महामन्त्रीमा हारेपछि मन्त्री छाड्ने घोषणा

महामन्त्रीमा हारेपछि मन्त्री छाड्ने घोषणा

रक्षामन्त्री डा.मीनेन्द्र रिजालले नेपाली काँग्रेसको महामन्त्री पदबाट हारेको औपचारिक घोषणा भएपछि रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् । भर्खरै गरिएको ट्वीटमा उनले उक्त कुराको जानकारी गराएका हुन् ।

आज बिहानबाट जारी मतगणनामा निकै पछाडि परेपछि रिजालले नैतिकताका आधारमा राजीनामाको कुरो उठाएका हुुन् । लेखेका छन्, ‘मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरुपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्री पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।’

आधाभन्दा बढी मतगणना हुँदा रिजाल पाँचौं स्थानमा छन् । महामन्त्रीका उम्मेदवार गगन थापा शीर्ष स्थानमा,विश्वप्रकाश शर्मा दोस्रो स्थानमा,डा. प्रकाशशरण महत तेस्रो र सिटौला क्याम्पका प्रदीप पौडेल चौथो स्थानमा छन् ।

यसअघि सभापति पदको निम्ति भएको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणमा पराजित भएमा पार्टीभित्र आफ्नो राजीनामा मागिने भन्दै प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग सहकार्यको सम्झौता गर्नुभएको थियो । अहिले रिजालको राजीनामाको घोषणालाई देउवाको उक्त भनाइसँग जोडेर हेरिएको छ ।

टिप्पणीहरू