काँग्रेस पार्टी ठेकेदारहरुको कब्जामा गयो

काँग्रेस पार्टी ठेकेदारहरुको कब्जामा गयो

-पुराना कांग्रेसी नेता

संयोग नै मान्नुपर्छ कि केन्द्रमा रामचन्द्र पौडेल र हेटाँैडामा माइकल रामचन्द्र अर्याल दुबैको नियति करिब उस्तै छ । चार दशकदेखि कांग्रेसी राजनीतिमा सक्रिय व्यक्ति हुन् माइकल रामचन्द्र । कांग्रेसभित्र इमानको राजनीति गर्ने औँलामा गन्न मिल्ने पात्रभित्र पर्छन् उनी, अर्यालले हालै बाग्मती प्रदेशबाट कांग्रेस महामन्त्री पदमा उम्मेदवारी दिएका थिए तर पराजित भए । ०३८ सालदेखि राजनीतिमा लागेका उनले नेविसंघ मकवानपुरको सचिव, अध्यक्ष हुँदै ०४७ सालमा नेपाल ट्रेड युनियन क्षेत्र नम्बर १ को संस्थापक सभापति चलाए । ०४८ सालमा निर्वाचन परिचालन समितिको संयोजक भएर काम गरिसकेका उनी त्यसयता २०५१, ०५६, ०६४ मा उम्मेदवार भए तर घात र अन्तरघातका श्रृंखला दोहोरिँदा पराजित भए । यही बीच ०५६ मा सुकुम्बासी समस्या समाधान आयोगको मकवानपुर अध्यक्ष २०६५ मा केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहे । ०५७ सालमै मकवानपुर पार्टी सभापति बनेका उनले एक दशकसम्म जिल्ला चलाए । ०६७ सालमै मकवानपुर बहुमुखी क्याम्पसको निर्वाचनमा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेललाई अध्यक्षमा हराए । चार दशकदेखि कांग्रेसका लागि लगानी गरेका उनी ५७ वर्ष उमेर पार गरिसकेका अविवाहित हुन् ।

– हरि गजुरेल

नेपाली कांग्रेसको मतपरिणामलाई कसरी लिइरहनुभएको छ ?

– महाधिवेशनको परिणामलाई सहर्ष स्विकार्नुपर्छ । प्रदेश अधिवेशनलाई त कब्जामा लिएर चुनाव गराइयो, दबाब र प्रभाव राम्रैसँग चल्यो ।

यसको मतलव तपाईलाई नियोजित ढंगले हराइयो ?

– मेरो उपस्थिति केही साथीलाई सह्य थिएन । मलाई हराउन सम्पूर्ण तागत लगाइयो । म स्थानीय, दश वर्ष पार्टी चलाएको, चार दशकदेखि निरन्तर राजनीतिमा सक्रिय रहेको । ०३६ सालको विद्यार्थी आन्दोलनमा गोली खाएको, ०४६ सालमा ५६ वर्ष जेल जाने मुद्दा लागेको, यी सबै चरण पार गरेर आएको मान्छे म । तर प्रदेश कार्यसमितिमा महामन्त्रीको हैसियतले मेरो उपस्थिति नै पाच्य नहुने भएका कारण अनेकन तिकडम गरेर मलाई वा मेरो टिमलाई हराइयो ।

चाहे बाग्मती प्रदेशका रामचन्द्र अर्याल हुन् वा केन्द्रका रामचन्द्र पौडेल दुबैको स्थिति उस्तै–उस्तै छ । कसरी लिनुहुन्छ, यो घटनालाई ?

– रामचन्द्र दाइको सवालमा उहाँको उदारता हो । सहमति भएको भए प्रतिस्पर्धाबाटै जान्छु भन्नुभएको हो तर समूहभित्रै एकमत भएन ।

संस्थापनइतर खेमा एकजुट भएको भए सभापति देउवालाई हराउन सहज हुन्थ्यो होला ? किन एकजुट हुन सकेन ?

– संस्थापनइतर खेमा एकजुट भएको भए कार्यकर्तामा उत्साह छाउँथ्यो, मानसिकता पनि माथि उठ्थ्यो । त्यसले नयाँ तरंग ल्याउँथ्यो । कहिलेकाहीँ वान भर्सेज वान हुँदा सबै साथी सबैसँग असन्तुष्ट नहुन सक्छन् । संस्थापनइतर समूहबाट आदरणीय नेताद्वय शेखर कोइराला र प्रकाशमान सिंह मैदानमा हुँदा संस्थापनइतरको मत देउवालाई जान्थेन । पहिलो चरणकै चुनावबाट परिणाम आएन पनि तर दोस्रो चरणमा नपुग्दै शेखरलाई एक्ल्याएर प्रकाशनमान र विमलेन्द्र देउवातिर लाग्नुभयो ।

तल्ला तहका घटना हेर्दा कत्तिको असल अभ्यास गर्दै छौं भन्ने लाग्छ ?

