कमिशनको चक्करले बैकिङ कसुरमा मुद्दा खेप्दै आचार्य

कमिशनको चक्करले बैकिङ कसुरमा मुद्दा खेप्दै आचार्य

भनेको जति कमिशन दिन नमानेपछि कर्मचारीले एक जना निर्माण व्यवसायीलाई प्रयोग गर्दै अर्का व्यवसायीलाई बैकिङ कसुरमा मुद्दा लगाएर हुर्मत लिने प्रयास गरेका छन । हुर्मत लिइएका व्यवसायी शौरभ कन्ट्रक्सन प्रा.लि. इटहरीका प्रोप्राराइटर सर्वेश आचार्य हुन । उनीविरुद्ध बैकिङ कसुरमा साह निर्माण सेवा इनरुवाका जयप्रकाश साहले उच्च अदालत बिराटनगरमा मुद्दा दायर गरेका छन् ।

अभियोग पत्रमा साहले ‘आचार्यले आफ्नो नाममा दर्ता रहेको सौरभ कन्सक्ट्रनको इटहरीस्थित राष्ट्रिय वाणिज्य बैंक शाखाको खातामा रकम मौज्दात नभएको अवस्थामा जाहेरवाला जयप्रकाश साहले भुक्तानी पाउने गरी खाता नम्बर २२५०००१७०८०१०२०१ को चेक नम्बर ००१९८४०११२०२०१ बाट २६ लाख ६४ हजारको चेक दिएका थिए । तर खातामा पर्याप्त मौज्दात नभएको आधारमा चेक ‘बाउन्स’ भएको हो । साह निर्माण सेवाले सडक डिभिजन कार्यालय बिराटनगरलाई २०७७ असार ३१ गते लेखेको पत्रमा ‘चेक रोक्का गरेको जानकारी प्राप्त भएकोले निजको खातामा २६ लाख ६४ हजार रुपैयाँ बराबरको रकम रोक्का गरिदिन सम्बन्धित सबैलाई पत्राचार गर्न’ अनुरोध गरिएको समेत खुलेको छ ।

पीडित व्यवसायी सर्वेश आचार्यले भने चेक बाउन्समा मुद्दा दायर गर्ने साह निर्माण सेवा र त्यसका प्रोप्राराइटर जयप्रकाश साहसँग कुनै कारोबार नभएको र उनले बाउन्स भनेको चेक साहलाई नदिइएको दाबी गरेका छन् । उनले त्यस्तो रकमको कुनै कारोबार भए लिखित देखाउनसमेत साहलाई चुनौती दिएका छन् । आचार्यले बैंकको खाता नम्बर २२५०००१७०८०१०२०१ को उक्त खाली चेक नम्बर ००१९८४०११२०२०१ सडक डिभिजन कार्यालय बिराटनगरका डिई पशुपति ज्ञवालीलाई दिएको बताएका छन् ।

खाली चेकमा दस्तखत गरेर नदिए डिई ज्ञवालीले आचार्यको कम्पनीलाई ब्ल्याक लिस्टमा राख्ने, १० प्रतिशत जरिवाना तिराउने र ५ प्रतिशत धरौटीसमेत जफत गर्ने धम्की दिएको दाबी पीडित आचार्यले गरेका छन् । उनले भने, ‘डिई ज्ञवालीको धम्कीपछि बाध्य भएर ब्ल्याङ्क चेक दिएको थिएँ । तर सो चेक अर्का निर्माण व्यवसायीको नाममा काटेर मलाई फसाउने प्रपञ्च शुरु गरियो ।’

उनले अन्तिम किस्तावापत प्राप्त गर्नु पर्ने रकम २६ लाख ६४ हजार ७ सय १९ रुपैयाँ देखिन्छ भने कमिशन वापत डिई ज्ञवालीले ७ सय १९ रुपैया छाडेर २६ लाख ६४ हजार रुपैयाँ साहलाई प्रयोग गर्दै लिन खोजेपछि आफूले बिरोध गरेको स्वीकारेका छन् । तर ज्ञवालीले आचार्यको दाबी सही नभएको र उनले साहले चेक बाउन्समा मुद्दा हालेपछि विवादबारे आफूले थाहा पाएको बयान दिएका छन् ।

