केपी ओलीले हरेक कुरा बङ्ग्याएको बङ्ग्यायै : प्रचण्ड

केपी ओलीले हरेक कुरा बङ्ग्याएको बङ्ग्यायै : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधि रहेको आरोप लगाउनु भएको छ । उहाँले ओली झुट,बेइमानी र धोकाको अर्को नाम रहेको स्वयम् उनैले प्रमाणित गरेको उल्लेख गर्नुभएको छ ।

ओलीले हिजो एक कार्यक्रममा बोल्दै विगतमा प्रचण्डको पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति भएको आरोप लगाउनुभएको थियो । त्यसैको खण्डन गर्दै प्रचण्डले आज एक प्रेस विज्ञप्ति जारी गरेर ओलीमाथि प्रतिगमनकारीको बिल्ला लगाउनुभएको हो ।

प्रचण्डले ओलीेले भनेको पाँच बुँदे सहमति सतप्रतिशत झुठो रहेको बताउँदै उनले आफ्नो दरिद्र राजनीतिक चरित्र प्रस्तुत गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘म केपी ओलीलाई पाँच बुँदे सहमति प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुठो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’

उहाँले नेपालको पुँजीबजार (सेयर मार्केट) बारे आफूले राखेको धारणालाई पनि ओलीले बंग्याएको बताउनुभएको छ । उहाँले ओलीले त्यसबारे गर्नुभएको टिप्पणीलाई ‘दलाल पुँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु’ भन्नुभएको छ । उहाँले दलाल पुँजीपतिहरुको झुठो प्रचारबाट भ्रमित नहुन सेयर कारोबारीलाई समेत विज्ञप्तिमा आग्रह गर्नुभएको छ ।

टिप्पणीहरू