ओलीमाथि व्यवस्था निल्न खोजेको आरोप

ओलीमाथि व्यवस्था निल्न खोजेको आरोप

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद अवरोध जारी राखेर देशलाई अस्थिरतातर्फ धकेल्ने दुस्प्रयास गरेको आरोप लगाउनुभएको छ ।

दुई-दुई पटकको प्रतिनिधिसभा बिघटन सही सिद्ध गराउन ओलीले संसदमा अवरोध गराएको उहाँको भनाइ छ । देशलाई प्रयाेगकाे थलाे बनाएर थिलथिलाे पार्ने षड्यन्त्र भैरहेको भन्दै पौडेलले समावेशी संसदीय प्रणालीनै सिद्द्याउन खोजिएको दाबी पनि गर्नुभएको छ ।

‘६ महिनाकाे समयमा दुई-दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले ओलीले महिनाै दिनदेखि संसद अवराेध गरेर विघटन सहि थियाे भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गर्दैछन्’, पौडेलले भन्नुभएको छ ।

सरकारले पनि संसद चलाएर मुलुकलाई लोकतान्त्रिक गति दिन सार्थक प्रयास नगरेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको छ । सदन बीचैमा अन्त्य गरी अघि बढेमा ओलीको नियतिका सामू समर्पण गरेको ठहरिने भन्दै पौडेलले सरकारलाई सचेत पनि गराउनुभएको छ।

उहाँले भन्नुभएको छ, ‘संसद चलाउछु र संसदबाटै सबै निकास खाेज्छु भनेर आएकाे सरकारले पनि संसद सुचारू गराएर देशलाई लाेकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्याे भने ओलीकाे नियतीका सामु सर्मपर्ण गरेकाे ठर्हनेछ ।’

पौडेलले देशलाई अनिश्चिततातर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन जनताको ध्यानाकर्षण पनि गराउनुभएको छ ।

टिप्पणीहरू