– कांग्रेस बिपीले स्थापना गरेको नीति, विधिको बाटोमा जानुपथ्र्याे तर यसमा भयंकरण क्षयीकरण र स्खलन भएको छ । त्यसबाट पार्टीलाई जोगाउन पनि संस्थापनइतरको नेतृत्व स्थापित हुनुपर्छ । साथीहरु त्यतातिर लागेका छन् । कांग्रेसको नेतृत्व संस्थापन इतरभन्दा बाहिर पुग्दा तमाम कार्यकर्ता निरुत्साहित, हतोत्साहित भएर पलायन हुने सम्भावना बढेको थियो ।

पार्टीको विधान बुझेका, पार्टीमा लागेर जीवन वा जवानी समर्पण गरेकाहरू किनारामा पारिने मनी, मसल्स वा‘तरमारा वर्ग’ हावी हुने प्रवृत्तिले पार्टीलाई कहाँ पु¥याउला ?

– हरेक जिल्ला, प्रदेशका महाधिवेशनमा यस्तो देखियो । पार्टी व्यापारीकरण, ठेकेदारीकरण भएजस्तो, उनीहरूको कब्जामा पार्टी पुगेजस्तो देखियो ।

लक्ष्यित वर्गले नभई आरक्षण कोटा विनोद चौधरी, उमेश श्रेष्ठजस्ता अर्बपतिको कब्जामा पुगेको देखियो । यस्तो प्रवृत्तिलाई सक्नुहुन्छ सुधार्न ?

– अहिले मूल्य–मान्यता र सिद्धान्तविपरीतको नेतृत्व छ । त्यही कारण कांग्रेस बिचलन भएको र बाटो बिराइरहेको स्थिति छ । त्यसलाई सच्याएर आदर्श, मूल्य–मान्यता, निष्ठा र सिद्धान्त जोगाउनकै लागि नेतृत्व परिवर्तन हुन जरुरी थियो ।

आन्तरिक लोकतन्त्र धराशयी भयो । सत्ताको दौडमा लागेर कांग्रेसले विचार छाड्यो भन्ने आरोप छ । के कांग्रेस त्यही दिशातिर गएको हो ?

– नीतिगत र विधिवत रूपमा कांग्रेसले तलैदेखि जसरी महाधिवेशन गरायो, त्यो सुन्दर पक्ष हो । यो निर्वाचन प्रक्रियाबाट म बाहिर परँे भन्दैमा यो पक्षलाई नकार्न हुँदैन । भर्खरै सम्पन्न एमालेको अधिवेशन र मनोनितमा ओलीले मेरो नाम राखिदिने हो वा होइन भन्दै कार्यकर्ताले मुख मिठ्याएर ताली ठोक्नु प¥यो । तर त्यहाँको दासत्व वा मालिक र नोकरबीचको सम्बन्धजस्तो स्थिति कांग्रेसमा छैन । कुनै व्यक्तिको गलत चरित्रले गर्दा यसको नीति, सिद्धान्त नै बेठीक भयो भन्न मिल्दैन । नीति ठीक छ, नेतृत्व ठीक चाहिएको थियो ।

कांग्रेस विचार शून्य किन भयो ?

– नीति र विचारलाई प्रधानतामा राखेर हामी त्यो दिशामा लाग्दा अधिवेशन समयमा नहुने स्थिति बन्थ्यो । अधिवेशन समयमा गर्न नसक्दा राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस पार्टी सहभागी हुन नपाउने, नाम पनि नरहने, कांग्रेस पार्टीलाई कोमिन्ताङ बन्नबाट जोगाउन पर्ने थियो । त्यसैले पहिला सही नेतृत्व चयन गरौं । त्यसपछि नीति वा विचारको सवालमा अर्काे महाधिवेशन वा महासमितिमा ठूलो बहस गरौं भनेर लागियो ।

तपाई हेटौंडाको पुरानोे नेता, बागमती प्रदेश सरकारको गतिविधिलाई कसरी लिइरहनुभएको छ ?

