ने नै थिएन, भन्नेले जे जे भनुन्।’
त्यस्तै हाल धरानमा व्यावसायिक रुपले सञ्चालन भैरहेको रेडियो गणतन्त्रलाई जोगाउने हुर्काउने काम पनि डाँगीले नै गरेका हुन् । उनी लामो समय रेडियोको अध्यक्ष बने । आइपरेका अनेकौ आर्थिक संकट पार लगाएर रेडियोलाई टाट पल्टिनबाट बचाउन उनी सफल भए ।
पत्रकारका नेता डाँगी
डाँगीले प्रदेश १ मा पत्रकारहरुको विभाग पनि हेर्दै आएका छन । पत्रकारिताको रुचि र अनुभव अनि लेखनमा दखल भएकोले उनले क्रान्तिकारी पत्रकार सँघदेखि प्रेस सेन्टरसम्म आउँदा प्रचार विभाग प्रमुखको जिम्मेवारी पाइरहेका छन् । उनकै नेतृत्वमा हालसम्म प्रदेश १ का सबै जिल्लामा पहिलेका क्रान्तिकारी पत्रकारहरु हाल पूर्ण व्यवसायिक बनेर अरु भन्दा बलियो संगठनका रुपमा प्रेस सेन्टरलाई स्थापित गराउन सफल भएका छन् ।
पत्रकार महासंघका निर्वाचनहरुमा पनि योजना बनाएर आफनो संगठनका पत्रकारहरुलाई अवसर दिलाउन डाँगी सक्रृय भएर खटने गर्दछन् ।
डाँगी सहकारी भावनालाई आत्मसाथ गर्छन् । माओवादी पार्टी प्रदेश १ मा उनी सहकारी विभाग प्रमु्ख पनि भए । अहिले पनि डाँगी राष्ट्रिय सहकारी महासंघको सञ्चालक छन् । सहकारीताका लागि उनले धेरै देशहरु भ्रमण मात्र गरेका छैनन्, सहकारीको झण्डा सगरमाथाको चुचुरोमा फहराएर किर्तिमान पनि बनाइसकेका छन् ।
माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा चर्चा
मंसिर २५ देखि २७ गतेसम्म मोरङको विराटचौकमा आयोजना भएको माओवादी केन्द्र प्रदेश १ को प्रथम अधिवेशनले पदाधिकारी चयन गर्न नसकेपछि २ सय ६९ जना सदस्यीय कमिटी घोषणा भयो । २९ मंसिरमा विराटनगर तीनपैनीस्थित प्रदेश कार्यालयमा बसेको कार्यसमितिलाई पनि अध्यक्षसहित ९ जना पदाधिकारी चयन गर्न सकस पर्यो ।
एक व्यक्त्ति एक पदको नीति पालना गर्न दबाब बढेपछि अध्यक्षका आकांक्षी रहेका केन्द्रीय सदस्यहरु सुरेश राई, हेमराज भण्डारी र ईन्दबहादुर आङबो तीनै जना व्याक भएका छन् । पार्टीले अजम्बर काङबाङको नेतृत्वमा पदाधिकारी छान्ने कार्यदल बनाएको छ । जसमा पहिले अध्यक्षका आकांक्षी रहेका तीनै जना सदस्य छन् । उनीहरुले दिएको प्रतिवेदनका आधारमा पार्टीले अध्यक्षसहित नौ जना पदाधिकारी चयन गर्नेछ ।
प्रदेश १ मा अध्यक्षका लागि तीन जना चल्तापुर्जा अगुवाहरु ईटहरीका शिवकुमार डाँगी, धरानका मुक्साहाङ मेयाङबो (मुकेश) र पाँचथरका हर्कबहादुर नेम्बाङ –मिक्सो दाबेदार छन् । सबै जना जनयुद्धकै पृष्ठभूमीबाट आएका हुन् । तर, २०६६ मा माओवादी पार्टीको सुनसरी जिल्ला सचिव बनिसकेका डाँगी आफूमा सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएकाले आफ्नो दावी स्वभाविक भएको बताउछन् । पार्टीको योजनालाई सफल बनाउन दुरदर्शीता भएकोले पनि माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा डाँगीको दावेदारीलाई बलियो रुपमा लिइएको छ।
उनी भन्छन्, ‘मैले ३० वर्षदेखि राजनीतिबाहेक अर्को कुनै काम गरेकै छैन, मेरो सम्पूर्ण लगानी पार्टीमा छ त्यसैले ७ पुसमा म सर्वसम्मत रुपले अध्यक्षमा निर्वाचित हुनेमा विश्वस्त छु ।’
टिप्पणीहरू