साह निर्माण सेवाले डिभिजन कार्यालयलाई असार ३१ गते लेखेको निवेदन र सोही निवेदनको आधारमा डिई ज्ञवालीले साउन ५ गते सौरभ कन्ट्रक्सनलाई लेखेको चलानी नम्बर १९ को पत्रले उनकै दाबीलाई उल्टाइदिएको छ । यसबारे सबै कुरा ज्ञवालीलाई पहिले नै थाहा भएको सहजै अनुमान गर्न सकिन्छ ।

कस्तो अवस्थामा चेक बाउन्स हुन्छ ?

नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बैक तथा वित्तीय संस्था नियमन विभागको इ.प्रा.निर्देशन नं.१२।२०७८ को १०.१(१) मा ‘एक पटक भुक्तानी नभइकन फिर्ता भएको चेकको हकमा चेक धारक व्यक्ति, पर्म, कम्पनी वा संस्थाले कम्तीमा दुई कार्यदिनको समय दिई सम्वन्धित बैंक वा वित्तीय संस्थामा पुनः चेक पेश गर्न सक्ने’ प्रावधान छ ।

त्यसैगरी १०.१(३) मा ‘सम्वन्धित बैंक वा वित्तीय संस्थाले चेक जारी गर्ने त्यस्ता व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई चेको रकम भुक्तानी गर्न सार्वजनिक बिदा बाहेक सात दिनको सूचना दिनु पर्ने’ प्रावधान रहेको छ । तर यो कानुनी व्यवस्थाको पालना नगरी आपूmलाई नियोजित ढंगले फसाइएको र लाग्दै नलाग्दै ‘बैकिङ कसुर’ मुद्दा झेल्न बाध्य बनाइएको दावी आचार्यले गरेका छन ।

वाणिज्य बैंक इटहरीले लेखेको मिति २०७७ साउन ११ को चलानी नम्बर २६ को पत्रानुसार जयप्रकाश साहको नाममा रहेको चेक असार २७ गते रद्द गराएको जानकारी दिइएको छ । आचार्यले पाउने सबै रकम कमिशन भनेर ज्ञवालीले साहमार्फत् लिन लागेको थाहा पाएपछि आफू क्यान्सिल गर्न बाध्य भएको दाबी गरेका छन् । क्यान्सिल भएको चेक बाउन्स हुन नसक्ने अवस्था एकातिर देखिन्छ भने अर्कोतर्फ चेक बाउन्सको सामान्य निर्देशनलाई समेत बेवास्ता गरिएको छ ।

चेक फिर्ताको मेमो अघिल्लो वर्षको साउन ५, ६ र ७ गतेको देखिन्छ । एक दिन पनि नबिराई दिनहुँ चेक बाउन्स गराउने काम कानुनी प्रावधान विपरित रहेको बताइन्छ । न बैंक, न साह कसैले पनि कानुनी रुपमा आचार्यलाई चेक बाउन्सको जानकारी गराएको पाईंदैन । र, चेक बाउन्स भएपछि मात्रै आचार्यले पाउनु पर्ने रकम अघिल्लो वर्ष असार २६ गतेको चेकलाई साउन ११ गते बैंकमा जम्मा गरिदिएको पाइन्छ ।

यसबीचमा पनि कमिशनको बार्गेनिङ चलिरहेको स्रोतले बताएको छ । सबैभन्दा अचम्म चाँही साहले सडक डिभिजनलाई लेखेको २०७७ असार ३१ गतेको पत्रमा स्पष्टरुपमा सडक डिभिजन कार्यालयले दिएको र आफूले भजाउने दुबै चेकको खाता र नम्बरसमेत लेखेका छन् । यसले आचार्यविरुद्ध व्यवसायी साह र डिई ज्ञवालीको मिलोमतोतर्फ संकेत गरेको आशंका छ ।