– केन्द्रीय नेतृत्वको गतिविधिले प्रदेशलाई प्रभाव पार्छ । हिजो केन्द्रमा केपी ओलीको दम्भ र घमण्डले उनको सरकार आफँै गि¥यो । ओलीको विकल्पमा हामी छौं भनेर कांग्रेसले खुट्टा उचालेर बसेको थिएन । प्रतिनिधिसभा विघटन गर्ने निर्णयको खिलाफमा यो सरकार गठन भएको हो । ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा त्यसलाई पुनःस्थापना गर्ने एजेण्डामा संस्थापनइतरले नै त्यो मुद्दालाई बोकेको हो । अदालतदेखि सडकसम्म रामचन्द्र पौडेलकै नेतृत्वमा लागेर संसद् पुनःस्थापना भयो । केन्द्रदेखि प्रदेशसम्म सरकार त्यसपछि बनेको हो । अहिले प्रदेशमा मन्त्रालय फुटाउने, मन्त्री थप्ने कुरा कुनै पनि हालतमास्वीकार्य छैन । त्यसलाई सच्याउनुपर्छ । मुहान धमिलो छ भने तलतिर पनि पानी धमिलो नै बगेर जाने हो ।

एमसीसी पास गर्न सक्नुहोला त देउवाले ?

– अहिले कसैको बहुमत छैन तसर्थ सबै राजनीतिक दलबीच साझा सहमतिसाथ सच्याएर संशोधन गर्नुपर्ने भए त्यहीअनुरुप गर्नुपर्ने हुन्छ । तर यो गठबन्धन चुनावसम्म कायम रहन्छ । तर आत्तिएर शेरबहादुर देउवाले भनिदिनु भयो कि, यो सरकारको निरन्तरताका लागि भए पनि मलाई जिताउनुहोस् ।

तपाईंहरूको महाधिवेशनमा नामुद गुण्डादेखि पूर्वप्रहरीसम्म एउटै खेमाबाट महाधिवेशन प्रतिनिधिमा देखिए । यसलाई कसरी लिनुहुन्छ ?

– सच्चिन आउँछ भने एउटा मौका दिनुपर्छ । मूर्ख कालिदास पछि विद्वान् कहलिएका थिए । तर, कांग्रेसको टोपी लगाएर गैरकांग्रेस गतिविधि गर्छ भने तलैबाट चिन्नुपर्छ । नेतृत्वले अवसरबाट उसलाई वञ्चित गर्नुपर्छ ।

मुलुक धर्मनिरपेक्ष भनियो तर राजनीति गर्नलाई पछिल्लो चरणमा धर्मको सहारा लिन खोजिएको छ । कस्तो लाग्दै छ ?

– कुनै पनि हालतमा मुलुकलाई मुठभेडको स्थितिमा लैजानु हुँदैन । अहिले जनमतसंग्रह गर्नुपर्दछ भन्ने होइन, संविधानमै लेखिएका कुरा कार्यान्वयन भएका छैनन् । आवश्यक परेको खण्डमा संशोधन गर्न सकिन्छ तर एउटा एउटा विषयमा जनमतसंग्रह गराउनु स्वाभाविक पनि हुँदैन । देश, जनतालाई विभक्त गर्न कुनै पनि एजेण्डाले काम गर्नु हुँदैन । कसैले आफ्नो स्वार्थका लागि अनेकन मुद्दा उछाल्न सक्छन्, त्यसमा कोही बहकिएर लाग्नु हुँदैन ।

घरबार गर्ने सोच छैन ?

त्यो विषय नै टुंगिसक्यो । ५८ वर्ष नाघिसक्यो । पारिवारिक जीवन गर्ने कुरा छैन । कृष्णप्रसाद भट्टराईको पनि पारिवारिक जीवनबिनै अवसान भयो ।

इमानको राजनीति गरेर टिक्न कत्तिको कष्टकर हुँदो रहेछ ?

– टिक्न गाह्रो छ तर टिकाउनु पनि पर्छ । कृष्णप्रसाद भट्टराईलाई ५० सालको उपनिर्वाचनमा हराएर ०५६ सालको निर्वाचनमा उनकै फोटोको साहरा लिनुपरेको होइन ? अहिले पनि ठुल्ठूला आमसभामा बिपी, सुवर्णसमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजा, सुशील कोइरालाहरूकै नाम लिएर भोट बटुल्नुपर्छ । कुनै व्यापारी, डनको नाम लिएर जनताले मत दिँदैनन् ।

बाँकी जीवन कसरी बिताउने योजना छ ?

– राजनीतिबाट पलायन हुने कुरा भएन । राजनीति र आध्यात्मिक जीवन सँगसँगै लैजान्छु ।

टिप्पणीहरू