न्युजिल्याण्डले गर्यो,हाम्रो पालो कहिले ?

न्युजिल्याण्डले गर्यो,हाम्रो पालो कहिले ?

न्युजिल्याण्ड सरकारले सूर्तिजन्य पदार्थमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । धुमपानलाई रोक लगाउने पहलस्वरुप पहिलो चरणअन्तर्गत सन् २००८ पछि जन्मिएका व्यक्तिले सूर्तिजन्य पदार्थ किन्न नपाउने कानुन ल्याउन लागिएको हो । सो कानुन नयाँ वर्ष २०२२ देखि कार्यान्वयनमा आउने छ ।

सरकारले युवाहरुलाई धुमपानबाट जोगाउने सुनिश्चित गर्न पहिलो चरणमा बालबालिकालाई त्यस्ता पदार्थ बिक्री नगर्ने कानुन ल्याएको हो । बिस्तारै सम्पूर्ण उमेर समूहका मानिसलाई धुमपानमा प्रतिबन्ध लगाउने तयारी त्यहाँको स्वास्थ्य मन्त्रालयले गरेको छ । सरकारको पछिल्लो कदमको चिकित्सक र स्वास्थ्य विज्ञहरुले स्वागत गरेका छन् ।

‘सरकारको कदमले सूर्तिजन्य पदार्थ बिक्रीमा कमी आउने र कम हानिकारक उत्पादन उपभोग गर्न सहयोग गर्ने विश्वास लिइएको छ । सरकारको पछिल्लो कदमले युवाहरुलाई कुलतबाट पनि जोगाउनेछ,’ युनिभर्सिटी अफ ओटागोका प्राध्यापक जेनेट हुकले भने ।

न्युजिल्यान्डले धुमपानको राष्ट्रिय दरलाई सन् २०२५ सम्ममा ५ प्रतिशतमा झार्ने र त्यसपछि बिस्तारै निर्मूल गर्ने लक्ष्य राखेको छ ।

अहिले त्यहाँका १३ प्रतिशत वयस्कले धुमपान गर्छन् । एक दशक अघिसम्म त्यस्तो संख्या १८ प्रतिशत थियो । तर, आदिवासी जनजाति समुदायमा भने यो दर उच्च छ । धुमपानकै कारण ३१ प्रतिशत जनजाति श्वासप्रश्वास सम्बन्धी रोग र समस्याबाट पीडित छन् ।

धुमपानका कारण न्युजिल्यान्डका हरेक चार जनामध्ये एक जनामा क्यान्सर हुने गरेको र सूर्तिजन्य पदार्थका कारण ५० लाख मानिसमा स्वास्थ्य समस्या देखिएको छ ।

सरकारको नयाँ योजनाअन्तर्गत सूर्तिजन्य पदार्थ बिक्री गर्ने पसलहरु अब आठ हजारबाट पाँच सयमा झर्ने विश्वास लिइएको छ ।

टिप्पणीहरू