अर्कोतर्फ अभियोजन पक्षले क्यान्सिल भनिएको चेक असार २७ गते शबिार भएकाले क्यान्सिल नभएको जिकिर छ । तर नेपाल राष्ट्र बैंकको सूचना २८।२०७६।७७ मिति २०७७।३।२५ गतेको सूचनाअनुसार ‘क’ देखि ‘ग’ वर्गका सबै बैंक र वित्तीय संस्थाहरु खुल्ला रहेको देखिन्छ । यसले पनि उक्त दाबी झुठो रहेको पोल खुलेको हो ।

आचार्यले धरान–भेँडेटार सडक खण्डको मर्मतको ठेक्का डिआरओबिआरटी । ३३७१६५३।२०७३।२०७४–२६०) मा काम सम्पन्न भएपछि अन्तिम किस्ता भुक्तान लिन बाँकी रहेको थियो ।

साह निर्माण सेवाले डिभिजन कार्यालयलाई चेक रोक्का गर्न असार ३१ गते पत्राचार गरेको हो । सो पत्रमा साहले ‘निर्माण कार्य गर्ने क्रममा यस निर्माण सेवासँग रोलर, टिपर तथा प्रिमिक्स आदि आपसी सहमतिमा लिई उक्त कार्य सम्पन्न’ गरेको तर भुक्तानी नगरेकाले सौरभ कन्स्ट्रक्सनको रकम रोक्का गर्न अनुरोध गरेको पनि देखिन्छ । र, सोपत्रमा उनले सौरभ कन्स्ट्रक्सनले राष्ट्रिय वाणिज्य बैंक इटहरी शाखाको चेक नम्वर १९८४०११२०२०१ मार्पmत् साह निर्माण सेवा इनरुवालाई २६ लाख ६४ हजार रुपैयाँ भुक्तानी गर्नु पर्ने चेक ‘रोक्का गरेको जानकारी प्राप्त’ व्यहोरा उल्लेख गरेको पनि खुलेको छ । मिलोमतो भएकै कारणले गर्दा सौरभ कन्स्ट्रक्सनले प्राप्त गर्ने रकम र चेक नम्बर बारे साह निर्माण सेवालाई जानकारी दिएको देखिन्छ । यसले पनि जानाजान चेक बाउन्सको खेल भएको संकेत गर्दछ ।

न्यायाधीश कि इञ्जिनियर ?

साह निर्माण सेवाको असार ३१ गतेको पत्रलाई आधार मानेर डिभिजन कार्यालयको साउन ५ गतेको पत्रमा ‘आपसी लेनदेनको विवाद समाधान गरी ३ (तीन) दिनभित्र दुबै पक्षले यस कार्यालयमा लिखित रुपमा जानकारी गराइदिनुहुन’ भनिएको छ । डिभिजन प्रमुख पशुपति ज्ञवालीको सो पत्रलाई आधार मान्दा उनले दुई झगडीया ठेकेदारहरुबीच मध्यस्थताको भूमिका खेलेको देखिनु शंकास्पद नै भएको कर्मचारीहरु बताउँछन् ।

निर्माण सम्पन्न भए नापजोख गरेर काम गर्ने कम्पनीलाई समयभित्रै रकम भुक्तान गर्नु पर्नेमा गरेको देखिँदैन । अर्कोतर्फ शौरभका प्रतिनिधि एलिना कटुवालले असारमै बुझेको भनिएको चेक (८८८१०६०) पुनः जम्मा गर्नको लागि साउन ११ गते डिभिजन कार्यालयले नै जम्मा गर्न वाणिज्य बैंक बिराटनगरलाई पत्र लेखेको देखिन्छ । यसले पनि कर्मचारी र शौरभ कन्ट्रक्सनबीच कमिशनको बार्गेनिङ चलेको स्पष्ट भएको छ ।

टिप्पणीहरू