चितवनबाट बाउँठिएर हिँडेका पण्डित च्यासलमा झुल्किए

चितवनबाट बाउँठिएर हिँडेका पण्डित च्यासलमा झुल्किए

नेकपा एमालेको कुनैपनि कार्यकारी जिम्मेवारीमा नरहने उद्घोष गर्दै दशौँ महाधिवेशनको बन्द सत्रबाट बाहिरिएका लालबाबु पण्डितले अन्तत: केन्द्रीय सदस्यको शपथ लिएका छन् । चितवन महाधिवेशनमा पदाधिकारीमा स्थान नपाएपछि असन्तुष्ट बन्दै काठमाडौँ फर्किएका पण्डितले आज अध्यक्ष केपी ओलीबाट केन्द्रीय सदस्यको शपथ लिएका हुन्।

अध्यक्ष ओलीले पदाधिकारीमा नसमेटेकोमा चित्त दु:खाएर फर्किएका पण्डितले पार्टीको सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको बताएका थिए । त्यतिबेला उनले भनेका थिए, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशाैँ महाधिवेशनबाट सम्पूर्ण बिजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’

तर,पण्डित आफ्नो निर्णयमा दुई साता पनि टिक्न सकेनन् । आफूलाई सादगी नेताका रुपमा चिनाउन चाहने उनलाई स्थायी कमिटीमा लैजाने अध्यक्ष ओलीको प्रस्तावले आकर्षित गर्यो र शपथ खान तयार भए ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा मनोनित ४४ केन्द्रीय सदस्यले आज पद तथा गोपनीयताको शपथ लिँदा पण्डित अगाडि झुल्किएका हुन् ।

टिप्पणीहरू